स्वागत छ आफ्नै घर

  • by


डाँफे गीत मधूर, सुनाउँछ जहाँ, डाँडा पखेराहरु,
झ्याउँकीरि कराउँछन् रातमा, दिन्‍मा चखेवाहरु,
टल्कन्छन् टलक्क हिमाल चुचुरा अग्ला ति कैलाशमा,
झुल्कन्छन् रवि पूर्वमा दिइ छटा, नेपालका गाउँमा ।

हाम्रा ताल, नदी, पहाड हरिया, भन्ज्याङ्ग सोताहरु,
छन् राम्रा झरना, बगेर शिरमा, खूशी यि खोंचाहरु ।
आँखाले पनि देख्दछन् पर अझै, ती सम्म वारीहरु
ठूला जङ्गल सालका लदवदी, बाक्ला ति घारीहरु ।

सुनिन्छन् धुन त्यै संगीत रसिला, शेलो तथा झ्याउरे,
देखिन्छन् लहरा झुलेर वनका, फल्फूल मीठो छ रे,
वाँझो खेत कतै, कतै त नुहेका, वालाहरु वेसरी,
डालीमा वसि गाउने वनचरी, हाँगा र विंगा गरी ।

छायाँ त्यो हिमशैलको गजबको, देखिन्छ तालैभरी
अर्को भूमि कुनै छ की भुवनमा, नेपाल स्वर्गै सरी ।
छन् डाँडा अनि ती हिमाल् लहरमा, मिल्दै बसी सुन्दर ।
टन्नै अन्न फलाउने दछिनका, नेपाल हाम्रै घर ।

दोश्रो जन्म हुने भए म कन यै, नेपालका काखमा
प्राप्तै होस् भनि माग गरछू, त्यै देवका साथमा ।
यस्तो देश नछाड्नु वौदिक युवा, घुम्ने जहाँ जे गर
फर्की आउ कमाइ खाउ खुशिले, स्वागत् छ आफ्नै घर ।

चूडा निर्भीक

शार्दूलविक्रीडीत छन्द
म स ज स त त गु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *