“भाइ यो पत्र उसले लेखेको । सधै तिमीलाई देखाउछु भन्थी ।” एक जना अपरिचित दिदीले मेरो हातमा पत्र थमाईदिनु भयो ।

मेरो आँखामा उकुसमुकुस भएर कसैको बालापनको तस्विर नाचिरहेको थियो । वरिपरि नजिकका आफन्त साथीभाइहरू मेरो निमित्त सान्त्वनाका अमुल्य शब्दहरू खर्चिदै थिए । अक्सर मान्छेको जीवनमा घट्ने घटनाभन्दा पृथक घटना थियो त्यो । अपरिचित दिदीले थमाएको पत्रमा यस्तो लेखिएको थियो ।

दाइ, तपाई काठमाण्डु आउनु भएपछि मेरो बिहे गरिदिने कुरा चल्यो । एस.एल.सी. पास गरेपछि छोरी मान्छे पराई घर जानु पर्ने हाम्रो गाउँको चलन कहिल्यै फेरिएन । तर दाइ मेरो सानैदेखिको सपना थियो मिस बन्ने । मलाई त्यही सपनाले यहाँसम्म ल्यायो । मेरो कुरा कसैले सुनेनन् । तपाई घरमा भाको भए मेरो कुरा सुनवाई हुन्थ्यो सायद । सम्पतिको मुख हेरेर पल्लो टोलको धामीको छोरासँग मेरो बिहे गरिदिने बुवाले बचन दिनुभएछ । तपाईलाई थाहै छ दाइ त्यो मान्छेले दुई वटा बिहे गरिसक्यो । रातदिन मातेर हिड्छ । आमा र मेरो कुरा घरमा कस्ले सुन्थ्यो र ? त्यसपछि बिहेको अघिल्लो रात तपाईको मोबाईल नं. लिएर म घरबाट भागें । रातभरि चुरेको जंगल हिंडेर महेन्द्र राजमार्ग आईपुगें । नेपाल बन्द रहेछ । बेलुकी बस चढें ।

यात्राभरि तपाईसँगै बसेर धेरै पढ्ने, मिस बनेर गाउँ फर्कने सपना सजाएर विहान तीन बजे कलंकीमा आई पुगें । तर दाइ, काठमाण्डु त मैले सजाएको सपनाभन्दा फरक रहेछ । तपाईको मोवाईल नै लागेन । छेउको चिया पसलमा बसेर रात काटें । अनि विहानै तपाई काम गर्ने ठाँउ ग्वार्को ईट्टाभट्टामा सोध्दै पुगें । तपाई त ६ महिना अगाडि नै त्यहाँबाट अन्तै जानु भएको रे । आखाँभरि तपाईको तस्विर बोकेर यो मान्छे नै मान्छेको भिडमा तपाईलाई खोज्दै हिंडे । तर दाइ तपाईलाई भेट्न सकिन । साँझ पर्न आँट्यो । बुवाको कोटबाट चोरेर ल्याको पैसा पनि सकियो । हेर्दा हेदै पारी पहाडको चेपबाट घाम अस्तायो । एउटा मन्दिरमा पुगेछु । थाकेर भुईमा बसें । छेउमा एउटा चिल्लो कार रोकियो । मलाई अधबैसे आईमाईले बोलायो । एक जना मोटो मान्छे, एउटा सानो नानी पनि थियो । मेरो आँखाको आँशु देखेर उनीहरूले सोध्यो । मैले सबै कहानी भने । उनीहरूले मलाई लिएर गए । त्यसपछि के के भयो म लेख्छु दाइ तपाई एक दिन जरुर यो चेलीको कथा पढ्नु है ?

