Skip to content

साँचो विकास सहकारीबाट सम्भव

  • by


पृष्ठभूमि

इतिहासका पानाहरू पल्टाउँदा समाजका विभिन्न क्षेत्र र पक्षमा देखिएका समस्याहरूमध्ये प्रायः ठूलोबाट होइन, सानैबाट झाङ्गिएर क्रमशः विशाल भएका देखिन्छन् । चाहे राष्ट्रिय समस्या वा सामाजिक/सामूहिक तथा पारिवारिक समस्या नै किन नहोऊन्– तिनको जड प्रायः सानोबाट सुरु भई क्रमशः विशाल रूप लिँदै ध्वंस–विध्वंसको स्थितिसम्म पुग्ने गरेका देखिन्छन् । यसरी समस्याले सानोबाट पदार्पण गरेर ठूलो रूप लिँदै धेरै किसिमका गम्भीर क्षतिहरू व्यहोर्नु परेको छ । विकासका हकमा भने सरकारको अनुदारवादी चरित्र र जनताको अनुत्तरदायी व्यवहार नै बाधकका रूपमा देखिएको छ । नेपालमा विकास सहकार्यबाट सम्भव छ । अर्को शब्दमा भन्नुपर्दा मिलेर काम गर्नु नै सहकारी हो र यसैबाट विकासले ठोस गोरेटो पक्रन सक्ने आधारहरू छन् ।

सहकारीमा खास गरेर समान उद्देश्य, पेशा, व्यवसाय र वर्गका मानिसहरू सँगसँगै मिलेर आप्mनो आर्थिक तथा सामाजिक विकास गर्ने गर्दछन् । सहकारीका वारेमा समाजशास्त्री एवं अर्थशास्त्रीहरूको मतलाई समेटेर अन्तर्राष्ट्रिय सहकारी महासंघले बेलायतको मेनचेष्टरमा सन् १९९५ को सेप्टेम्वर महिनामा भएको महासभाबाट यसरी चिनाएको छ– ‘सहकारी त्यस्ता व्यक्तिहरूको स्वायत्त संगठन हो जो स्वेच्छिक रूपमा एकजुट भई आप्mना समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता र आकांक्षाहरूको परिपूर्ति संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रूपमा नियन्त्रित व्यवसाय मार्पmत गर्न चाहन्छन् ।’ नेपालको परिप्रेक्ष्यमा हेर्दा परम्परागत रूपमा गुठी, धर्मभकारी, पर्मजस्ता कार्यहरूबाट सहकारी भावना जन्मेको पाइन्छ । एकले अर्कालाई सहयोग गर्दा काम गर्न, गराउन सहज हुने र सामाजिक सद्भाव पनि कायम हुने भएको यसे दिनानुदिन लोकप्रियता कमाउँदै गएको देखिन्छ ।

मूलतः वि.सं. २०१० सालमा सहकारी विभागको स्थापना भएपछि नेपालमा सहकारीको विकासको आधिकारिक सुरूआत भएको हो । वि.सं. २०१३ साल चैत्र २० गते चितवन जिल्लाको राप्ती दूनमा बाढी पीडित जनताहरूलाई राहत पुर्याउने उद्देश्यले ऋण सहकारी संस्थाको स्थापना हुनु नै सहकारी क्षेत्रको पहिलो सोपान थियो । वि.सं. २०१६ सालमा पहिलो पटक सहकारी संस्था ऐन लागू भएपछि सहकारी क्षेत्रले कानुनी मान्यता प्राप्त गरेको होे । यसकै क्रमिक विकासस्वरूप वि. सं. २०४१ सालमा साझा संस्था ऐन लागू भयो । विकासकै क्रममा सरकारद्वारा विभिन्न स्थानमा कृषि सहकारी संस्थाहरूको स्थापना भई कृषि सामग्रीहरू सुपथ मूल्यमा उपलव्ध गराई कृषकहरूलाई सेवा पुर्याउने कार्य हुन थाले पछि सहकारीले व्यापकता पाएको हो ।

