छोरी हुन् भनि जान आज तिमिले सन्तान मूटू सरी ।
अर्काको घरमा विदा दिएर छोरी पठाउने के गरी ।।
जन्माई पहिले बढाइ घरमा छोरी त ठूली भई ।
अन्माइ कसरी पठाउँ अरुका घरमा त जाने भई ।।१।।
छोरी जन्मि भनी खुशी भएँ कती प्यारो गरी काखमा ।
राखी बोकी हिँडे त आज कसरी फालौं यि छिन् लाखमा ।।
ठूलाको अति मान पो गरिदियौ सम्मान को साथ लौ ।
सानोलाइ दियौ अपार ममता बानी त राम्रो छ लौ ।।२।।
बाबाको पसिना वहेर तिमिले पढ्यौ र राम्रो गरी ।
आमाको ममता वहेर तिमिले बन्यौ त हाम्रै सरी ।।
हाम्रो यो कुलकी त दीपकसरी बल्यौ नि ज्योती सरी ।
आफ्नी हौ अरुका परेर भरमा अन्माउँ के पो गरी ।।३।।
कस्तो भाग्य भनी नठान्नु परको चौका र चूला गरी ।
जानू लौ खुशिसाथ आज घरमा भोली त आफ्नै सरी ।।
हुन्छन् क्यै पल ती पराइ र पछी आफ्नै त मान्छे हुने ।
ठानी चित्त बुझाउ लौ न किन हो त्यो चित्त दूखाउने ।।४।।
छोरी हौ फुल झैँ पुरा कमलका ती पत्र जस्तै फुली ।
फक्रेकी तिमिलाइ आजतक राख्यौं त्यो माया भुली ।।
आयो यो अब वख्त मात्र जसरी मानौं विदाई दिने ।
छाओस् सब् खुश मात्र जीवन नयाँ राम्रो तरीका लिने ।।५।।
होउन् ती पति खूश खानु घरको माना र पाथी भरी ।
सासू औ सशुरा मिलाइ बहुतै आमाजु देवर् धरी ।।
कोही छैन पराइ मात्र बव ता आफ्ना सबै ठान्दिनु ।
हामीलाइ हुनेछ त्यै खुश तिमी हाम्रा कुरा मान्दिनू ।।६।।
“चूडा निर्भीक”
