रगत देशमा धेरै बग्यो
रगत देशमा धेरै बग्यो अझै रगत नखोज भो
देशमा शान्ति चाहिएको छ संघर्ष–पथ नरोज भो
सत्यकर्म सत्यबोली आकर्षणको हो महान शक्ति
गोलाबारुद त्रासादिमा कहाँ कस्को के मोज भो
स्वार्थपूर्ति गर्न खोज्दा
स्वार्थपूर्ति गर्न खोज्दा देश लथालिङ्ग भयो
संसारको अगिल्तिर हाम्रो शिर निहुरिन गयो
त्यति मूर्ख नसोच भो यो देशका जनतालाई
आँफै थुक्छन् आँफै चाट्छन् नैतिकता कहाँ रह्यो
ढुक्क भई बसौ सबै
ढुक्क भई बसौ सबै उनकै राज्य चल्न दिउँ
आशिर्वाद पाएका छन् उनकै बत्ती बल्न दिउँ
हाम्रो आत्मा तड्पीदो छ राष्ट्रवादी चिन्तनले
राष्ट्रियता बाच्नै पर्छ कोही गल्छन् गल्न दिउँ
यो बर्ष लामो खडेरी पर्यो
यो बर्ष लामो खडेरी पर्यो कहीं हरियाली छैन
देश दुख्यो नेपालीलाई पाल्न सक्ने बाली छैन
राजनीतिमा नाटक भयो कोही उठे कोही सुते
जनता जति रोएका छन् भाषण भने खाली छैन
देश हाम्रो नेपाल हो
देश हाम्रो नेपाल हो हामी सबै नेपाली हौ
इतिहास हेर्यो भने हामी सबै वीरशाली हौं
बुद्धको देश भनी संसारले हामीलाई चिन्थ्यो
पूर्वपथ छाडी आज त्रासादिका वहाली हौं
