मलाई नखोज्नु
टेलिभिजन, पत्रपत्रिका
रेडियो, अनलाईन
कतै कतै म हराएको सूचना नदिनु
किन थाहा छ?
किनकि म त शहर पसेकी मान्छे
हजारौं टाउकोहरूबीच
ओसिएका दुई आँखा लिई
म भौंतारिएको कयौं दिन भैसक्यो
म आफ्नै गन्तव्य त भेटिरहेकी छुईन
तिमी मलाई के भेट्छौ?
गाउँबाट शहर पस्दा
मेरा आँखाहरूमा इन्द्रेणी सपना थिए
हातहरूमा कमिलाका ताँती थिए
शरीरभरि बास्नादार मह थियो
दन्त्य कथाको राजकुमार झैं
स्वप्निल वायुपखीं घोडामा चढेर आएथें
जब यहाँ आएँ
शहरका भुस्याहरूले
मेरो शरीरको सुगन्धित मह चाट्चुट् पारे
हातहरू चल्न नपाएर
कमिलाहरूको लाश पल्टियो
ईन्धनको अभावमा घोडा
छट्पटिदैं मेरै आँखा अगाडी मर्यो
सलहले झै यो शहरले
मेरो रङ्गिन सपना सखाप पार्यो
परिचय नै हराईसकेको छ
अस्तित्वनै छैन
म बेनाम भएकी छु
अनि बेनामलाई
परिचय नै नभएकोलाई
खोजेर पाउछौ त?
मलाई भेट्छौ त?
त्यसैले भो दु:ख नगर
जाउ बरु गाउँ फर्क
त्यो बाझों भूमि जोत
उर्वर बनाउ
कमसेकम त्यहाँ मेहनत गर्नेलाई ठाउँ छ
आफ्नै छुट्टै नाउँ छ
पाखुरी बजार्नलाई पहरा छ
प्यासीलाई छहरा छ
रोपे मानो मुरी फल्छ
आँखामा सपना झुल्छ ।
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