सिमेन्टीको अग्लो पहाड जस्तो घरहरू छिचोल्दै एउटा ठुलो घरमा पुगेँ । बाहिर जाने अनुमति थिएन । म हरेक दिन सिमेन्टीको पर्खालको चेपबाट उदाएको घामसगै तपाईलाई भेट्ने आशामा खुशी हुन्थें । दिनहरू त्यसै बित्दै जान्थ्यो । जव पश्चिमतिर रातो भएर सिमेन्टीको विल्डिङबाट घाम अस्ताउँदै जान्थ्यो । म डुब्दै गरेको घाम हेदै रुन्थें । हरेक दिन साँझ चन्द्रागिरी पहाड नजिकै भएर एउटा तारा खस्थ्यो । मलाई लाग्थ्यो सायद यहाँ सधैं यस्तै हुन्छ । त्यस घरमा म जस्तै अरु पनि चार पाँच जना केटीहरू थिए । उनीहरू काम केही पनि गर्दैन थिए । खालि लिविस्टिक मात्रै लगाई बस्थे । मोटो साउजीले प्रत्येक दिन अफिस जाने बेलामा म तिम्रो दाइलाई खोजेर ल्याउँछु भन्थ्यो । तर साझँ त्यसै गरी बित्यो जसरी बित्ने गथ्र्यौ अधिल्लो दिन । घर जाने बाटो थाहा थिएन । हरेक दिन साँझ त्यो घरमा मान्छेहरू नाचगान गथ्र्यो ।

एक दिन म डुविसकेको घाम हेर्दै रोईरहेकी थिएँ । त्यस दिन पनि पश्चिम तिर एउटा तारा खस्यो । मलाई त्यस दिन असाध्यै डर लाग्यो दाइ । कतै मेरो पनि जिन्दगी यस्तै त हुने होईन ? सुक्क सुक्क रोईरहेकी थिएँ । मोटे साउजीले मायाले बोलायो । अनि गाडीमा राखेर डुलाउन लग्यो । ठाउँ कहाँ थियो थाहा भएन । म जस्तै सानो उमेरका दिदीबैनीहरू छोटो छोटो लुगा लगाएर नबुझिने गीतमा नाच्दा रहेछन् । साउजीको काखमा बसेर एउटी केटीले रक्सी खाई । त्यहीं भेट भयो अञ्जली दिदीसँग । त्यस दिन राति अबेर हामी घर आयौं ।

भोलिपल्ट शनिवारको दिन थियो सायद । अरु दिन भन्दा त्यस दिन पुलिस, आर्मी, हाकिम जस्ता मानिसहरू त्यहाँ धेरै आएका थिए । साँझ अवेरसम्मपनि मान्छेहरू नाचिरहेकै थिए । ती क्रिम पाउडर लगाएका केटीहरू उनीहरूको बिचमा नाचिरहेको थियो । मलाई भित्र सरहरूलाई वियर लिएर जाउ भन्यो । भित्र चार पाँच जना मोटो मोटो मान्छेहरू थिए । उनीहरूले मलाई एकोहोरो घुरेर हेर्न थाल्यो । मलाई डर लाग्यो । भाग्न खोजें । पछाडिबाट कसैले च्याप्प समायो । समाउने उनै घरबेटी साहु थियो । त्यसपछि ती सबै जना कुनै हिंस्रक जन्तु जस्तै ममाथि झम्टिन थाले । त्यसपछि के के भयो खै कसरी भनु दाइ ? म बेहोस भएछु ।

होसमा आउँदा एक हुल भुस्याहा कुकुरहरू मलाई हेर्दै भुकिरहेको थिइ । म त खोला किनारको फोहरको डङगुरमाथि फ्याँकिएकी रहेछु । म उठेर हिड्न थालेपछि कुकुरहरूले मलाई लखेट्न थाले । म आधी रातमा गुहार माग्दै काठमाण्डुको सडक सडक भौतारिएँ । तर दाइ ! काठमाण्डु मस्त निदाइरहेको थियो । काठमाण्डु त साँच्चै सिमेन्टीको मनले बनेको मान्छेहरू बस्ने डरलाग्लो शहर रहेछ । मेरो गुहार सुन्ने कोही पनि भएन । निकै परसम्म लखेटेपछि कुकुरले छोड्यो । अलि पर बाँसको झ्याँङमुनि एक हुल केटाहरू फोहर शब्द बोलिरहेको देखें । मलाई उनीहरूले पनि लखेट्न थाले ।

दाइ ! के छोरीचेलीको जिन्दगी नै होईन ? के हामी छोरीहरू यो संसारमा दुःख भोग्न नै आएका हौं ? केटाहरूले निकै परसम्म लखेटे । अलि पर पुगेर म पुल मुनि पसें । केही छिनपछि निस्किएर अन्धकार सडकमा हिड्न थालें । फेरि एउटा कारपछि लाग्यो । दाइ मर्न पनि सारै गाह्रो हुँदोरहेछ । कतै नदीमा फाल हानेर मरुँ लाग्यो । ढुङ्गा हातमा लिएर आफ्नै भाग्य फोरुँ लाग्यो । यो कस्तो जिन्दगी दियौ आमा ! संसारमा छोरी भएर बाँच्न कोही नपरोस् । म भागें दाइ, कुनै पागल केटी जस्तै भएर गाडीको अघि अघि भागें । जिउभरि रगतको टाटा थियो । फोहरले पुरै जिउ गनाएको थियो । गुहार माग्दै सडक नै सडक भागें । आँशुले बाटो ठम्याँउन सकिन । अन्ततः लडें । कार नजिकै रोकियो । मैले दुई हात जोडेर रुँदै मलाई छोडी दिन विन्ती गरें । उनीहरूको खुट्टा समाएर ढोगें । मध्यरातमा काठमाण्डुको सडकमा डाँको छोडेर रोएँ । तर दाइ ……… एउटा हत्केला मेरो आँशुको भेलमा स्पर्श गर्न आईपुग्यो । उठेर हेरें । उनै अञ्जली दिदी थिइन । मलाई अङ्गालोमा कस्नु भयो । यो विपतमा स्वयमः भगवान नै अञ्जली दिदी बनेर आउनु भए जस्तो लाग्यो । उहाँको ममतामयी अङ्गालोमा मैले आफ्नो विछिप्तिएको मुटु विसाएँ । दुई आँखाबाट बगेको आँशुको झेल रोकिएन । हिक्क हिक्क गरेर धेरै बेर उहाँको काखमा रोईरहें ।

दाइ, त्यस दिनदेखि आजसम्म म उहाँसगै बस्दै आएको छु । एउटा कुरा लेख्छु है दुःख नमान्नु ल ? म अञ्जली दिदीसँगै नबुझिने गीतमा नाच्न थालेको आज तीन महिना भईसक्यो । उहाँले मान्नु भएकै थिएन । तर उहाँ एक जनाको पसिनामा जीविका नचल्ने भयो । उहाँको पनि आफ्नै कथा छ दाइ । कुनै दिन तपाईलाई भेटें भने भनुलाँ । सुरु सुरुमा त अप्ठेरो लाथ्ग्यो । तर बानी भयो अव त । ग्राहकहरूसगै बसेर चुरोट, वियर, ह्वीस्की खानु पर्छ । उनीहरूलाई भुल्याएर साहुलाई धनी बनाउँनु पर्छ । उनीहरूको माग अनुसार नाङ्गो भएर नाच्नु पर्छ । दाइ बारमा गएर शरिर देखाएर नाच्ने चाहाना कस्लाई पो हुन्छ र । यहाँ म जस्तै कयौं दिदी बैनीहरू बाध्यताले सिमेन्टीको मुटु भएका मान्छेहरूलाई आफ्नो जिन्दगी सुम्पिरहेका छौं । विवशताको हुरीले हामी जस्तो गरिवमान्छेलाई कसरी आफ्नो यौवन बेच्न बाध्य बनाउँदो रहेछ तपाईकै बैनी हेरेर अनुमान गर्नु दाइ ।

