Skip to content


हामी भाइ सबै जन्मी हुर्केको घरको अहो !
हिमाल शिर हो अग्लो, पहाडचाहिँ छाती हो
तराई पाइताला हो साह्रै सुदृढ देह यो
मन खल्बलिँदै आज कमजोर देखिँदै छ यो ।

तराई जग हो यस्को तला मध्य पहाड हो
छानो हिमाल हो उच्च सँधै सुन्दर शान्त यो
सीता र भृकुटी, बुद्ध, पृथ्वी, जनकको थलो
भित्र खल्कलभै आज चर्किंदै चर्किंदै छ यो ।

सबै भाइ मिली पैले बनायौँ घर सुन्दर
लोभिई खोस्न खोज्नेको विरुद्ध उभियौँ तर
भत्किन्छ कि कतै भन्ने मनमा आज त्रासभो
के भयो के भयो यस्तो मतभेद हुँदै गयो ।

चीसो हिमालको पानी हावा मध्य पहाडको
मिली तराईको माटो साँच्चै उर्वर भूमि यो
अन्न–पानी र हावाले सँधै सम्पन्न देश यो
आँखा लाग्यो कि खै के भो दशा–दुर्दिनको पर्यो ।

जाडो उग्र पनि साम्य पार्ने मध्य पहाड हो
तातो उग्र पनि साम्य पार्ने मध्य पहाड यो
यस्कै भाइहरूको खै के मा चित्त दुःख्यो दुःख्यो
छोपी मौका यहीबेला दुष्टको भेद कि पस्यो ।

एउटा घरमा बस्दा झगडा व्यवहारको
खानपान अनि भाग, विवाद हुन्छ बोलीको
मिल्दैन कहिले कस्को पेट बाझिन्छ सत्य हो
बहाना भई यै मित्र विवाद चुलिदै छ यो ।

एउटै आँगनमा हामी जन्मी खेली ठूला भयौँ
त्यही आँगनमा खेल्न आज कोही डराउँछौँ
बाझ्दै मिल्दै सँगै खेल्ने संस्कार खै कता गयो
सहिष्णु मित्रता हाम्रो दुब्लो–कमजोर भैसक्यो ।

सपना–कल्पना आफ्नो देख्न मीठो भए पनि
यथार्थ ब्यूँझिदा अर्कै हुन्छ भोग्न परेपछि
बुद्धको घरमा उनकै सन्तानलाई के भयो
हिंसाको झोसियो आगो र भित्र फैलिदै छ यो ।

पुगेन कि कतै ध्यान मर्का पर्नेहरूतिर
लोभिए कि कुनै भाइ आ–आफ्नै स्वार्थ खातिर
थिचोमिचो भयो कि क्वै न्याय–अन्यायमा पर्यो
खोजौँ सत्य सबै के भै एकत्वभाव भत्कियो ।

आफ्नो गल्ती स्वयं खोज्ने बेला टर्दै गइसक्यो
छातीमा हात राखेर बोल्ने बेला भइसक्यो
निभ्दैन कि अहो आगो सल्किदै सल्किदै छ यो
नाँघ्दा लक्ष्मण रेखा त्यो देशै भत्किन्छ कि त यो ।

साझा हो फूलबारी यो सबै जाति र वर्णको
यै सीमामा बसी मानौँ सबै भाई समान हो
भन्दै गरौँ न लौ साँचो घोषणा दिलबाट यो
फुट्दैनौँ कहिल्यै हामी सबैको एकता भयो ।

सताएका पनि होलान् बलिया कोही भाइले
ठगिएका पनि होलान् भागमा कोही भाइले
मिलाउँ झगडा भाइ बसेर एक ठाउँ यो
गरौँ उद्घोष हाँसेर मतभेद सबै गयो ।

सिँगारौँ घर यो सानो मिलेर सब भाइले
मनभित्र कुनै मैलो न राखौँ अब भाइले
विभेद जति छन् जम्मै हटाऔँ अनि भित्रको
एउटै स्वरले बोलौँ र भनौँ एकता भयो ।

विजयराज भट्टराई
– तनहुँ

मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *