Skip to content

पत्र एक : प्रसङ्ग अनेक

  • by


प्रिय विनोद,

अटुट सम्झना !

यता हामी स–परिवार कुसलमङ्गल छौँ । त्यता तिमी पनि कुसल छौँ र कुसलताका साथ दैनिक जीवनचर्या चलाइरहेका छौ भन्ने कुरामा विश्वस्त हुँदै पत्र लेख्न बसेको छु । निश्चय नै यस पत्रले लामो आयाम लिन सक्छ, धैर्यतापूर्वक पढेर प्रतिउत्तर लेख्ने छौ भन्ने आशामा छु । साथै, यसै पत्रमा अर्को पत्र गाँसिएर आउन सक्छ । अर्कै प्रसङ्ग समेत घुस्न सक्छ । त्यसलाई पढेर पनि तिमीमा एक किसिमको चेतना आउनेछ र गन्दे विगतलाई फ्यालेर नयाँ ऊर्जा प्राप्त हुनेछ भन्ने आश छ । अचेल तिम्रा बारेमा अझ थपिएको छ चिन्ता । शङ्का छ, यत्रतत्र, सर्वत्र । कतै चिन्तामा परेको छ कि ! रोइरहेको छ कि ! भोकै परेको छ कि ! शोकमा डुबेको छ कि ! कर्तव्य पथबाट चुक्दै छ कि ! घरपरिवार समझेर आफ्नो जीवनलाई धिकार्दै छ कि ! रहरलाई तिलाञ्जली दिएर वाध्यताको शिकार हुनु पर्दा असहजताको महसुस गर्दै छ कि ! जीवनको अध्याय यसै गरी पल्टाइरहनु पर्ला कि भन्ठान्दै छ कि !

हेर विनोद ! कुरा थरिथरिका आउँछन् । शङ्काआशङ्काले डेरा जमाउँछन् । प्रतिकूल परिस्थिति भएका बेला चिन्ता हुनु, चिन्ता लिनु स्वभाविक हुन्छ । चिन्ताले चिताको बाटो देखाउँछ भन्ने त थाहै छ सबैलाई । परिवारको एक्लो छोरो हुनुमा कत्रो अङ्कुस लाग्दो रहेछ भन्ने कुरा आज मलाई वोध भइरहेछ । सन्तानको सुखमा नै बाबुआमा मख्ख पर्दा रहेछन् । सन्तानको इच्छा पूर्तिमा हर्दम चिन्तनशील बन्दा रहेछन् । एक पुत्रीको पिताको नाताले म समेत यदाकदा यी र यस्तै अनुभूतिहरू गर्ने गर्छु । जीवन बुझ्ने सम्बन्धमा म त शैशवास्थामा नै छु । अझ उमेरले त तिमी काँचा छौ तर संसार खाएको परिप्रेक्ष्यलाई हेर्दा पाका छौ । हामीले के नै बुझेका छौँ र यस रहस्यमय संसार र जीवनका वारेमा ! बुझ्दै जाऔँ, सम्झदै जाऔँ । जब बुझ्दै गइन्छ, सम्झदै गइन्छ, अपार आनन्द पाइन्छ । संसारमै सुखको स्वर्ग देखिन्छ । त्यसैले त संसारबाट अन्त कतै नजाऔँ भन्ने लोभ जागेको हो नि । आज पनि हामी सबैभन्दा बढी मर्नु पर्ला कि भनेर डराउँछौँ । त्यस पछि भने दु:ख पाउँला कि भनेर डराउँछौँ ।

विनोद ! हामी अर्ति लिनभन्दा कयौँ गुणा दिन सिपालु छौँ । यहाँ पनि म एक उपदेश बन्न लागेँ कि भन्ने डर मान्दै छु । ठूलाले सानालाई लेख्न बस्दा यस्ता गुण नआईकन कहाँ छाड्दा रहेछन् र ! पारिवारिक जमघट वारे यथार्थ वस्तुस्थिति प्रेषण गर्ने ध्येयका साथ लेख्न त बसेँ तर परीधिका कुरा आएर अरू विश्रृङ्खलित अवस्था पार्न पुगेकोमा म स्वयम् चकित भएको छु । यस खाले सिलसिलालाई तिमी स्वयम् छानविन गरी बुझ्ने छौ भन्ठान्छु । विनोद ! तिमी धन कमाउन कतार भासिएको वर्ष चारेक भयो क्यार । यस बीचमा तिम्रो सम्झनामा प्रत्येक दशैँ, प्रत्येक तिहार र त्यस्तै चाडपर्व–समारोहमा परिवारजनका आँखाबाट कति आँसु बगे होलान् ! के तिमी हिसाव लगाउन सक्छौ ? अवश्य हिसाव गर्न वा लगाउन नसकिएला । अझ थप आँसु बगिरहेछ, अझ थप पीडा भइरहेछ, थप बोझ थपिइरहेछ । र, पो म पत्र लेख्न बसेको छु । तिम्रो दिमाखमा लागेको चोटको वर्णन गर्ने सामथ्र्य त मेरो छैन तर तिम्री मुमाको मनको वह भने राम्ररी देखेको छु, राम्ररी सम्झेको छु । हो, त्यही आज खोलेर लेख्ने ध्याउन्नमा छु । हेरौँ, कहाँसम्म सफल हुन्छु ।

पत्रमा महाभारत नै उल्टेर आएछ भनेर चाहिँ तर्सने काम बन्दै नगर । किनभने जीवन नै पर्वत हो । पर्वत हुन सके मात्र तुसारो पनि सहन सकिन्छ, मुसाले कोतर्दा पनि सहन सकिन्छ र प्रचण्ड सूर्य–तापले सताउँदा समेत ठाडो शिर लगाएर उभिन सकिन्छ । आफूलाई बुझ्न अरूलाई पनि बुझ्न जरुरी छ । जसले अरूलाई बुझ्न सक्छ, त्यसैले आफूलाई सजिलै बुझ्न सक्छ । जीवनमा गल्ती गर्नेहरू धेरै छन् । सुर्धेका भने थोरै छन् । बाँचेका मान्छे धेरै छन् तर आफूलाई चिनेर बाँचेकाहरू चाहिँ थोरै छन् । कसैको धोकामा आफूलाई गलाउने र जलाउनेहरू धेरै छन् । तर, जीवनलाई सङ्घर्षको पर्यायका रूपमा हेरेर नवजीवन धारण गर्नेहरू चाहिँ एकदमै कम छन् । शोकलाई शक्तिमा बदलेर, जोसलाई होसमा रूपान्तरण गरेर जसले जीवनरथ हाँक्न सक्यो उही सफल भएको मानव इतिहास हामी सामु छ । रमाइलो र सुखी संसारलाई निरस र दु:खी बनाउने हक प्रकृतिले हामीलाई दिएको छैन । यिनै कुरालाई हृदयंगम गर्दै ती थोरै मध्ये एक तिमी हुनेछौँ भन्ने कुरामा हामी विश्वस्त छौँ । हाम्रो विश्वासमा तुषरापात नहोस् । अब, अरू आँसुको दह बारिन नदेऊ । तिमी आँटिलो भयौ, तिमी सहासिला भयौ र विगतबाट शिक्षा लिँदै वर्तमान पढ्न थाल्यौ भने यत्रतत्र खुशी नाच्छ । आसु खस्ने ठाउँबाट खुशी वर्षन सक्छ ।

विनोद ! यहाँ मैले लेख्नुपर्ने धेरै कुरा छन् । प्रथमत: यी अरूका कुरा पढ र आफूले तय गर्नुपर्ने राजमार्ग स्वयम् निर्धारण गर भन्दै म भने तिमीलाई छाडेर केही बेरका लागि परलोकी दाजु र इहलोकी भाइका बीच भएका गन्थनतिर लागेँ । यस पछि तिमीसँग म अक्षर–अक्षर, शब्द–शब्दका साथ अवश्य भेट्नेछु …

प्रिय इहलोकी भाइ प्रताप,

तेरो आगमनलाई स्वागत छ !

हेर् भाइ ! म तेरो भाषा जान्दिनँ तर तँसँग मनका कुरा नसाटीकन भएको छैन । मैले १६, १७ वर्ष लगाएर तेरो भाषा सिक्न खोजेँ तर अझै सिक्न सकेको छैन । निमुखा वर्गको मुखुण्डो लगाएर उनीहरूको समूहमा मिसिएर तेरो इलाकामा प्रवेश गर्न चाहन्थेँ । न मनको इरादामा सफल भएँ न तेरो भाषा नै जान्न सकेँ । सर्वसाधरणले बोल्ने भाषा भने सिकेँ । हो, त्यही भाषामा आज म मनका कुरा प्रकट गर्दै छु । गरिखाने वर्गसँग धेरै घुमियो, हेलमेल बढाइयो । तिनीहरूबाट जे सिकियो, त्यो नै मेरा लागि पर्याप्त भयो । तेरो नजिक पुग्ने ठूलो रहर थियो, अझसम्म अधुरो र अपूरो नै रहेको छ । तेरो हात समाउने धोको थियो, तँसँग गला मिलाउने मन थियो । नजिक, नजिक पुगेँ तर तेरो इलाकामा प्रवेश गर्ने हिम्मत जुटाउन सकिनँ । त्यसबेला तँ कत्रो र कस्तो थिइस् भन्ने कुरा ओकल्न मैले अतीतको पात्रो उल्टाउनुपर्छ । मैले ती पाना उल्टाउन थालेँ भने अवश्य तँलाई वोध होला । अहिले नै त्यो रहस्य खोल्ने पक्षमा छैन । पहिले खुशीका कुरा त लेखूँ, वर्तमानका कुरा ओकलूँ अनि विस्तारै–विस्तारै अतीततर्फ फर्कूंला । अतीतमा जानुको अर्थ भविष्यको चक्कर लगाउनु पनि हो । भविष्यको चक्कर नलगाईकन अतीततर्फ फर्कनुको कुनै मूल्य छैन । मेरा लागि चाहिँ जे भो, राम्रै भो । यो हुनु नै थियोे, अति नै राम्रो भयो । किनभने तँ पनि हाम्रै हुने भइस् । तँ अछुत भइरहलास् कि भन्ने ठूलो त्रास थियो । अब त्यसबाट मुक्त भइयो । हाम्रा लागि तँ नालायक बनिनस् । उही ड्याङ्मा फल्ने मूला भए पनि तँ अलग पहिचानबाट त्यस्तो बनिस् । त्यसैले तँ अरूभन्दा विछट्टै लायकको बन्ने भइस् । यहाँ तेरो विशेष मूल्य छ, विशेष सम्मान छ ।

हेर् इहलोकी भाइ ! यत्तिखेर मेरो राज्यमा दशैँ आएको छ, होली लागेको छ । सर्वत्र खुशी छाएको छ । आनन्द बर्सेको छ । रातको गन्ध छैन, दिनको मात्र सुवास फैलिएको छ । तेरो स्वागतार्थ चारैतिरै द्वार बनाइएका छन्, ध्वजापताका लगाइएका छन् । मेरो राज्य दुलहीझैँ सिङ्गारिएको छ । तेरो आगमन हुँदै छ भनेर सर्वत्र झ्याली पिटिएको छ । सजावटमा ठूलो धनराशी खर्चिइएको छ । कर्मचारीहरू रातोदिन खटेका छन्, डटेका छन् । प्रत्येकको मुहारमा मुस्कान मात्रै भेटिन्छ । तँ त यहाँको हिरो होस्, अनमोल रत्न होस् । तेरो आगमनको सूचनाले मात्रै पनि पूरै राज्य जगमगाएर उठेको छ । एक प्रकारले ‘अतिथि देवो भव:’को ध्वनि गुञ्जिएको छ । सायद पर्यटकहरूलाई डाक्न तँ पनि त्यसै भन्थिस् होला ।

हेर् भाइ ! तेरो आगमनको खबरले यहाँको व्यवस्थामा सुदृढीकरण हुने आश जागेको छ । नचिताएको फल प्राप्त हुने सम्भावनालाई कसैले रोक्न नसक्ने भएको छ । तँ मलाई अराजक तत्व ठान्दै नठान । म कतैबाट सञ्चालित छैन । म मेरै मनबाट सञ्चालित छु । म आफूभित्रकै भावना मात्रै ओकल्दै छु । पहिलो पटक तेरो निर्णय सुन्दा त खुशीको सीमा नै रहेन । आफ्नो खुट्टा आफ्नो राज्यमा छँदै छैन जस्तो महसुस भयो । हेर्, यत्तिखेर म शब्द हराएको अवस्थामा छु । साह्रै खुशी भएका बेला होस् या अघोरै दु:खी भएका बेला होस्, शब्दविहीन अवस्थामा पुग्नु मानवीय स्वभाव हो, क्यारे । निमुखा वर्गको सङ्गत गर्दा–गर्दा ममा पनि त्यो गुण सरिसकेको आभाष भएको छ । यत्तिखेर महसुस हुन गएको अघोरै खुशीको अवस्थालाई पचाउन नसकेर म पागलले नाचेजस्तै नाचिरहेको छु । मेरा चण्ड, मुण्डहरू झुमिरहेका छन् । म भने घुमिघुमी नाचिरहेको छु । सबैभन्दा ठूलो चिन्ता तेरै थियो, अब भने त्यो भाग्यो । तँ हाम्रो साथमा भए पछि, सायद यस्तो चिन्ता कहिल्यै लिनु नपर्ला ।

