Skip to content

कुकुरको पुच्छर (कथा)


स्वर्ग र नर्कको बार्षिक आय-व्यय, प्रगति विवरण निकाल्न देवी-देउताको असार मसान्तमा बैठक बस्यो । आफैले सृष्टि गरेको हुनाले धरै माया लागेर पो हो कि, सृष्टिकर्ता ब्रह्माले पृथ्वीका सबै देशको विवरण पनि सोही समयमा हेर्ने गर्दथे । राम्रो र गतिलो केही नभएको नेपालको विवरण देखेर सबै देउताहरूले जिब्रो टोके ।

दिक्क मान्दै ब्रह्माले भने -“आफूले भने कति दुख सहेर, चिसोले कठ्याग्रिँदै हिमालयको काखमा कस्तो न सुन्दर देश बनाइयो भनेर घोर्ले नाक पारियो, अहिले आएर यस्तो पो भयो ।”

यहि मौकामा भुँडे गणेशले सुँड हल्लाउँदै जिस्काए – “हिस्स बुढा हरिया दाँत ।”

विष्णुले गणेश तर्फ हेर्दै भने – “पोलेको घाउमा नून नछर्किनुस् न गणेशजी, बरु यो तोरीलाउरे रिपोर्ट सीता बैनीलाई पो कसरी देखाउने हो ? माइतीको यो हालत देखेर बिचरी कति रोलिन् ।”

उनले फेरि थपे -“होइन यो नेपालको उँधो गति उँधै मति भाको किन होला ? संबिधान बनाउँछु भनी टोपल्थे, नयाँ नेपाल हो यो भन्थे, इ … स् ! नयाँ नेपाल ।”

उनको रिस अझै मरेको थिएन ।

चारैतिरको खबर बुझेर आफूलाई अपडेट राख्ने नारदमुनि बिचमा प्वाक्क बोले – “नेपाल बिग्रेको नेपालीको अल्छी बानी र आफ्नै मूर्खताले गर्दा हो हजुर । रामचन्द्रजी ससुराली जाँदा दरबारको सुसारेलाई चिया लिएर आउ भन्नुभएछ । हातमा चिया आउँदा त सेलाएर सर्बत भैसकेछ । दरबारको त यो हाल छ, झुपडीमा झन् के होला ?”

ब्रह्मा- “दरबार भित्रैकाले त सबै बिगारेका हुन् नि नारदजी । पहिले एउटा दरबार हुन्थ्यो, अहिले दशौ दरबार भए । बरु रामचन्द्रजीले राजा जनकलाई अवगत गराउनुभयो त ?”

नारद – “जनक दाई दरबारमा बसे पो ! कत्रो पुत्रीमोह छ उँहालाई अझैपनि, तपैलाई के था ? बिहान जुरुक्क उठ्यो, चट्ट हलो बोक्यो, अनि खेततिर टाप ।”

कुनामा बसेर सबैको कुरा सुनेरहेका महेश्वर बल्ल बोले- “हेर्नुस, आफ्नो त घर भने पनि, जे भने पनि त्यै हिमालयको कैलाश पर्वत हो … जतिनै धोइसिन्ग्रे-फ़ोईसिन्ग्रे भए पनि मेरो प्यारो मन्दिर पनि त्यै काठमान्डूमा नै छ । बरु हामीले नै केही गरेर भए पनि यो पुन्टे देशको उद्दार गरिदिनु पर्यो ।”

मठ-मन्दिरले भरिएको नेपाल सबै देवी- देउतालाई उत्तिकै प्यारो थियो । नेपालको मुहार कसरी फेर्ने भनेर निकै गम्भीर छलफल भयो, तर अहँ देउताहरूको दिमागमा समेत झट्ट कुनै बत्ती बलेन ।

धेरै बेरको मन्थन पश्चात नारदले उपाय निकाले – “हेर्नुस, हामीले नै २०-३० वटा फटाफट सब काम गर्नसक्ने यन्त्रमानव (रोबोट) हरू स्वर्गबाटै तयार परेर नेपाल पठाईदिउँ । यिनीहरूको कार्यकौशल र क्षमता देखेर नेपालीले पक्कै केही सिक्छन् ।”

ज्ञानकी देवी सरस्वतीले शंका देखाईन् – “जालो दिनुभन्दा माछो दिनु अलि प्रत्युतपादक हुन्छ कि त नारदजी ?”

नारदले फेरि थपे – “हुदैन होला । नेपालीहरूलाई पनि रोबोटसँगै काम गर्न लगाउँ । अनि रोबोटहरू निश्चित समय सम्म मात्र नेपालमा बस्नेछन् भनेर अग्रिम सुचना दिँउ । कक्षामा जान्ने बिधार्थीको संगतले लद्धु र अल्छीको पनि बुद्धि आएजस्तै नेपालीले पनि यी रोबोटहरूबाट पक्कै थुप्रै कुराहरू सिक्लान् । ”

नारदको बिचारसँग सबै सहमत भए । नेपालमा पठाउने यन्त्रमानव तयार पार्न पृथ्वीतलबाट मरेर स्वर्ग आएका बैज्ञानिकहरू जम्मा पारियो । आइन्स्टाइन र न्युटनको निरिक्षण रहने गरि एउटा टोली उतिन्खेरै गठन भयो । बैज्ञानिकहरूले बनाउने उक्त यन्त्रमानवलाई फाइनल टच चैं ब्रह्माले दिने भए ।

यन्त्रमानवहरू तयार भए, ब्रह्माले पारित गर्नु बाँकी थियो । हेर्दा अलिअलि मान्छे जस्ता तर शक्ति भने सय हातीको शक्ति भएका भीमभन्दा पनि शक्तिशाली । बुद्धि र चेतना भनौ भने लाखौ ज्ञानी, बैज्ञानिकहरूको दिमागलाई एकैठाउमा मिसाए जस्तो । यंत्रमानवलाई संचालन गर्न पनि धेरै सजिलो थियो, मात्र दुइवटा बटन थियो । एउटा रातो, अर्को हरियो, दुवै बटन छातीमा । हरियो बटन थिचेर “फलानो काम गर्” भन्नेबित्तिकै रोबोटले फटाफट काम गर्थ्यो, त्यो पनि प्रकाशको गतिमा । रातो बटन थिचेपछि रोबोट बन्द हुन्थ्यो ।

फाइनल टचकोको लागी रोबोटहरूलाई ब्रह्माको प्रयोगशालामा पठाइयो । ब्रह्माले छातीको हरियो बटनलाईनाइटोमा सारे, नाइटो ब्रह्मालाईप्यारो थियो । अनि केही दिन रोबोटहरूमै ब्यस्त रहे । यन्त्रमानवको अन्तिम रुप तयार भयो । फाइनल प्रोडक्ट देखेर ब्रह्मा समेत हर्षले गद्गद भए । यहि खुशीमा जिन्दगीमा पहिलोपटक आफ्नो दाह्री पनि खौरे । नेपालको लागि केही गर्न पाएकोमा ब्रह्मा खुशी थिए, किनकि उनले बुझेका थिए सक्कली प्रभुको ठुलै कृपाबिना नेपालको मुहार फेर्न सम्भव थिएन ।

रोबोटहरूलाई राबणबाट खोसेको पुष्पक विमानमा लगि प्यारासुट लगाई खसाइयो । रोबोटहरूले नेपाल खसेको भोलिपल्टैदेखि छु-मन्तरको शैलीमा चमत्कार देखाउन थाले:-

– बराजुको पालादेखि थाङ्नामा सुतेको कुलेखानी-अरुणलाई लात हानेर दौडाए, लोडसेडिंग ‘पत्तासाफ’ ।

– फोहोरको पर्वतलाईकन्टेनरमा लागे, मल बनाए, कृषक मालामाल । लाखौं झिंगा, मुसा, सांङ्लाहरू ‘ठहरै’ ।

– पृथ्वी राजमार्गको दुवै छेउमा पर्खाल, कृष्णभिरमा जामको ‘सफाया’ ।

– देशैभरि सुरुङमार्ग । बिहान मनांग, हेलम्बुमा टिपेको स्याउ बेलुका चितवनको बालखाले कुटुक्क । नक्कली प्रभुको दुतहरूको धन्दा ‘चौपट’ । आदि …

चिप्लेकीराको गतिमा घस्रेको नेपालको बिकाशले चितुवाको गति पकड्यो । रोबोटहरू रातारात लोकप्रिय भए । अन्धकारमा चारैतिरबाट ठगिएर, चुसिएर भुत्ल्यायको भाले जस्ता भएका नेपालीहरूको मुहारमा कान्तिको सुर्यमुखि फक्रियो । रोबोटहरूबाट भएको देशसेवाको उच्च मुल्यांकन गर्दै, NRN लाई तिरिमिरिझ्याँई पार्दै, नेपाल सरकारले रोबोटरुलाई नागरिकता पनि प्रदान गर्यो । यी रोबोटहरू राष्ट्रपति- प्रधानमन्त्री भए भने देशले ‘अग्रगामी छलांग’ मार्छ भन्दै जनताले तिनीहरूको नाम पनि राजाराम, रामप्रसाद,रामहरि, रामकुमार … आदि राखे ।

… केही महिनादेखि अविछिन्न रुपमा बेपत्ता दौडेको नेपालको बिकाश अचनाक टक्क रोकियो । पहिलेजस्तै फोहोरको चुलि लाग्न थाल्यो, उपत्यकामा झाडा-पखाला चल्यो । बिजुली बत्ती पनि झ्याप-झ्याप हुँदै लोडसेडिंग सुरु भयो … ।

कतै रोबोट पो बिग्रियो कि भनेर कुरा बुझ्न ब्रह्माले आफ्नो दूतलाई नेपाल पठाए ।

दूत फर्केर आयो । पिर मान्दै डाडू जत्रो मुख बनाएर ब्रह्मालई भन्यो-“नेपालीहरूको मुर्खता र अल्छि गर्ने बानी त कुकुरको पुच्छर जस्तै रैछ हजुर ।”

ब्रह्मा – “म बुढो भैसकें, राजनीति पनि नगरेको मान्छे, यस्ता बाँगा-टिङ्गा कुरा बुझ्दिन बाबु ।”

दूत – “बरु कुकुरको पुच्छर १२ले नपुगे १३ बर्ष ढुँग्रोमा हाले सोझिंन्छ होला । त्यतिले नपुगे आरनमा चुटे त पक्कै सोझिंन्छ । तर नेपालीको मुर्खता र अल्छीपना कहिल्यै सोझिने भएन ।”

ब्रह्मा – “अझै बुझिन ।”

दूत- “नेपालमा केही बिदेशी नागरिकहरू बस्दा रैछन् । डीसेम्बर लाग्यो, अनि क्रिसमस मनाउन आफ्नै देश फर्केछन् । रोबोटको हरियो बटन थिच्ने ठेक्का समेत तिनै विदेशीलाई दिइएको रहेछ ।”

ब्रह्माले पिच्च थुक्दै भने -“थुक्क नेपाली !”अनि ट्वाँ परेर धेरैबेर सम्म आफ्नो चिण्डे गाला मुसारिरहे ।

तर दुत भने डाँको छोडेर रुँदै भन्यो – “ती त जति रोबोटहरू बचे तिनीहरूको कुरा हो, धेरैजसो रोबोट त ‘परमधाम’ भए ।”

ब्रह्मा छाँगोबाट खसे जस्तै भए । र पनि मन थाम्दै सोधे -“कसरी?”

दुतले सुक्सुकाँउदै, रुन्चे आँखा पुछ्दै भन्यो – “आफूमा भएको मुर्खता र रिसको आगोले बिनाकारण अरुलाई झोस्नुलाई नेपालमा ‘बन्द/चक्काजाम’ भनिंदो रहेछ । एउटाको स्वास्नी भागिछे, अर्कोको कुखुरालाई गाडीले किचेछ, अनि एउटा उग्र समुहको अगुवालाई अर्को उदण्डले चड्काइदिएछ र बन्द भएछ हजुर । हाम्रा रोबोटहरूलाईबन्दको दिन किन काम गरिस् भनेर एकदमै निर्मम तरिकाले तोडफोड गरेछन् । रोबोटहरू बाटो-पुल निर्माण गर्दै रहेछन् त्यो दिन ।”

ब्रह्माले आफ्नो रसिलो आँखा पुछ्दै सोधे- “यो तोडफोड होइन ‘हत्या’ हो । कसरी मारेछन् पाखण्डीहरूले मेरो रोबोटलाई ?”

दुत – “हँसियाले कोपेर अन्धो बनाएछन्, हथौडाले टाउको फोरेछन्, हलोको फालीले काटेछन् अनि भुइँमा छट्पटाएर लडिबुडी गर्दा बुडो रुखको सुकेको हाँगाले पिटेर अंग-भंग परेछ्न् ।”

ब्रह्मासँग अरु सुन्ने ताकत थिएन । तैपनि सोधे – “त्यसपछि ?”

दुत -“त्यसपछि रोबोटलाई टुक्रा टुक्रा परेर, पारीबाट एट्लस साइकलमा आएको भाइको तराजुमा जोख्दै बेचिदिएछन् ।”

रिसले आगो अनि चोटले बिक्षिप्त भएका ब्रह्माले सिनेमाको शैलीमा आदेश दिए -“अबको २४ घण्टाभित्र मेरा सबै बचेका रोबोटलाई जसरि पनि स्वर्गमा हाजिर गराउ ।”

पुष्पक बिमान रोबोट टिप्न नेपालतिर झर्यो ।

… पर बादलको कुनाबाट लुक्दै दुरबिनबाट यी सब दृश्य चियाइरहेका नक्कली प्रभुहरू भने खुशीले मुसुक्क मुस्कुराए ।

www.mysansar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *