इच्छाहरू भुइदेखि उठेर
घरको धुरीसम्म छुन खोज्थे
इच्छाहरू गर्वित मुद्रामा
आकाशसम्म फड्को मार्न तम्सन्थे
इच्छाहरू आफ्नै लयमा
बिना रोकटोक निरन्तर हिडिरहन खुशी मान्थे ।
केही दिन यता
इच्छाहरूको अवसान भएको छ
इच्छाहरू जिउदा जस्ता लागे पनि भित्रैदेखि मरिसकेका छन्
इच्छाहरू पातमा हरियो सर्न नपाउदै
पहेलिएर झरेका छन् अर्थात् इच्छाहरू बाकस भित्र छन्
इच्छाहरुले यो स्थितिमा आउदाखेरि
बिगतको मुल्यांकन बिर्सिएकाले यसो भएको हो
इच्छाहरू इच्छाहरू बिरुद्दमा उभिदा यो स्थिती आएको हो
इच्छाहरू र इच्छाहरू एक अर्कालाई
होचो पार्ने अभ्यासमा मात्र लाग्दा यो हाल निम्तिएको हो
इच्छाहरुसित मांशल शरीर मात्र छ
अंग, प्रत्यन्ग र इन्द्रियहरू छन्
तर सबै बाटो बन्ध भएको छ
तिनीहरू आफै चल्दैनन्
किनकि, तिनीहरूभित्र इच्छाहरूको अवसान भएको छ ।
इच्छाहरूलाई आफू यो हालतमा छु भन्ने थाहा छैन
इच्छा भइदिनु नै उनीहरूलाई सबै कुरा हो ठान्छन्
भिर, पाखा, हिमाल, पहाड, तराईको पिरसित कुनै साइनो छैन
चिल्लो सडक, भब्य महल, नाता गोता इस्ट कुटुम्ब मात्र आफ्नो मान्छन्
तर इच्छाहरूलाई आफू आसक्तिमै, चर्चामै, मुठभेडमै जिउदै मरी रहेको हेक्का छैन ।
निस्सासिएका निर्दोष मनहरू
शान्ति नपाएर रोएका हृदयहरू
माटो र स्वाभिमान सम्झदै बिलखबन्दमा छन्
अहिले इच्छाहरू र इच्छाहरूको अवसानमा ।
अस्तु :
विवेक दुलाल क्षेत्री “दमक”
दमक, झापा
हाल : अबुधाबी, यु ए इ ।