भाइ ! तँलाई ख्याल नहोला तर मलाई पूरापूरी ख्याल छ । तैँले त्यस राज्यमा केके गरिनस् ? कपुरी ‘क’ समेत नजान्ने मान्छेलाई कस्तो बनाइस् ! अरू मान्छेका सामु शिर ठाडो पार्न नसक्ने निमुखा बबुराहरूलाई कहाँबाट कहाँ पु¥याइस् ! हकअधिकार भनेको कुन चरीको नाम हो, पत्तो हुँदै नभएका मान्छेलाई आफ्नो मात्र हैन अरूको समेत अधिकारको वकालत गर्ने बनाइस् ! मेरो हेराइ र मूल्याङ्कन सुन्न चाहन्छस् ? त्यसबेला म तेरो इलाकामा प्रवेश गर्न नसकेको रहस्य जान्न चाहन्छस् ? पर्खी म पात्रो उल्टाउँदै छु । एकएक विवरण मेरो पात्रोमा सुरक्षित छ । तेरा साराका सारा मान्छेका नालीवेली मसँग सुरक्षित छ । तँसँग भएका विवरण त धमिराले खाएर सिद्धिए रे । ती रेकर्ड राखिएका दराजहरू पनि मक्किएर, धुलिएर दाउरामा परिणत भए रे । तिनै दाउरा बालेर तैँले चियापान गरिस्, गराइस् रे । म त प्रसन्न भएँ । यत्तिखेरको तेरो चर्तिकला बुझेर, सुनेर र गुनेर मलाई सहिनसक्नुको आनन्द भइरहेछ । मेरो मुण्डेले बेलाबेलामा त्यहाँको खबर ल्याइरहेछ । दिनदिनैको तेरो खबर प्राप्त भइरहेछ ।

