Skip to content

म पिउने भएको छु

  • by


हो, नपिउने भन्दाभन्दै
पिउने भएको छु म ।
तिम्रो डोली अन्मिएपछि
सुनसान छ गाउँ;
त्यसपछि
चढ्न थालेको छ
अर्कै नशा मलाई
हटाउन त्यो नशा
म पिउने भएको छु
नपिउने भन्दाभन्दै
म पिउने भएको छु ।

तिमीले शुरु गर्यौ
नयाँ यात्रा यहाँबाट
अन्त्य भयो
मेरो यात्रा त्यहीँबाट,
जिन्दगीको लाश चलाउन
बल झिक्दैनन् हातपाउ
आफनै शवयात्राको तयारी गर्न
नाडी र नलीमा बल चढाउन
जसरी भएपनि
पिउनुपर्ने भएको छ
यसैले पनि नपिउँ भन्दाभन्दै
पिउने भएको छु म ।

तिम्रा पाईला
अर्को ठाउँमा परेपछि
उन्यू फूल्न थाले होलान त्यहाँ
तर
बेपत्ता पो छ यहाँ !
गुराँस अड्दैनन् हाँगाहरूमा
घाम आउदैनन् आँगनमा
अब त
एक्ला ढिकुर पनि
फत्रयाक फत्रयाक आवाज मात्रै
बाँसघारीको जराहरूमा ।

देख्न नसकेर यी सवै
पर्दा हालेर दृष्यमा
आँखा बन्द गर्नुछ मैले
कालो दृष्यमात्रै बोकेर जान
आफना आँखाभरी कालो बगाउन
म पिउने भएको छु
हो, नपिउने भन्दा भन्दै
पिउने भएको छु म ।

दीपेन्द्र “अपजसी”
बागलुङ, हाल वोस्टण्डे बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *