गर्दिन भनेको काम गर्नु पर्ने, जाँदिन भनेको ठाउँमा जानु पर्ने’ सायद नियति ।
दशक पहिले एक मध्यान्हमा डटपेन, डायरी, सानो थोत्रो टेप रेकर्ड झोलामा बोकेर एक सहयोगीको साथमा पुगेको थिएँ परिचित संगीतकार बुलु मुकारुङज्यूको चाबहिलस्थित निवासमा । पत्रकारिताका ती दिनमा यस्ता भेटघाटको काम बाक्लै हुन्थ्यो उसोर कतिपय भेटघाट केवल ‘जागिरे’ साबित हुन्थे त कति चाहिँ अत्यन्त अर्थपूर्ण र अनुभबको अनुपम संगालो बन्थे । तीमध्ये बुलुजीसँगको भेट पनि एक अहम भेट साबित भएको थियो । जो आज पनि उतिकै सम्झन्छु । भेटमा गीत संगीतका, संघर्षका, अनुभवका र जीवनका अनेक पक्षमा गफिएका थियौं हामी । उहाँकी अत्यन्त मृदु श्रीमतीजी को हातको मिठो चियाले हाम्रो वार्ता झनै लम्ब्याइदिएको थियो । उसो त त्यो अन्तर्वार्ता पनि अरु जस्तै नै थियो तर त्यसमा खास केही थियो र त्यो हो बुलुजी संगीत मात्र गर्ने नभएर लेख्नुपनि हुँदो रहेछ । उहाले आफ्नो लेखनबारे केही प्रस्ट्याउँदै एउटा पुस्तक निकालेर दिनुभयो सुन्दर हस्ताक्षर सहित । र दिनु अघि उहाले उक्त पुस्तकबारे केही चर्चा गर्नुभएको थियो ।
‘जापानको चक्कर’ जस्तो लाग्छ उक्त पुस्तकको नाम । त्यसमा उहाले आफ्नो जापानी बसाइ र करुण भोगाइहरू लेख्नु भएको रहेछ । तय गरिएको भन्दा डब्बल समय निलिसकेर बुलुजीको घरबाट निस्किएँ ‘जापानको चक्कर’ बोकेर । निस्किनु अघि उहाले भन्नु भएको थियो, ” पत्रकार बहिनी ! यो मेरो नित्तान्त नीजि भोगाइको फेहरिस्त हो । यसैका बलमा मेरो आफ्नोपनको सुझाब तपाईलाई यो छ कि ‘सुनौला सपना बोकेर कहिल्यै पराइको दुनियामा टेक्ने सपना नादेख्नुहोला । परदेशको अर्को नाम हो कहर । जो मैले भोगेको छु । तपाई जस्ता मेहनती युवाहरूले यही परिश्रम गर्नुपर्छ र स्वाभिमानी भएर बाँच्नु पर्छ ।”
त्यस दिन डेरा फर्केर बेलुकीका केटाकेटीहरूको होमट्युसन पनि क्यान्सिल गरेर आँखै नझिम्क्याई उक्त पुस्तक पढें । एक त छुट्नु अघि बुलुजीले दिनुभएको सुझाब मनैमा थियो झन् त्यसमाथि किताबभित्र उल्लेख उहाँका साक्षात् भोगाइहरूले हृदयको कुन भित्तामा चिमट्यो कुन्नि, त्यसै बखत मैले मनमनै सपथ लिएको थिएँ कि, “जीवनको कुनै पनि घुम्तीमा कुनैपनि बाध्यताको नाममा नित्तान्त पैसोको खातिर अर्काको चाकरी गर्न भनेर म परदेश लाग्ने छैन ।”
त्यसताका आफ्नै साथीहरूलाई, आफन्तहरूलाई म मौकापर्दा लेक्चर पनि दिहाल्थें कि “चाकरी गर्न परदेश लाग्नु हुन्न । पलायन हुनुहुन्न ।”
सायद समयभन्दा बलवान र बाध्यताभन्दा माथिको निर्देशक कोही हुँदैन । समयसँगै आफ्नै शब्दहरू, सिद्दान्तहरू र हठहरू सुलुक्क कोल्टे फेर्छन र मान्छेलाई एक अनिश्चित सुरुंगतर्फ धकेलिदिन्छन जो अत्यन्त निर्दयी छनोट साबित भैदिन्छ ।
बुलुजीको उक्त मर्मस्पर्शी सुझाब, उक्तपुस्तकभित्रका बयान र मेरा शक्तिशाली आदर्शहरू आज पनि मैभित्र छन् । तर केवल सोकेशमा सजाइएका बहुमुल्य चिजबिज जस्ता मात्र । जो हेर्नमा बडो मज्जा लाग्छन तर जरुरतमा प्रयोगमा आइदिंदैनन् । आज आधा युग परदेशमै चाकरीमै बिताइरहेको यो प्रत्यक क्षण बुलुजी, जापानको चक्कर, त्यो आत्मीय सुझाब र आफ्नै उच्च आदर्श सम्झिरहेको छु । तर केवल सम्झी मात्रै रहेको ‘गर्दिन भनेको काम गर्नु पर्ने, जाँदिन भनेको ठाउँमा जानु पर्ने’ सायद यही होला नियति भनेको ।