अँ त इहलोकी भाइ प्रताप ! म अतीतको पात्रो उल्टाएर कुरो गर्दै थिएँ । ती अन्धालाई, ती लङ्गडालाई, ती लाटालाई तँ खुरुखुरु आँखा बाँड्दै थिइस्, बैसाखी बन्दिदै थिइस्, आवाज भइदिँदै थिइस् । म भने निरीक्षण गरिरहेको थिएँ, दाउ हेरिरहेको थिएँ । मौका मिल्नासाथ चिलले चल्ला टिप्न झम्टेझैँ झम्टने सुरमा थिएँ । म त्यो बैसाखी भाँच्न उद्यत हुँदै थिएँ, आवाज अवरुद्ध पार्न कम्मर कस्दै थिएँ । न्वारानदेखिको बल झिकेर काम गरेँ । हातमा पर्यो शून्य ! मापाको रै’छ यो इहलोकी भाइ त भन्दै आफ्नो योजना संशोधन र परिमार्जन गर्नतर्फ थालेँ । तैँले बाँडेका आँखा पाएर, तैँले बन्देको बैसाखी समाएर, तैँले भरिदिएको आवाज लिएर तेरा मान्छेले केके गरे, गरे ! मेरो त सातो पुत्लो उडाए । सात जन्ममा पनि तँसँग भेट नहोलाजस्तो पारे । कोही गलामा कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै रनबन डुल्दै थिए । कोही चारैतिर ‘हामी निरङ्कुशताका कैदी होइनौँ, स्वतन्त्रता, समानता र न्यायका सिपाही हौँ’ भनेर नारा लेख्दै थिए । पाखा–पखेरा, लेक–बेँसी, हिमाल–पहाड–तराई चारैतिर महासङ्ग्रामको शङ्खनाद फुक्दै थिए । जनताले शासन पाउने दिन टाढा नरहेको फलाक्दै थिए । ‘दास बनेर रहँनौँ, मालिक बन्न दिँदैनौँ’ भन्दै थिए । ‘तिमीलाई तल झर भन्दैनौँ, हामी त्यहाँ नपुगी छाड्दैनौँ’ भन्ने सुनाउँदै थिए । चारैतिर होससहितको जोस फैलिएको थियो । रातोदिन दत्तचित्तले रणमैदानमा खटेका थिए । ठूल्ठूला सपना सजाएका थिए । तिनै सपना बाँड्दै थिए । जागरणको महाअभियानमा सरिक हुँदै थिए । विपक्षीलाई सोत्तर पार्न उद्यत थिए । आफू सोत्तर हुने चिन्ता थिएन । वर्गमुक्ति नै अभीष्ट थियो । आम मान्छेभन्दा धेरै माथि उठेर काम गर्दै थिए । तँ पनि बेलाबेलामा तिनीहरूलाई खुराक पिलाउँदै थिइस् । त्यस वेला तँ विल्कुलै शुद्ध थिइस् । तँ अमृतको घडामा डुबेर निस्केजस्तो थिइस् । तेरो इमान्दारिता र त्यागको जताततै उच्च मूल्याङ्कन थियो । त्यसैले जताततै शुद्धता थियो । बुझ्, शुद्ध मान्छेका सामु क्षणभर उभिँन पनि अशुद्ध मान्छेलाई गाह्रो हुन्छ । तँलाई देख्दा मलाई लाग्थ्यो– तँ बडो कष्टका साथ समुद्रबाट ल्याइएको मणि नै होस्् । त्यस्तो मणि जसले धेरै हण्डर खाएको छ, धेरै चोट सहेको छ । धेरै पटक माछाको पेटमा पुगेको छ, गोहीको बङ्गाराले चपाएको छ । तर न माछाले पचाउन सकेको छ, न त गोहीले फोड्न सकेको छ । त्यस्तो मणि जसले माछाको पाचन सामथ्र्य असफल पारेको छ, गोहीको बङ्गारा भाँचेको छ । म तँलाई त्यही मणि होस् भन्ठान्थेँ ।

भाइ ! के भनूँ र ! तेरो शुद्ध आवाजले मेरा कानका जाली फुट्थे, फुट्थे तर गोडाले समेत काम गर्दैनथे । तेरो निश्चल हृदयको स्पन्दन र आभाले गर्दा मेरो चेतनाले ज्योति गुमाउँथ्यो । तेरो हिँडाइको चालढाल देख्दा मलाई पक्षाघातले सताउँथ्यो । भुलबस तेरा सामु परिहालेँ भने म नून खाएको कुखुरो नै बन्थेँ । विपक्षी भनेको त निमुखो पो रहेछ भनेर मलाई छाड्दिन्थिस् । म धेरै पटक तेरो हातबाट बचेको छु । त्यत्तिखेर तैँले मलाई चिनेको हुँदो होस् त पछारेर घोक्राको रगत पिउनेथिइस् । फेरि मैले विष्णु नजिक स्पष्टीकरणको लामो वयान दिनुपथ्र्यो । फेरि मैले दयाको भीख माग्नुपथ्र्यो । पदीय मर्यादा र जिम्मेवारी भुल्नेछैन भनी कान पक्रनुपथ्र्यो । धेरै पटक तैँले मलाई बचाएको छस् । मप्रति दया देखाएको छस् । मेरो छद्मी रूपलाई चिन्न भुलेको छस् ।

इहलोकी भाइ ! जब म तेरो पञ्जाबाट फुत्कन सफल हुन्थेँ, धोती न टोपी भएर दौडिन्थेँ । तेरो आँखाबाट ओझेल भएपछि मन खोलेर तँलाई सराप्थेँ । त्यसबेला मैले दिने गरेको श्राप सुन्छस् । सुन्, म भन्थेँ– थुक्क इहलोकी भाइ ! तेरो बुद्धिमा कीरा परोस् । तेरो पार्टीमा मेल नरहोस् । झेलैझेलले वास गरोस् । तेरो मति भ्रष्ट होस् । पद र पैसाको हावाले तँलाई नराम्ररी छोओस् । तेरो जरो उखल्न अरू कसैको सामथ्र्य छैन, तँ स्वयम् र तेरा आगोपाछेहरू उद्यत होऊन् । तेरा मान्छे जसले हाँसीहाँसी मृत्युवरण गरे, तिनीहरूका सपनाको तँलाई ख्याल नरहोस् । तेरो दिमाखमा सम्झनुपर्ने अतीतको पनि याद नआओस् । वैयक्तिक स्वार्थ र पारिवारिक मोहले तेरो दृष्टि गुमोस् । तेरो देनको अवमूल्यन गर्ने सामथ्र्य कसैको छैन । तँ स्वयम् त्यस कार्यमा उद्यत बनेस् । तिमरूले बनाउने मूलविधानमा ‘महासङ्ग्राम’ भन्ने शब्द नै नपरोस् । महासङ्ग्रामका ठाउँमा ’उद्दण्ड मनस्थितिका केही मान्छेले आतङ्क मच्चाए, मच्चाए, मच्चिन छाडेपछि ती स्वयम् थच्चिए’ भन्ने आशयको कुरा परोस् ।

हेर भाइ ! त्यसबेला मैले त्यस्तो श्राप किन दिएँ ? किन म तेरो जरो उखेल्न खोज्थेँ ? त्यसको पनि कहिरन सुन्न चाहन्छस् भने सुन्– तेरा मान्छे मर्थे, मारिन्थे । विपक्षी पनि मथ्र्यो, मारिन्थ्यो । प्राकृतिक ढङ्गले मर्नेका बारेमा मैले केही भन्नु थिएन । ती सन्तुलित ढङ्गका भएर हामीकहाँ पुग्थे । रणमैदानमा मर्नेहरू चाहिँ साह्रै कडा मिजासका हुन्थे । त्यस राज्यमा प्राप्त नभएको अपूरो र अधुरो अधिकार यस राज्यमा लिन खोज्थे । मलाई परलोकगद्दी छाड् भनेर दबाव दिन्थे । हाम्रो राज्यको विधान बमोजिम दण्ड दिन खोज्दा, दण्ड हामीलाई होइन उनीहरूलाई दिनू भनेर विपक्षीलाई देखाउँथे । विपक्षी पनि जहानपरिवार पाल्न मालिकको आज्ञा शिरोधार्य गरेको मात्र हो भन्थे । केही दिनसम्म त दुबै थरी बीच भनाभैरी हुन्थ्यो । पछि दुबै थरी मिली मेरै विरुद्धमा पो नाराबाजी गर्न थाल्थे । यता आउनेहरू सबै निमुखा वर्ग नै हुन्थे । दुबैको वर्ग एउटै हुन्थ्यो । त्यहाँ पो मालिकका कारणबाट विभक्त थिए त ! यहाँ सबै एक समान भए । त्यसैले तिनीहरूमा फुट ल्याउन सम्भव भएन । परलोकको संविधानअनुसार तिनीहरूलाई सजाय दिनु त कता हो कता आफ्नै गद्दी बचाउन धौधौ पर्न थाल्यो । चण्ड, मुण्ड लगायतका उच्चस्तरका कर्मचारीले दवाउन निक्कै प्रयत्न गरे तर तेरा मान्छेले उल्टै दबाउन थाले । कारण के थियो भने– ती सबैको मन एक थियो, विचार एक थियो, स्वर एक थियो । मुख र व्यवहारमा एकरूपता थियो । कार्यमा पारदर्शिता थियो । मनमुटावको रत्तिभर गन्ध थिएन । उनीहरूको शरीरमा इमान्दारिताको रगत बगिरहेको थियो । अहङ्कार, मोह, लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, इष्र्या, कलुषितभाव, कामेच्छा, मद, मात्सर्य, दुष्टता, पापाचार, दुराचार, अनाचारजस्ता कुभावनाको लेस थिएन । यहाँ आइपुगेको एउटा मान्छेको नाम भने भुल्न चाहेर पनि कदापि भुल्न सक्दिन । त्यो मान्छे कविता लेखिरहन्छ । त्यो ‘इच्छुक’ भन्ने मान्छे हो । त्यो हाँसीहाँसी रुवाउने र नम्र बोलीले नै हाम्रो मुटुकलेजो चट्टै काट्ने खरो र दह्रो मान्छे रहेछ । अँ साँच्ची, त्यसले सुनाएको एक टुक्रो कविता तँ पनि सुन्छस् ? सुन–

उठ् भन्यौ, उठेँ
बस् भन्यौ, बसेँ
हिँड् भन्यौ, हिँडेँ
मेरो मालिक !

