नदेखिएको घाउ

  • by


कपाल आधाउदी फुलिसकेको । झट्ट हेर्दा साठ्ठी वटा हिउँद त काटे बुढाले जस्तो लाग्ने । पूर्वको झापाली बुढा । सानैमा आमा बुवा बितेपछि ईन्डियामा ट्रकको खलासी बसेछन् । नेपालमा जनयुद्ध सुरु भएपछि बाँकी उमेर नेपाल र नेपालीको लागि अर्पण गर्ने भन्दै बुढा होमिए जनयुद्धमा । जनयुद्धमा साहिँला दाइको उपनाम पाए । घरको कुन चाहिँ भाइ हो उनै जानुन् । तर सबैले उनलाई साहिँला दाइ भनेर बोलाउँन थाले । यहाँसम्मकी उनीभन्दा दश बर्ष जेठो उमेरका साथीहरूले पनि उनलाई साहिँला दाइ भनेर बोलाउन थाले । जनमुक्ति सेनाको ब्यवस्थापकिय जिम्मेवारी समाल्थे बुढा । बुढाको ठट्यौली बानी, मिजासिलो, मिलनसार स्वभावले सबैलाई आफ्नो वरिपरि तानिहाल्थे । जनताको घरमा पुग्ने वित्तिकै सबै भन्दा पहिला त्यो घरको वातावरण, बालबच्चाको स्वास्थ, शिक्षाको अवस्था, त्यो घरको आयश्रोतको बारेमा जानकारी लिएर आफ्नो सिद्धान्तलाई मिसाएर पारिवारिक समस्या हल गर्ने मेसो सुझाई हाल्थे । लडाई हार्दाको क्षण होस् या जित्दाको क्षण, जस्तै कठिन घडीमा पनि साहिँला दाइको मुहारमा मैले कहिल्यै दुःख देखिन । जुनगाँउमा पुग्यो त्यो गाँउमा आधारातसम्म बुढापाकासँग रमाईलो गफ चलाउँथे साहिँला दाइ । लडाईको कथा सुनाउँदै जुन गाँउमा साहिँला दाइ पुग्थे त्यो गाँउबाट कोही न कोही जनयुद्धमा हिडेकै हुन्थे । गाउँमा एउटा वर्ग बुढादेखि आतंकित पनि थिए ।

२०५८ सालको वार्ताको अन्ततिर बुढा जेल परे । पूर्वी पहाडी क्षेत्रहरूमा साहिँला दाइको अभाव खड्कियो । बुढालाई कहाँ लग्यो ? मार्यो कि जिउँदै छ ? केही पत्तो भएन । पहिलो शान्ति वार्ता भाँडियो । शाही सेनासँगको युद्ध घमासान भयो । शाही सेनाले मुडभेडको नाममा निर्दोष हली गोठालो मार्ने क्रम बढायो । मेरो कार्यक्षेत्र पूर्वि नेपालबाट मध्यमाञ्चलमा सर्यो । साहिँला दाइलाई धेरै सम्झिएँ । सेनाले मारे सायद भन्नेमा पुगें म ।

गएको पालुङटार बैठकमा मेरो आँखा अगाडि एउटा मुखाकृति विगतको धमिलो याद बोकेर अडियो । कतै देखे जस्तो, कतै भेटे जस्तो, कहाँ देखें ? कहाँ भेटें ? यस्तै अन्यौलतामा धेरै बेर उनैलाई हेरिरहें । नजिकै गएर बोलाउने हिम्मत पनि आएन । बाहिर बेच्न राखेको कम्युनिष्ट पार्टीको झण्डा भएको सानो सानो तक्मा छातीमा टाँस्दै खोल्दै थिए उनी । सेतै फुलेका कपाल, अस्वभाविक बढेको दारीजुङ्गा, ख्याउटे गाला, खुट्टामा चप्पल, एउटा मैलो झोला, एक जना अपरिचित बृद्धको नजिक पुगें म । अगाडिबाट नियालेर हेरें । बुढा फिस्स हाँसे ।

“राजुभाइ तिमी पनि यहाँ ? के हेरेको ? म के त साहिँला दाइ ।” बुढालाई मैले बल्ल चिने ।

“साहिँला दाइ तपाई यहाँ ? यतिका वर्ष कहाँ हराउँनु भएको ? जेलबाट कहिले छुट्नु भयो ? अनि अहिले कहाँ हो नि कार्यक्षेत्र ?”

मेरो प्रश्नको बाढीले साहिँला दाइ खैनीले लगेको दाँत देखाउँदै फेरि हाँस्न थाल्नु भयो । साहिँला दाइले हात मिलाएर अंगालोमा कस्नु भयो । करिव नौ वर्षपछिको अकस्मात भेटमा कुरा गर्ने मेसो नै पाईन । गफगाफ चल्दा चल्दै कार्यक्रम शुरु भयो । त्यसपछि पालुङटारको बसाई अवधिभरि दाजुभाइको जोडी खुव जम्यो । बसाईभरि बुढाले खासै रमाईलो कुरा गरेनन् । अन्तिम दिन घुम्न लिगलिगकोट जाने भयौं । बुढाले खोले नौवर्षको काहानी ।

“राजु भाइ, साँझ पख म त जनमुक्तिसेनाले दाङमा हतियार लुटेको कथा सुनाउँदै थिएँ । शाहीसेनाले घेरा हालि सकेछ । खाना खाने बेलामा समायो । रात भरि चुरेको जंगल हिडाँयो । विहानपख तल दोभानमा ल्याएर एउटा गाउँको मधेसीमुलको डाक्टरलाई मार्यो । एउटा गाउँकी मास्टरनी थिई । उसलाई कसरी मार्यो खै म कसरी भनौं राजु भाइ ? चार जनालाई त्यही मारेपछि हामीलाई तल राजविराजको जेलमा ल्यायो । याताना धेरै दियो । मेरो दाहिने आँखाले राम्रोसँग देख्दैन, दुबै कान कम सुन्छु । छातीमा गहिरो चोट लागेको छ । यी हेर ! हातमा पिन ठोकेको दाग । मानवअधिकारवादीहरूलाई भेट्नै दिदैन थिए । दिनहुँ बन्दीहरूलाई अन्तै सार्थ्यो । मलाई मार्छ, भन्नेमा पुगें म । २०६० सालको युद्ध विराममा म सगैका प्रायः साथीहरू छुटे । मेरो त भनसुन गरिदिने मान्छे को नै थियो र । संविधानसभाको चुनाव ताका निस्किएँ । पार्टी चुनावको अभियानमा रहेछ । सक्दो सहयोग गरें । त्यसपछि यी भाइसँग भेट भयो ।”

साहिँला दाइले कथा सुनाईसक्दा हामी लिगलिगकोट डाँडा पुगिसकेका थियौं । अग्लो अग्लो सल्लाको रुखहरू । तल बेसीमा पालुङटारगाँउ, गाँउको पुछारमा बैठकको लागि बनाईएको टहराहरू । साँच्चै रमाईलो थियो । लिगलिगकोट दरवारको भग्नावशेषमा बसेर बुढाले लामो स्वास फेरे ।

“राजुभाइ ल हेर यहिीबाट द्रब्यशाहको सेनाले तोप पड्काउँथ्यो रे । सायद यहीँबाट सुरु भयो कि ? नेपालमा सोझा जातिहरू ठुलाबडाको भर्याङ बन्ने प्रचलन ?”

हिजो “क्रान्तिकारी कहिले थाक्दैन” भन्दै अहोरात्र खट्न सम्झाउँने साहिँला दाइ आज यसो भन्दै गर्दा मलाई अनौठो लागिरहेको थियो ।

“अँ साँच्ची साहिँला दाइ जेल परेकाहरूलाई सरकारले राहत दिन्छ नि तपाईले लिनु भयो ?” मैले बुढाको एकाग्रता भङ्ग गर्ने प्रयास गरें ।

“कहाँ लिनु राजु भाइ मेरो नागरिकता नै बनाको थिइन, बनाउँन खोज्दा खोज्दै पहिलोको जिल्ला सचिव सुरेन्द्र, त्यसले मेरो नाममा पैसा लिएर खाएछ ।”

बुढाको गलेको आवाज झनै भाँसियो । गहिरो गरि खोके बुढा । सोचें, यो भन्दा धेरै बुढालाई दुःख नदिउँ । घाम ढल्कँदै थियो । लिगलिगकोटको सुन्तला किनेर ओरालो लाग्यौं । बुढाले एकपटक पनि पहिलाको जस्तो ख्यालठट्टा गरेन ।

अस्ति विहान काठमाण्डौंको लोकल लाईनबाट फोन आयो ।

“तपाई राजु बोल्नु भा हो ? तपाई तुरुन्तै महाराजगञ्ज शिक्षण अस्पताल आईहाल्नु त ।”

म अकमक्क परें । काठमाण्डौंमा एक्लै बस्छु । कोही पनि विरामी भएको छैन । कार्यालयमा बुझें । कोही कसैलाई केही भा’छैन । म हतार हतार महाराजगंज पुगें । केही पुलिसहरू थिए । एक जना डाक्टरलाई पच्छाउँदै गएँ । डाक्टरले ब्यवारिसे लास राख्ने ठाउँतिर लिएर गयो । मन छट्पटिन थाल्यो । वरिपरि चिनेका कोही पनि थिएन । बेवारिसे शवगृहमा पुगें । पल्लोपट्टि कुनाको एउटा लास बाहिर निकाल्यो ।

“नडराउनुस् हामी अपराध अनुसंधान आयोगका पुलिसहरू हौं । हामीले तपाईको नम्बर यो लासको पकेटबाट फेला पार्यौं । प्लिज हामीलाई सहयोग गर्नुस् । यो मान्छे चिन्नु हुन्छ ?”

सेतो कपडा हट्यो । त्यो बेवारिसे लास उनैको थियो, एकजना टुहुरो, खलासी पेशा छोडेर देशको खलासी बन्न मैदानमा होमिएको थियो । सिभिलमा रहेको पुलिसहरू के के सोध्दै थिए । केही पनि सुनिन । न त चिच्याउन नै सकें । न कराउँन नै सकें । किंकर्तव्यविमुढ भएर उभिरहें । आँखामा विस्तारै कालो बादल छायो । साहिँला दाइको लासमाथि दुई थोपा आँशु तप्प तप्त खस्यो । पुलिसहरूले मलाई बाहिर ल्याए ।

“बोल्नुस् न प्लिज, तपाई यो मान्छेलाई चिन्नु हुन्छ ? पत्ता लगाउँनु छ यो मान्छेको मृत्युको कारण ।”

मैले टाउको हल्लाएँ । वरिपरि एकहुल मान्छे जम्मा भए । मान्छेहरूको बिचमा उत्तर दिन उभ्याइयो । पुलिसहरूले एकोहोरो प्रश्न बर्साउन थाल्यो – “यो बुढा तपाईको आफन्त हो ? लास दुई हप्तादेखि बेवारिसे छ । तपाई कहाँ जानु भएको थियो ? बुढाको जिउमा गहिरो खत छ उसको कसैसँग दुश्मनी थियो ? के काम गर्थ्यो बुढाले ?”

म चुपचाप उभिरहें । मुखबाट कुनै शब्द निस्किरहेको थिएन । नजिकै कसैको सवारीको साईरन चर्को चर्को बज्न थाल्यो । सडकको दायाँबायाँ अवरोध पन्छाउँदै एकहुल चिल्लो गाडीहरू मेरो सामुन्नेमा आई पुग्यो । साईरन झन चर्को चर्को बज्न थाल्यो । पुलिसका प्रश्नहरू केही पनि सुनिएन । झण्डा हल्लाउँदै सबारी दक्षिणतिर सोधियो । साईरनको चर्को आवाज परपरसम्म आईरहयो । मलाई ती प्रश्नहरू तिनै साईरनको आवाजलाई सोध्न मन लाग्यो । साईरन ! भनिदेऊ यी प्रश्नकर्ताहरूलाई के हो मृत्युको कारण ?

राजु स्याङतान्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *