पुरानो ग्राभेलिङ् गरेको सडकको बाटोमा म सधैँजसो एउटा पुरानो स्कुटी हाँकेर अफिस जाने गर्थें । चौबाटो सडकको पल्लो छेउमा पिपलको रुखमुनि हसिलो अनुहार गरेकी एउटी बुढी आमा (सायद उमेरमा त्यति बुढी होइनन कि ?) उनलाई हेर्दा येस्तो लाग्छ कुनै पिर चिन्ता नै छैन । एउटा पोकोमा अडेस लगेर सधैजसो बसिरहेकी हुन्थिन । मैलो टालेको कपडा लाएकी छेउमा प्लास्टिकको झोलामा केही फ्याकेका कपडाहरू, बासीभात पाउरोटीका टुक्राहरू छेउमा राखेकी हुन्छिन । सायद भोलिलाई खान साचेकी होलिन् । छिन-छिनमा कुकुरहरू पोकामा खानलाई झम्टेर तिनलाई खेदाउदै गरेको दृश्य हेरिरहन्छु । आजसम्म कसैसँग माग्दै गरेको देखेकी पनि छैन ।
जाडोको मौसम सुरु भैसकेको छ । ज्याकेट टोपी मोजा पन्जा लाउदा पनि थामी नसक्नु ठिही छ । हात बाहिर निकाल्नै सकिन्न । मुस्किलले अफिसबाट स्कुटी हाँकेर घरतिर लागेँ ।
चौबाटोमा पुगेपछि मेरा आखा अनायासै ती बुढी आमातिर पुगे । एउटा पातलो प्वाल परेको ओड्ने ओडेर खाली भुइमा सुतिरहेकी थिइन । उनको हात कापिरहेको परैबाट देखें । यत्तिकैमा अर्को गाडीले छेक्यो । उनी मेरो आखाबाट ओझेल परिन । म सरासर घर पुगेर सबै झ्याल ढोका बन्द गरेँ, तात्तातो चिया बनाएर पिएँ । अझै पनि मुटु कापिरहेको थियो । बाहिर हुस्सु लागेर केही नदेखिने भैसकेको थियो टिभी खोलें ।
समाचारमा भनिरहेको थियो -“यस बर्ष ठण्डीले रेकर्ड तोद्यो जसको कारण १५ जनाको मृत्यु भयो ।”
अचानक ती बुढी आमालाई सम्झें दराजबाट एउटा पुरानो कम्बल झिकेर डिकीमा राखें ।
भोलिपल्ट बिहानै उठेर टिभी खोलें । समाचार पढिरहेको थियो । म त्यही पुरानो बाटो हुदै हुदै चौबाटोमा पुगें र रोकिएँ । बुढी आमालाई खोजें तर कतै देखिन । प्लास्टिकको झोला पोको त्यहीं थियो । दुई चक्कर लगाएँ, यताउती खोजें कतै देखिन । खुट्टाले एक्कासी ब्रेक लगायो । सम्झेँ हिजो राति टेलिभिजनको समाचार । भारी मन लिएर अफिस पुगें ।
त्यो दिनबाट आजसम्म मलाई त्यो चौबाटोको भएर कहिल्यै अफिस जाने हिम्मत आएन । पुरानो कम्बल मैले गाडीको डिकीबाटबाट अझै झिकेको छैन । मलाई अफसोस छ अघिल्लो रात नै म किन फर्केर आउन सकिन ? मनभित्र एक प्रकारको आत्माग्लानी भइरहन्छ ।
लीला रिजाल