जब बुझेँ मैले तिम्रो कालो रीतिलाई
अपमानले तल निहुरिएको मेरो शिर
आज स्वाभिमानले माथि उठाएँ मैले
फाल्नुपर्ने त कालो प्रथा रहेछ
मिल्काउनुपर्ने त दुष्ट चाला रहेछ
जब बुझेँ मैले बुझ्नैपर्ने कुरा
मेरो मालिक !

तिम्रो आज्ञालाई तिरस्कार गरेँ मैले
आज सिनो फाल्न अस्वीकार गरेँ मैले ।

हेर् भाइ ! त्यसका कुराले पो मलाई सबैभन्दा बढी गाल्न पुग्यो । त्यसको सामु अडिन नसकेर म पग्लन थाल्थेँ । त्यस खाले मान्छे दर्जनका दर्जन मकहाँ थिए । अझ ५/७ दर्जन थपिने हो भने परलोक नै कब्जा गर्लान् कि भन्ने त्रास भयो मलाई । त्यसैले महासङ्ग्राम तुहाउन म तेरो लोकमा पुगेको थिएँ त्यसबेला । म आफ्नो कार्यमा कामयावी हुन सकेको भए यस्ता खरा र ज्याद्रा फलामे मान्छेहरू मेरो लोकमा आउने थिएनन् । आए पनि ढोँगी, स्वार्थी, सङ्कीर्ण, आडम्वरी, लुच्चा, लफङ्गा, स्वार्थी, निर्घिणी, कामचोर, दलाल, भष्ट्राचारी, द्रव्यपिपासु भएर मात्रै आउने थिए । ती दासमनोवृत्ति भएकाहरूको लाइनमा पर्थे । एकाध असल पुगे पनि अल्पमतमा पर्थे । तह लगाउन सजिलो पथ्र्यो । हजारौँको सङ्ख्यामा पुग्दा पो परलोक नै त्राहीमाम भएको हो त ।

ल त इहलोकी भाइ प्रताप ! अब भने म धेरै लेख्दिनँ । त्यस बेला मैले दिएको श्राप अहिले बरदान रूपमा स्वीकार गर्न थालेको रहिछस् । अब मेलको हैन झेलको राजनीति गर्न थालिछस् । जुटेर हैन, फुटेर हिँड्दा भविष्य देख्ने भइछस् । ताता गोली निलेका र रगत चढाएकाहरूको बलिदानीलाई माटोमा मिलाउन थालिछस् । तिनीहरूको सपनाको आडमा झुटको व्यापार गर्न पल्किछस् । पहिले आफूले बाँडेका सपना, विपना हुनै नसक्ने सपना मात्रै हो भन्न थालिछस् । गुलियोमा मज्जाले भुलिछस् । मन मैलो भएका हिजोका शत्रुसँग अचाहिँदो हिमचिम बढाउन पुगिछस् । तेरा यी क्रियाकलापले गर्दा हामीकहाँ आइपुगेका तेरा पुराना मान्छेहरू गहभरि आँसु बनाउँदै झोक्राएर बस्न थाले । चेतना शून्यताको अवस्थामा पुग्न थाले । अझ तँ आउने सूचना थाहा पाए पछि ‘हाम्रो मुलुक टुहुरो हुने भो’ भनेर अत्तालिरहेका छन् । कोहीकोही त डाको छोडेर रुन, चिच्याउन थालेका छन् । परलोकको संस्कृति लागू गर्न सहज हुन थालेको छ । किनभने अरूलाई यहाँ हाँसो वर्जित छ, आँसु प्रसादसमान मानिन्छ । उनीहरूको यस्तो दयनीय अवस्था देखेर पनि परलोक आनन्दले झुम्न थालेको छ । तेरो आगमनको भव्य तयारीमा जुटेको छ ।

अँ त भाइ ! यस पत्रको जवाफ फर्काउने झण्झटमा बन्दै नपर्नू । बरू चाँडो–चाँडो अंशबण्डा गरिहाल्नू । मीठोमसिनो आ–आफ्नो भागमा पार्ने रणनीति लिनू । त्यसपछि एकले अर्कालाई प्राकृतिक शत्रुका रूपमा हेर्नू । विवेकलाई बन्धकीमा राखेर मारकाट गर्नू । सके मार्नू नसके आफैँ मर्नू । सके सोत्तर पार्नू, नसके आफैँ सोत्तर हुनू । म बाटो कुरेर बसेको छु । यी कामहरू तुरुन्तको तु. गर्नेछस् र परलोकको अराजकता हटाउन नेतृत्वदायी भूमिका खेल्ने छस् भन्ने आशा र भरोसा सहित पत्रान्त गर्दछु । तेरो बुद्धिको भाँडोमा प्रवेश भएको विषालु कीरा कहिल्यै नमरोस् । मेरो आशीर्वाद सधैँ लागिरहोस् । धन्यवाद ! …

प्रिय विनोद, अब भने म त्यो लहरो छाडेर तिमीकहाँ आइपुगेको छु । अहिले मैले नसमेटिकन नहुने कुरा सार्वजनिक सरोकारको विषयवस्तु नहोला तर नितान्त वैयक्तिक पनि छैन । यसखाले पीरमार्का तिम्रा, हाम्रा मात्र नभएर यस जगत्कै हुन् । जगत् त भन्छ– चर्केको मुटु तन्दुरस्त हुन्न, स्वस्थ बनाउने ओखती छैन । बुझ, सधैँ यही सिद्धान्त लागू हुन्छ भन्ने छैन । हुनुपर्छ भनेर अडान लिइरहने हो भने हामी अग्रगामी पथका अनुयायी हैन, अधोगतिका हिमायिती हुनेछौँ । कतिपय कुरा खुलाउन साह्रै गाह्रो पर्दो रहेछ । सायद जीवनको तीतो पाटो उदाङ्गो पार्न सकस पर्छ क्यारे । हेर, म त दुईचार अक्षर पढेको मान्छे हुँ तर परेको मान्छे होइन । त्यसैले सिद्धान्त जानूँला, व्यवहारमा उत्तानो टाङ्ग लगाउँला । तापनि भनिरहेछु, कर्तव्य वोध गराइरहेछु– तिम्रो एक मुस्कानमा सात दिनसम्म आनन्दानुभूति गर्नेहरू तिम्रै परिवारजनमा छन्, तिम्रो एक सहासिलो निर्णयमा जुनी सफल भएको ठान्ने पनि यतैउतै छन् । तिमी दु:खमा छौ कि, सन्तापमा पिल्सिरहेका छौँ कि भनेर आधा रातमा बिउँझेर चिन्ता मान्ने पनि छन् । अझ तिमीसँग केही दिन बोलचाल नै बन्द भयो भने हरपल तिम्रै कुरा गर्ने गरेको पनि सुनेको छु । तिम्रै फोटो अगाडि उभिएर ‘हे ईश्वर ! मेरो छोराको रक्षा गर !’ भनेर अमुक ईश्वरलाई पुकारा गरेको पनि देखेको छु । जीवनलाई एक्लो र विरसिलो ठान्नेहरू पलायन हुँदै गएका छन् । जीवनलाई अहङ्कारको चालक बनाउनेहरू समेत मानवीय पङ्क्ति छाडेर दानवीय पङ्क्तिमा उभिन पुगेका छन् । कति यस्ता कुरा छन् जसलाई समेट्न नसकिने रहेछ । कति यस्ता कुरा छन्, जसलाई शब्दमा उल्लेख गर्न नसकिँदो रहेछ ।

जानिफकार भएका हैसियतले तिमी स्वयम् ती अमुक र अव्यक्त कुराहरू बुझ्नेछौ र मनमा लागेको ठेसलाई सहज तवरले लिँदै जानेछौ भन्ने आशामा छु । हातमा कलम भएकाले छुच्चो भएर एकाध कुरा बाँड्न पुगेँ । यसबाट सकारात्मक प्रभाव सम्प्रेषण भएछ भने धन्य ठान्नेछु । नकारात्मक तर्फ फर्किएछ भने जीवन पनि एक खेल हो भनेर स्वयम् चित्त बुझाउनेछौ भन्ने विश्वासमा रहँदै प्रतिउत्तरको अपेक्षा सहित पत्रान्त गर्दछु । धन्यवाद !

तिम्रो शुभचिन्तक

नलाआ ‘अक्षान्त’

नन्दलाल आचार्य
राजविराज–९, देव निवास, सप्तरी
२०६८।१०।२५ गते बुधबार, रातको ११:३० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *