Skip to content


मन्दिरमा छ कि
मूर्तीहरूमा
आस्थामा छ कि
विश्वासमा
म खोजी हिड्दै छु
पाटी-पौवा र गल्लीहरूमा
म सोधी हिँड्दै छु
मान्छेहरूको मन-मन्दिरमा
म को हुँ ?
मेरो नाता र रगत
मेरो माटो र देश ।

बतासलाई सोद्धैछु
खोला-नाला र पहरालाई
खोज्दैछु
कत्तै टाकुराहरूमा
लुकेको छ कि
पहाड र पर्वतहरूमा
कत्तै झरनामा छ कि
बगेको छाँगाहरूमा ।

सन्त र महात्माहरूलाई सोद्धैछु
समाज र मान्छेहरको भिड्लाई खोज्दैछु
म को हुँ ?
मेरो परिचय ?
गगन-चुम्बी भवनहरूमा छ कि
गरीबको झुपडीहरूमा
प्रेमको शहरहरूमा छ कि
मुटु र मायाको जालोहरूमा
किनकी-म हराएको छु
कसैको साथमा छैन्
त्यही भएर त सोद्धैछु
त्यही भएर त खोज्दैछु ।

आकाशलाई फाटेर
धुजा-धुजा बनाई सोद्धैछु
धर्तीलाई चिरा-चिरा पारेर खोज्दैछु
म को हुँ ?
मेरो अस्तित्व ?
सागरको गहीरैमा छ कि
मोतीहरूको माझमा
हिमालको सुन्दरतामा छ कि
हिम-चुलीको साथमा
किनकी म बिलाएको छु
पानीहरूको थोपाहरू जस्तै
त्यही भएर त सोद्धैछु
त्यही भएर त खोज्दैछु ।

समयको वेगलाई खोज्दैछु
आकाश र धर्तीलाई सोद्धैछु
फेरि
कत्तै अल्मलिएर
ढुंगेयुगमै छु कि
कत्तै आमाहरूकै कोखमै
बसेको पो छु कि
आफुले-आफैलाई खोज्दैछु
एेनाभित्रको पर्दामा हेर्दैछु
मेरो रूप
मेरो आकृति
तर निराकार भेट्टाउछु
किनकी म हराएको छु
लुटिएको छु
सबैको माझबाट छुटिएको छु
हिउँ जस्तै पग्लिएको छु
सुन र नुन जस्तै पग्लिएको छु ।
त्यही भएर त सोद्धैछु
त्यही भएर त खोज्दैछु
म को हुँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *