साहित्य क्षेत्रमा कहिले र कसरी लाग्नु भयो ?
साहित्य भनेको यस्तो विषय रहेछ गर्छु भनेर गरिन्दैन, गर्दै जाँदा हुने रहेछ । म धरानमा जन्मे, धराने हावापानी, धुलोमा हुर्के । त्यहाँ मेरा साथीहरू, गुरुहरू साहित्य गर्थे । केही साथीहरू मिलेर हाँस्य ब्यङ्ग्य पत्रिका चलाउँथे । वि.सं. २०४१ सालतिर धरान थानाको अगाडि ‘हाम्रो पुस्तक पसल’ थियो । त्यस पसलका साथीहरूले ‘टुटुल्को’ भन्ने पत्रिका निकाल्थे । उनीहरूसित मिलेर काम गर्थे अहिलेका चलचित्र निर्देशक किसोर सुब्बा । मलाई पनि केही लेखन अनुरोध गर्थे । मैले त्यो टुटल्कोमा सानोतिनो हाँस्य लेख लेख्थे । म पढेको विद्यालय शिक्षा निकेतन, त्यहाँबाट प्रकाशित हुने पत्रिकामा पनि लेख लेख्थेँ । धरानको धर्मशालामा धरानका प्रसिद्ध साहित्यकारहरू महिनामा भेला हुन्थे । ती भेलामा म पनि सहभागी हुन्थे कहिलेकहीँ । यसरी शब्द, भावना, समाजसित खेल्दै साहित्यमा प्रवेश भएको रहेछु ।
अहिलेसम्म के कस्ता कृति बाहिर ल्याउनु भएको छ ?
हालसम्म ४ वटा उपन्यास प्रकाशित छन्—दोषी कर्म २०५०, अपमान २०५२, २०६०, २०६९, सहीद २०५६, आदिवासी २०६४ । अपमानको त २०६९ मा दुई संस्करण गरी जम्मा ४ संस्करण आइसक्यो । अझै आउने संभावना छ । भयवादमा प्रकाश थाम्सुहाङको ‘भयवाद वैचारिक चिन्तन’ २०६६ र दिपक सुवेदीको ‘भयवाद चिन्तन र विमर्श’ २०६७ पनि प्रकाशित छ । भयवादको सामाग्रीलाई सम्पादन गरेर वहाँहरूले तयार पारेको पुस्तक हो ।
नेपालमा रहनु र विदेशमा रहनुले तपाईको लेखनमा फरक पारेको छ ?
खाने मुखलाई जुङ्गाले छेक्दैन भन्ने उखान छ नि गर्ने मान्छेलाई जता पनि फरक पर्दैन । तर वातावरण ठूलो कुरा हो । आफ्नो अभिरुचि पनि । नेपालमा भएको भए हुन्थ्यो हुँदैनथ्यो म कसरी भनौ । साहित्य हुन्थ्यो होला, तर विचार भनेको एक किसिमको ज्ञान प्राप्त हो । त्यो भनेर सोचेर हुने कुरा होइन, त्यसैले भयवादको बारेमा चाही यसै भन्न सक्दिन । विचार जन्माएर हुर्काउनु पनि पर्छ । अरुले हुर्काइ दिदैन, सजिलै विस्वास पनि गर्दैन । त्यसैले विचार हुर्काउन जुन आर्थिक स्रोत जुटाएको छु, त्यो गारो हुन्थ्यो । पैसा कमाउनेतिर जाँदा सृजना, विचार आउन सक्दैन । यी दुई भिन्नै भिन्नै कुरा हुन् ।
अब, तपाईले हिजोआज विशेष जोड गर्नुभएको चिन्तन भयवादको बारेमा केही कुरा गरौ । सरल शब्दमा भयवाद के हो ?
भयवाद भनेको भय सम्बन्धीको चिन्तन हो । भयको अलि गहिराइ हो । भय उत्पन्न हुने स्रोत, असर, उपचार, फैलावटबारे विस्तृत व्याख्या हो भयवाद । भयवादमा धेरै कुरा छ । विश्वमा स्थापित भएका विश्व मान्यतामा नयाँ दृष्टिकोणबाट उपतर्क छ । माक्र्सवाद, अस्तित्ववाद, धर्म जस्ता पुराना दर्शनमा केही नयाँ अनुसन्धान छ । भयवाद भनेको जीवनलाई हेर्ने, सञ्चालन गर्ने विस्वास गर्ने अर्को दृष्टिकोण हो ।
भयवाद कसरी शुरु भयो र समाजलाई कस्तो सन्देश दिन सक्दछ ?
भयवाद जन्माउँछु भनेर जन्माएको होइन । यो पनि अचानक आएको सोच हो । कुनै पनि ‘वाद’ जन्माउँछु भनेर जन्मिन्दैन रहेछ । मान्छेले आफ्नो नाम, अस्तित्वको सुरक्षाको लागि केही गरिरहेकै हुन्छ । ती सबै मान्छेले वाद जस्तै नयाँ कुरा गर्न खोजिरहेका हुन्छन । यस्तो विषय आफैँ जन्माउँदा जन्मिने भए सबैले जन्माउँथे होलान् । त्यसरी हुँदैन । वि.सं. २०५६ मा म नेपालबाट फर्केपछि मैले ‘उजाड’ भन्ने उपन्यासको पाण्डुलिपि तयार पारेर साथीहरूलाई हेर्न दिएँ । ती दिएका साथी मध्ये शरण सुब्बाले हेरेर फिर्ता दिए । उसले फिर्ता दिएको पाण्डुलिपिमा ठाउँठाउँमा रातो मसीले अण्डरलाइन गरेका थिए । ती अण्डरलाइन गरिएका शब्द मध्ये एउटा ‘भयवाद’ पनि थियो । ‘भयवाद’ भन्ने शब्द देखेपछि मलाई यो विचार बन्न सक्छ भन्ने लाग्यो र काम गर्न थाले । साथीहरूलाई भन्न थाले । धेरैले पत्याएन । तर मैले गरिरहेँ । भयवाद भन्दाभन्दै आज यहाँसम्म आइपुग्यो । अझै भन्दै छु ।
यसले समाजलाई दिने सन्देश भनेको जीवनमुखी जीवनको सन्देश हो । कतिपय मान्छेले जीवनलाई नकरात्मक रुपमा लिन्छन् र आत्महत्या, हत्या, हिंसा, पलायन हुन्छन्, चिन्तनमा डुब्छन् र मानसिक रोगी हुन्छन् । ती मान्छेहरूलाई सबैभन्दा पहिला भयको मात्रा घटाउन सुझाव, विचार दिने हो । भय धेरै समस्याको जड हो, उदाहरणको लागि लोभ, हिंसा, हत्या, युद्ध, अहंम, क्रोधको जड भय हो । भय कम हुनासाथ यस्ता समस्यामा कमी आउन सक्छ । सुन्दा त मान्छेलाई हास्यस्पद लाग्न सक्छ, तर यो यथार्थ हो ।
अनि, तपाईले रेखा शीर्षक र शृंखला अन्तर्गत थुप्रै कविताहरू लेख्नु भएको छ । जसमा केही त मझेरीमा पनि प्रकाशित गरिएको छ । रेखा कविता कस्तो शृंखला हो, र यसमा कस्तो भावना र सन्देश समेटिएको छ ?
रेखा कविता अन्तरर्गत १०३ वटा कविता फेसबुकमा प्रकाशित गरे । त्यसमध्येको केही कविता मझेरीले पनि प्रकाशित गर्यो । यो शृंखला पाठकको ध्यान आकर्षित गर्न फेसबुकमा प्रकाशित गरेको हुँ । यो एउटा विचार हो जीवन र जगतलाई हेर्ने । रेखाबाट जीवन, जगत हेरौँ भन्ने सोच हो । यसका केही मान्यता छन् । यसका मान्यताहरू समानता, क्षेत्रता, सहनशीलता, अलाङ्कारिता, रेखीयता, सामयिकता हुन् । त्यो मान्यतामा बसेर लेखिरहेका छौँ । फेसबुक मार्फत शुरु भएको कविता लेखनमा १३ जनासम्म कविहरू लेखे । कति त हराए, कति नयाँ आउँदैछन् ।
हङकङको नेपाली साहित्यिक माहौल पहिलेदेखि निकै सक्रिय छ । के कस्तो साहित्यिक गतिविधि हुन्छन् ?
हङकङको साहित्यिक समाज अमेरिकाको न्युयार्क सिटी जस्तै हो । बाहिरबाट हेर्दा राम्रो सफा भित्र पस्यो अर्कै । हङकङमा नेपालीको बसाइ लामो छैन । शुरु शुरुमा निकै गतिविधि गर्यौ, नेपालबाट उपकुलपति मोहन कोइराला र नेपाल टेलिभिजनको अध्यक्ष दुर्गानाथ शर्मालाई ल्याएर पनि कार्यक्रम गर्यो । साथीहरूलाई अन्तराष्ट्रिय साहित्यिक कार्यक्रममा पनि हेर्नसम्म भएपनि लग्यौ । त्यसबेला रोपेको बिरुवाको फल मात्र छ । सानोतिनो काम हुन्छ । नेपाली साहित्य प्रतिष्ठान गर्ने प्रत्येक वर्षको कविता गोष्ठी जीविततै छ । नेपालीज फाउण्डेशनले गर्ने वार्षिक साहित्यिक कार्यक्रम छ, कङगन रेष्टुरान्टले वर्षको २ पटक गर्ने कविता गोष्ठी छ, भरखरै संखुवा सभा समाजले ठूलो पुरस्कार राशीको प्रत्येक वर्ष गर्ने कविता गोष्ठीको शुरुवात गर्यो । प्रत्येक महिना हुने साहित्यिक भेटघाट शृंखला छ, म भयवाद, रेखा कविता, अपमान भन्दै छु । रेखामा टंक सम्बाहाम्फे, डी.बी. पालुङ र मैले लेख्यौ, कवि टंक सम्बाहाम्फे रेखामा खम्बा भएर लागेका छन् । हङकङको साहित्यलाई विश्वमा पुर्याउनेमा वेव साइडहरू छन्, साब्लाबुङ पुस्तिकाले निकै सहयोग गरेको छ ।
समकालीन लेखकहरूसँग कतिको घुलमिल हुन्छ ? प्रायः सम्पर्क भइरहने सृष्टाहरूको नाम बताइदिनु होस न ।
समकालीन धेरै लेखकहरूसित सम्पर्क हुन्छ फोनमा फेसबुकमा । अहिले मेरो धेरै सम्पर्क अपमान र धरानमा हुने भयवादको कार्यक्रमको सिलसिलामा भयवाद अध्ययन केन्द्रका अध्ययक्ष प्रा. डा. टंक प्रसाद न्यौपाने र महासचिव दीपक सुवेदी, त्यस्तै आसाम भारतका रन काफ्ले, लखनाउका सुरेन्द्र लिम्बू परदेशीहरूसित कार्यक्रम, साहित्यको चर्चाको सिलसिलामा भेटघाट हुन्छ ।
तपाई व्यक्तिगत र साहित्यिक जीवनमा कतिको सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छु । आर्थिक रुपमा हङकङमै बसेर पनि त्यति उपलब्धी हासिल गर्न सकेको छुइन । तर साहित्यिक रुपमा सन्तुष्ट छु परिवारको साथ छ, नेपाल, भारत, बेलायत बु्रनाइ, हङकङ, मलेसिया, दुवाइ सबैतिरका साथीहरूको सहयोग छ । भयवादले गर्दा ठूलाठूला विद्वान्हरूसित सम्पर्क भइरहन्छ ।
अहिलेसम्म कुनै पुरस्कार र सम्मान पाउनु भएको छ ?
हामीजस्तो सानोतिनो लेखकले के पाउनु पुरस्कार । फेरि पुरस्कारको लागि लेखिदैन पनि । अपमानको प्रकाशन पछि हङकङमा स्थापना भएको जनजाति साहित्यिक समूह छ, यसले हङकङ डलर १००० पुरस्कार दिएको थियो । त्यस्तै मगर संघ हङकङ र किरात याक्थुम चुमलुङ हङकङले सम्मान गरेको छ ।
नेपाली साहित्यको हालको स्थितिलाई कसरी मूल्यांकन गर्नुभएको छ । साहित्यक्षेत्र उचित दिशातर्फ गइरहेको जस्तो लाग्छ ?
नेपाली साहित्यमा बहुलता आएको छ । यो सकारात्मक हो । लेखाइसँगै व्यवहारमा पनि बहुलताले स्थान पाउँदै गएको छ । हिजो एकै किसिमको साहित्य गरिन्थ्यो । शैली, भाषा, कथावस्तु सबै एकै किसिमका हुन्थे । अब कथा, कविता, सबैमा नवीनता छ । केन्द्र भन्दा बाहिरको साहित्यकारको प्रवेश न्युन थियो । अहिले राम्रै छ, हित्यमा उथलपुथल हुनुपर्छ, त्यति भएको छैन । तर पनि सन्तोषजनक लाग्छ । अपमानको विषय वस्तु पनि नेपाली साहित्यमा नवीन छ । हङकङबाट मात्र भयवाद, रेखा कविता, समुच्च विचार आइरहेको छ भने अरुतिरबाट कति आइरहेको होला । यसले नेपाली साहित्यलाई राम्रो मलजल गरेको छ ।
नेपाली साहित्य जगत्मा देखिएका सकारात्मक प्रवृत्रि र विकृतिहरू के हुन जस्तो लाग्छ ?
दिनदिनै नयाँ प्रयोग हुनु, उत्पीडित, आदिवासी, नारी, तराईवासी सबैको उपस्थिति हुनु सकारात्मक पक्ष हो ।
नेपाली साहित्यमा गुट बन्दी पहिलो खराबी, त्यसमा पनि मपाई हुने भावना । नेपाली साहित्यमा मूलधारको साहित्यलाई मात्र मान्ने प्रवृत्ति । नातावाद कृपावाद छ विशुद्ध साहित्यको सेवा गरौ भन्ने कम छ । केही अगाडि जान खोज्नेलाई खुट्टा तान्ने र अगाडि गई गए भन्ने भ्रममा अहंम गर्ने प्रवत्ति नेपाली साहित्यमा खराब हो ।
तपाईको लेखनलाई इन्टरनेटको कतिको प्रभाव पारेको छ ? फेसबुक र टवीटरजस्ता सञ्जालले कतिको असर पारेको छ ?
कम्प्युटर इन्टरनेट भनेको अब त संसार नै भैसक्यो । यो साइबर संसारमा यसलाई कसरी उपयोग गर्ने मान्छेमा भर पर्छ । सकारात्मक रुपमा लिने हो भने धेरै फाइदा छ, नकारात्मक रुपमा लिनको लागि पनि फाइदा छ । जहाँसम्म मेरो सवाल छ म सक्दो अधिकतम उपयोग गर्ने प्रयास गर्छ । हेर्नुहोस अपमान र भयवादको विकासमा मैले साइबरलाई प्रयोग गर्दैछु । हामीजस्ता लेखकको अरु माध्यम छैन, केन्द्रका पत्रपत्रिकाले नाम चलेको मान्छेको नै चाकडी गर्छ । हामीले प्रयोग गर्ने साइबर हो, कसैको चाकडी गर्नु पर्दैन लागेको कुरा लेख्न, प्रचार गर्न स्वतन्त्र छौ । विशेष अहिले फेसबुकलाई मैले शक्तिशाली पाएको छ । टवीटर मलाई चलाउन आउँदैन पनि । त्यो बारेमा थाहा भएन ।
मझेरी कतिको हेर्नुहुन्छ ? र यसलाई कसरी मूल्याङ्न गर्नुभएको छ ?
वेव साइटहरूमा मझेरी राम्रो साइट हो । यस साइटमा राम्रा राम्रा साहित्य पढ्ने गरेको छ विशेष कविताहरू । मेरो मूल्याङ्नमा मझेरी साइड राम्रो छ र सञ्चालक पनि साहित्य बुझ्ने हुनुहुन्छ । धेरै वेव साइडका सञ्चालकहरू आफूलाई ठूलो ठानेर गमक्क परेको पनि देखेको छु । मेरो विचारमा वेवसाइड चलाउने मान्छेले गमक्क हुनु पर्ने काम जस्तो लाग्दैन । यो सामान्य काम हो । कसैले मेरो लेख, रचना, समाचार छापिदेउ भन्दा किन पो गमक्क हुनु होइन र । गमक्क हुने अधिकार मेरो विचारमा पिकासो जस्तोलाई छ, किनभने उसले जो काम गरे, त्यो काम अरुले गर्नै सकेनन् ।
मझेरीमा मन पर्ने लेखकहरूको नाम लिनु पर्दा कसलाई सम्झिनु हुन्छ ?
यो अप्ठयारो प्रश्न हो । हामीले कसैको नाम भनेर अन्याय गर्नुहुँदैन । सबैको आ आफ्नै छनौट हुन्छ । तर मेरो प्राय सामुहिक हुने गर्छ, हत्तपत्त कसैको साहित्यलाई म नराम्रो भनेर चोट पुर्याउन चाहन्न । ती नराम्रोमा म सधैँ संभावना देख्ने गर्छ ।
धन्यवाद देशजी, तपाईँको अमूल्य समय मझेरी र मझेरीका पाठकहरूलाई दिनुभएकोमा । आगामी दिनहरूमा यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।
देश सुब्बा
Email – fearism@gmail.com,
Web – www.fearism.blogspot.com
मझेरीमा प्रकाशित देश सुब्बाका रचनाहरू


Bhaybad bare spast khulash
Thanks…naya kura thaha paiyo.
Bhaybad bare kitab bhaera pani padhieko thiena.
Aba padne ra kehi lekhne bichar aayo..!
Bhalakusariko nirantartaka lagi kumar sirlai dhanyabad
&
bichar bujhne bhashama sarbajanik garnu bhakoma desh sir lai
muri muri thanks.
.
Darjilingma ta bhaybadle pathyapustkma sthan payo re….
.
Nepalma pani sthan paune apek6a….!
Thanks
धन्यवाद देशजी
देश सुब्बाजीलाई व्यस्तताको बाबजुद समय निकालेर हाम्रो प्रश्नको उत्तर दिनुभएकोमा धन्यवाद ! आशा छ मझेरी पाठकहरूलाई देशजीका बिचारहरू मननयोग्य भए होलान् । देशजीको लेखाई अँझ चलोस्, निरन्तर बढिरहोस् – शुभकामना।
मझेरी परिवार लाई हार्दिक धन्यवाद ।
नेपाली साहित्याकाशको एउटा परिचित अनुहार हो देश सुब्बा । उहासंग प्रत्यक्ष रुपमा भेट नभए पनि लामो समय देखि उहाका सिर्जना मार्फत परिचित रहँदै आएको छु । आज मझेरीमा उहालाई पाउँदा ज्यादै खुसी लाग्यो । एउटा राम्रो स्रष्ठालाई मझेरीमा समेट्नु भएकोमा मझेरी परिवार लाई हार्दिक धन्यवाद । साथै देश सुब्बा जीलाई यसरी नै देख्न पाई रहुँ भन्ने आसा राखेको छु ।
-केशु बिरही ।