आज मेरो मिस बन्ने सपना प्रत्येक दिन पश्चिम तिर खस्ने तारासगै खस्दै छ । यो देशको चलन कहिले फेरिन्छ दाइ ? छोरीको जिन्दगी बर्वात गर्ने यो देशको कुसंस्कारको विरुद्ध एउटा आँधी बनेर छिट्टै आउनु दाइ ? आफ्नै आगनमा पराई हुनु पर्ने यो विवशताको बन्द पर्खाल फोडेर मलाई लिन छिट्टै आउनु ल दाइ ? म मिस बनेर नेपाली चेलीहरूलाई न्याय र समानताको पाठ पठाउन चाहान्छु । यसरी यौवन बेचेर बस्न चाहान्न । दाइ ! तपाईको लागि मैले घडी किनेकीछु । आमाको लागि गुन्यु किनेकीछु । तपाईले नै सिकाउनु भएको हैन संस्मरण लेख्न ? एक दिन जरुर हेरेर कमेन्ट गर्नु ल ? आजलाई यति नै लेख्छु । अव अञ्जली दिदीसँगै बारमा जाने बेला भयो । बाँकी भोलि लेख्छु है, बाई ।

“भाइ म तिम्रो बैनीको साथी अञ्जली । हिजो साँझ हामी बारमा जान लाग्ने बेलामा एउटा भ्यान आएर जवरजस्ति तिम्रो बैनीलाई लिएर गयो । मैले तुरुन्तै पुलिसलाई रिपोर्ट गरें । तर भाइ हामी धेरै ढिला भयौं । बैनीको पेटमा उनीहरूको पाप हुर्किरहेको थियो । उनीहरूले बागमति किनारमा मारेर फालि दिएछन् ।”

पत्र पढिसक्दा अगाडि मेरो बैनीको चिता तयार भईसकेको थियो । मेरी बैनी जस्लाई मैले तीन वर्ष अगाडि गाउँमा छोडेर आएको थिएँ । आँखामा विस्तारै अध्यारो छायो । वरिपरि केही पनि देखिन । छातिको विचमा उकुस मुकुस भएर आक्रोस त पिडाहरू मडारिन थाल्यो । चिच्याउन मन लाग्यो तर सकिन । कराउन मन लाग्यो तर सकिन । छातीको गहिरो पिडा आँखाबाट आँशुको भेल बनेर एकोहोरो बर्सिन थाल्यो । आँशुको प्रत्येक थोपामा मेरी बैनी चिच्याईरहेकी थिई । हातहरू काँपिरहेको थियो । मेरी बैनीको अपुरो सपना, पापी आगोले एक एक गरि चुँड्न थाल्यो । धुँवाको मुस्लो मेरो शिर माथी आकासमा फनफनि घुम्न थाल्यो । मेरो प्यारी बैनीलाई माथि आकाशमा धुँवाको विचमा देखें ।

मेरी बैनी चिच्याउदै भन्दै थिई, “दाइ आफ्नै आगनमा पराई हुन बाध्य पार्ने यो समाजको चलन कहिले फेरिन्छ ?”

बैनीको प्रश्न चिन्ह बगिरहेको आँशुलाई रोक्दै छातीको विचमा गडेर बस्यो । साँझ बैनीलाई बिदा गरेर बागमतिको किनारै किनार डेरातिर आउँदै गर्दा शहरभन्दा अलि पर चन्द्रागीरि पहाडको नजिकै भएर एउटा तारा खस्यो । मन भारी भयो । छाति चस्स विझ्यो । आज पनि देख्छु हरेक साँझ पश्चिम तिर मेरो प्यारी बैनीको प्रश्न बोकेर एउटा तारा खस्ने गर्छ ।

राजु स्याङतान्

महोत्तरी खयरमारा–६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *