जिन्दगीको हरेक यात्रा तिमीसँगै गर्न पाएँ
तिम्रै निम्ति फुलें अनि तिम्रै निम्ति झर्न पाएँ
तिमी थियौ शून्यतामा पूर्णताको खोजी गर्दै
आफूलाई रित्याएर माया मेरो भर्न पाएँ
फूल थिएँ बगैँचाको उडी जान सकिन म
भमरा बनी तिमी आयौ बास्ना मेरो छर्न पाएँ
किनारामा एक्लै थिएँ यात्रा थियो अवरुद्ध
माझी तिमी भेटेपछि जिन्दगी यो तर्न पाएँ
सयौँ जन्म तिमीसँगै बिताउने मन्को इच्छा
मन्को इच्छा पुर्याउन तिम्रो सामू मर्न पाएँ
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
