Skip to content

चार प्याकेट पाउरोटी

  • by


यहुदीहरूलाई खोजी खोजी मार्ने हिटलरको अभियानले पोल्याण्डलाई पनि अछुतो नबनाएपछि त्यहाँका यहुदीहरूलाई ज्यान जोगाउन हम्मे परेको थियो ।

क्राकाउ शहरको नजिकैको एउटा गाउँमा चार घर धुरी मात्र यहुदी र बाँकी सबै क्रिस्चियन थिए । कोही यहुदी भने ज्यान जोगाउनकै लागि क्रिश्चियन भएका थिए । ती चार घर यहुदी बिरुद्ध उजुरी परेको थाहा पाएपछि राता-रात याजाले आफ्नो श्रीमानलाई क्राकाउ पठाइन् ।

क्राकाउमा याजाकी बहिनी यान्का क्रिस्चियन बनेर बसेकी थिइन् । यान्काले दुई बर्ष अगाडि उनको गाउँको घर ताला लगाएर वेवारिसे अवस्थामा छोडेकी थिइन् । आफ्नो गाउँदेखि पल्लो गाउँमा भएको त्यही वेवारिसे घरमा लुकेर त्यहाँबाट भाग्ने बन्दोबस्त मिलाउनको लागि त्यो घरको चाबी लिन याजाले आफ्नो श्रीमानलाई बहिनीकोमा पठाएकी थिइन् ।

याजाको श्रीमान् चाबी लिएर आइपुगेपछि उनीहरूसँग अरु तीन घर छिमेकी पनि त्यही घरमा लुकेर बस्न थाले ।

लुकेर बस्न थालेको एक हप्तामा लगेको सबै खाना सकियो । दिनभरि बाहिर निस्किन सक्ने अवस्था थिएन । आर्मीले थाहा नपाउन् भनेर घर बस्दा दिउँसो पनि सबै झ्याल ढोका बन्द गरेर बस्नु परेको थियो र राति पनि बत्ती नबाली बस्ने गरेका थिए । सबैका चार-पाँच बर्षका भान्टांग भून्टुंग बच्चाहरूलाई पनि छिरिक्क बोल्न नदिई राखेका थिए ।

बोल्नु पर्दा हातको इशारा या साउती गरेर बोल्थे । त्यहाँ लुकेर बसेको आठ दिनको दिन करिब दिउँसोको तीन बजेतिर याजाकी सबैभन्दा ठूली छोरी गांका हराइन् । खोज्न जाने अवस्था थिएन । सबै रुन थाले ।

हराएकी नौं बर्षकी गांका अन्दाजी दुई घण्टापछि चार प्याकेट पाउरोटी लिएर टुप्लुक्क आइपुगिन् ।

लक्ष्मी अनुरागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *