चाहिन्न मलाई
छेपारोले घाम तापेको देश
चाहिन्न मलाई
बुद्धले दिएको अर्ती र उपदेश
पैंतालोले कुल्चेर पछारेको देश
मलाई त
लाटो अन्धो हिड्ने देश चाहिएको छ
शान्तिलाई लत्याएर हिटलर चिप्लेर
खाल्डोमा गिरेको देश चाहिएको छ
जहाँ म सधै
स्वभिमान र स्वतन्त्रतामा हाँस्न पाऊँ
चौरासी ब्यञ्जन नभएर के भो त ?
ढिडो र सिस्नोको खोले खाएर बाँच्न पाऊँ
कुनै महत्वकांक्षा छैन मलाई
कसैलाई आँखा बन्द गरी
नैतिकताको शिखरमा उभिएर
हेर्नु रहर हैन् मलाई
म त उही नै हु पुरानो गल्लिमा
मित्रताको साईनो गाँस्ने मान्छे
नत्र त म
जिउदो समयको संसार देख्दिन
किनकि म त्यही संसारको एउटा
कुनाको विन्दुमा लपेटिएर अल्झिएको मान्छे हु
मेरो आफनै पहिचान छ
आफनै समाज र बस्ती छ
आफनै कला र संस्कृति छ
कुनै टालो बनाएर
टालिएको मान्छे होईन म
नत उद्रिएर च्याती
फ्याँकिएको लाचार थाँग्नो
मेरो बाध्यता र बिवश्तालाई
उपरखुटी लगाई
सोफासेटमा बसी अरूसँग
गीज्याँउदै हाँसे त के भो ?
मेरो लाज म संग हाँस्दैन
रेसम र मलमलाउदो मखमलीको
लुगा नभए त के भो ?
मेरो आंगलाई
लालिगुराँस र सगरमाँथाको
पच्छ्यौरीले सर्वांग ढाक्न जानेको छु
कसैले मलाई मेरो अस्तित्व माथी
प्रश्न चिन्ह राख्छ भने
म उस्लाई
आधुनिक सडक भिखारीको परिचय दिन्छु
जहाँ मलाई नांगिएर
खोक्रो आडम्वरीमा लुटिएको
स्वतन्त्रता चाहिन्न
किनकि म
आफनो अनुहार ऐनामा
गुटुमुट्याएर लुकाउन जान्दिन
मलाई स्वाधिनता र
स्वाभिमानको खाँचो छ
मलाई सच्चा ब्यक्तित्व र
देश भक्तको चासो छ
म त्यसैमा आत्म सन्तुष्टिले रमाउछु
त्यसैले म खोजी हिडदैछु
स्वाभिमान र स्वतन्त्रता
कत्तै नदीको छाल्ले
छुट्याएको छ की किनारामा
कि कतै बिर्सिएको छ कि
तरवार र खुकुरीको धारमा ।