सुरूआतका दिनहरूमा सहकारी संस्थाहरू नियन्त्रित र निर्देशित रूपमा सञ्चालित भएको पाइन्छ । त्यसैले यस क्षेत्रले भनेजस्तो सफलता पाउन सकेन । प्रजातन्त्रको पुर्नवाहली सँगै अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई आत्मसात् गरी सहकारी ऐन २०४८ लागू भयो । त्यस ऐनमा “देशका कृषक, कालीगढ, कम पुँजीवाल र निम्न आयवर्ग, श्रमिक भूमिहिन तथा वेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकासका लागि पारस्परिक सहयोग र सहकारिताको आधारमा विभिन्न किसिमका सहकारी संघ संस्थाहरूको गठन र संचालन गर्न सक्ने छन्” भनी उल्लेख गरिएको पाइएबाट पनि नेपालमा सहकारीको आवश्यकतालाई सरकारी निकायले उच्च मूल्याङ्कन गरेको बुझिन्छ । सोही सहकारी ऐनको मर्मअनुसार बनेको सहकारी नियमावली २०४९ लागू भएपछि भने सहकारी संघ–संस्थाहरूले निर्वाध कार्य सञ्चालन गर्न सकेको भेटिन्छ ।

नेपालको आर्थिक रूपान्तरणमा सहकारीले प्रत्यक्ष–परोक्षरूपमा भूमिका खेलेको छ । जब मानिस व्यवस्थित साथ बसोबास गर्न थाले, त्यस बेलादेखि नै सहकार्यको भावना जन्मेको पाइन्छ । ‘एकले थुकी सुकी सयले थुकी नदी’ भन्ने आहान पनि सहकारीबाटै जन्मेको हो । यसले प्रजातान्त्रिक मूल्य र मान्यतालाई अङ्गालेको छ । समानता, सामाजिक न्याय र आर्थिक विकासको साधनको रूपमा सबै वर्ग र त्यसमा पनि खास गरी कृषक, कालीगढ र विपन्न वर्गका व्यक्तिहरूले आप्mनै इच्छाअनुसार सहकारी संस्था गठन गर्न सक्ने र नचाहिंदो किसिमको कुनै पनि बाहिरी हस्तक्षेपविना सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । यसबाट पनि आर्थिक हैसियत बनाउन समूहमा मिलेर काम गर्न सरकारी तवरबाट नै राहत र प्रोत्साहन दिएको देखिन्छ ।

अहिलेसम्म नेपालमा राष्ट्रिय सहकारी संघ लिमिटेड, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लि., नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि., नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि., विभिन्न जिल्लास्थित सहकारी संघहरू (बचत, उपभोक्ता, दुग्ध आदि), बहुउद्देश्यीय सहकारी संस्था, बचत तथा ऋण सहकारी संस्था, दुग्ध उत्पादक सहकारी संस्था, उपभोक्ता सहकारी संस्थाजस्ता विविध प्रकृतिका सहकारी संस्था क्रियाशील छन् । यी सबै संघसस्थाहरू सहकारी सदस्यहरूका लागि सर्वसुलभरूपमा सेवा प्रदान गर्ने तथा वस्तु उत्पादन गरी उपलव्ध गराउने काममा सक्रिय रहनुले पनि आर्थिक रूपान्तरणमा ठोस काम भइरहेको अनुभूत हुन्छ ।

नेपालको समस्या भनेको शिक्षित, अर्धशिक्षित र अशिक्षित बेरोजगारी जनसङ्ख्या अत्यधिक हुनु, देशमा उत्पादित वस्तु तथा सेवाको उपभोगकर्ताको कमी रहनु, श्रमिकहरूले उचित पारिश्रमिक नपाउनु, आर्थिक आम्दानी हुने क्षेत्रमा समेत पुँजी लगानी गर्ने सामथ्र्य भएका ठूला लगानी कर्ताको कमी रहनु मुख्य कोटिमा पर्दछन् । यस किसिमका समस्याहरू हटाई आर्थिकरूपले सक्षम बनाउने काममा समेत सहकारीको योगदान गर्वशाली छ ।

बेरोजगार जनशक्ति नै सहकारी क्षेत्रमा रहन्छन्, आफू स्वयम्ले प्रदान गर्ने सेवा वा उत्पादन गरेका वस्तुहरूको असली उपभोक्ता स्वयम् हुन्छन् । फेरि, एक्लै नभएर सहकार्य गरी संयुक्त पुँजी लगानी गरिने हुनाले कुनै एक/दुई जनालाई आर्थिक भार पर्दैन । यस प्रकार उस्तै साना पुँजी लगानीकर्ताहरू सहकारीका माध्यमबाट विस्तारै विस्तारै आर्थिक रूपान्तरणको दिशातर्फ केन्द्रित हुने गर्दछन् ।

प्राकृतिक साधन र स्रोतले सम्पन्न तर आर्थिक विपन्नताले गाँजेको मुलुकका रूपमा नेपाल चिनिन्छ । यहाँ सस्तो श्रम बजार छ । पुँजी लगानीकर्ता पनि नभएका होइनन् । बेरोजगार जनशक्ति छ्याप्छ्याप्ती छ । आर्थिक विकासमा काम गर्ने सुझबुझको त्यत्रो कमी पनि छैन । बिडम्बना ! कुनै पुँजीपतिले पुँजी लगानी गर्दछ, एकाधीकार कायम गर्दछ र श्रमिकलाई बाँच्न पुग्ने मात्र पारिश्रमिक दिइन्छ । पँुजीपतिले मात्र मुनाफा कमाउने स्थिति छ । हरेक दृष्टिकोणले श्रमिक शोषणमा परेका छन् । बेरोजगारीको पीडाले रन्थनिँदै श्रमिकहरू पनि सस्तो दरमा श्रम बेच्न विवश छन् ।

कतिपयसँग सानो पुँजी छ । त्यत्ति सानो पुँजीले मात्र आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनसक्ने अवस्था छैन । महङ्गीले आकाश छोएको छ । गाँस, वास र कपासको व्यवस्था गर्दागर्दै बचेको थोरै रकम आर्थिक क्षेत्रमा एक्लैले लगानी गर्ने अवस्था छैन । यस्तो प्रतिकूल परिस्थितिबाट गुज्रिरहेका किसान, मजदुर र साना उद्यमीहरूका लागि सहकारी बरदान सावित भएको छ । तिनै स–साना लगानी कर्ताहरूको संयुक्त प्रयासबाट नै सहकारी संस्थाहरू जन्मन्छन् । प्रायः ती सामुहिक रूपमा पुँजी मात्र लगानी गदैनन्, श्रम पनि गर्छन् । आफ्नै क्षेत्रमा आफू स्वयम् श्रमिक भए पछि शोषणमा पर्ने कुरै आउँदैन । अर्को शब्दमा, मालिक पनि आफैं र श्रमिक पनि आफैं हुँदा कसैलाई पनि अन्यायमा परेको महसुस हुन्न । कार्य सम्पादनमा पनि इमान्दारिता झल्कन्छ, जिम्मेवारीका साथ काम हुन्छ ।

जुन संस्थामा मालिक स्वयम् क्रियाशील छ, त्यसको उत्तरोत्तर प्रगति हुने स्थिति अत्यधिक रहन्छ । जहाँ श्रमिकले उचित राहत सहितको मार्गनिर्देशन भेट्दछन्, त्यहाँ दिनानुदिन प्रगतिको स्थिति रहन्छ । मालिक र श्रमिकहरूको मनोविज्ञानमा समेत संस्थाको भविष्य आधारित हुन्छ । श्रमिक र मालिकमा ‘हामी जुटे असम्भवलाई पनि सम्भव बनाउन सक्छौं, जीवनस्तर उकास्ने तागत हामीसँग पनि विद्यमान छ’ भन्ने उच्च मनोविज्ञान भएमा हिनतावोधले स्थान भेट्दैन ।

सहकारी संस्थामा लगानीकर्ताहरू स्वयम् श्रमिक हुनैपर्छ भन्ने छैन तर मालिकहरू चाहिँ किसान, मजदुर वा निम्न पुँजीवाला लगानीकर्ता हुनै पर्दछ । कुनै एक जनाको संस्थामा वर्चस्व नभई जे काम पनि सामुहिकरूपमा हुने हुँदा कुनै एक, दुई जनाले बाटो बिराउँदैमा संस्थालाई त्यत्रो ठूलो असर पर्दैन । सहकारीको नीतिबमोजिम सबैले कार्यसम्पादन गर्नुपर्छ । संस्थामा जुटेपछि पनि बिग्रेका वा हिनतावोधले ग्रसित व्यक्तिलाई पनि सपार्ने र आर्थिक हैसियत सम्पन्न पार्ने महत्वपूर्ण ठाउँ नै सहकारी हो । व्यक्ति विशेषलाई सामुहिक रूपमा सहयोग पुर्याउने काम हुनेहुँदा सहकारीमा जुटेपछि कसैले पनि आर्थिक विपन्नताको शिकार हुनुपर्दैन । तर, उसले इमान्दारीपूर्वक श्रम दिन भने सक्नुपर्छ । यसको अर्थ सहकारीले गरिव वर्गलाई धन दान दिँदै हिँड्छ भन्ने बुझ्नु सर्वथा अनुचित हुन्छ ।

खान–लगाउन धौ–धौ परिरहेको समयमा समेत केवल एक गाँस कटाएर भए पनि सहकारी क्षेत्रमा लगानी गर्न सकिन्छ । एक–एक रुपैयाँ जम्मा गर्दै, एक–एक मुठ्ठी अन्न सङ्कलन गर्दै पनि सहकारी संस्था चलेका छन् । सबैको सहयोग र संलग्नतामा सञ्चालित सहकारी संस्थाबाट ऋण लिएर पशुपालन, तरकारी खेती वा त्यस्तै आर्थिक उपलव्धीको क्षेत्रमा काम गरेर आर्थिक उन्नति गर्न सकिन्छ । यस खाले संस्था स्थापना र सञ्चालनमा ठूलो रकम चाहिन्न, केवल सामुहिक संलग्नता र सक्रियता आवश्यक पर्छ । एक–एक गर्दै ठूलो पुँजी सङ्कलन हुन्छ र घरेलु उद्योग, लघुवित्त कार्यक्रम, सामुहिक खेतीपाती, व्यापार–व्यवसाय, शिक्षा–दीक्षा आदि क्षेत्रमा उपयोग गरी आर्थिक हैसियत बढाउन सकिन्छ ।

अर्कातिर नेपाल विविध जातजाति, भाषाभाषी, रहनसहन, भेषभूषाको परिचय बोकेको राष्ट्र हो । त्यसैले ‘चार जात छत्तीस वर्णको साझा फूलबारी’ का रूपमा परिचित छ । जातिय भेदभाव गर्न नपाइने, छुवाछुतको भावना राख्न नमिल्ने तथा दाइजो, बोक्सीजस्ता कुसंस्कारलाई अपनाउन नपाइने कानुनी प्रावधान भए पनि ती सबै कागजमा सीमित भएका छन् । कानुन एकातिर छ तर व्यवहार अर्कैतिर छ जसले गर्दा समस्यामाथि समस्या थुप्रिएको छ । मुलुकका कुनाकाप्चामा राज्यको इमान्दार र जनउत्तरदायी तवरको उपस्थिति छैन । कतिपय ठाउँ र अवस्थामा रक्षक नै भक्षक भएर देखिएका छन् । यस्तो अवस्थामा जनता स्वयम् आफ्नो हितमा सामुहिक रूपमा उठ्नु आवश्यक हुन्छ ।

दलित भनिएकाहरू अझै पनि सामाजिकरूपले वहिष्कृत छन् । कतिपय तथाकथित गैरदलित कहलिनेहरू आफूलाई ईश्वरीय आशीर्वाद प्राप्त भएको ठान्ने मूर्खता दोहोर्याइरहेका छन् । विज्ञानले जतिसुकै चमत्कार देखाए पनि मानिसको विवेकको बिर्को पूरै खोल्न सकेको छैन । यी विविध खाले रूढीबादी, अन्धविश्वासी र कुरीतिबाट केही वर्ग उठे पनि उठ्न नसकेकाहरू अझै निदाइरहेकै छन् । तिनीहरू अझै पूरातन संस्कारलाई मलजल दिने विचार र भावनाले ओतप्रोत छन् । एक थरी सारा जगत् आफ्नै लागि सृष्टि भएको ठानिरहेका छन् भने अर्का थरी समाजका निम्न स्तरका कार्य गर्न मात्रै आफ्नो जन्म भएको भएको स्वीकारिरहेका छन् ।

यिनै कुराहरूले बेलाबेलामा सामाजिक सद्भाव विथोलिने र द्वन्द्व चर्कने काम पनि भएका छन् । सिराहा र सप्तरीका चमारहरूले एक्लै सिनो नप्mयाक्ने अडान लिएर गैरदलित भनाउँदा वर्गसँग चर्काचर्की गरेको घटना स्मरणीय छ । त्यस्तै, जनअधिकारको वकालत गर्ने क्रममा सामाजिक सद्भाव विथोलिन गई तराईका पहाडे मूलका नेपालीहरूले आ–आफ्नो पुर्खेउली धरोहर कौडीको भाउमा बेची अन्यत्र शरण लिन विवस हुनुपरेको घटना पनि उत्तिकै करुण छ । नेपालगञ्जमा भएका सामाजिक सद्भाव विरोधी गतिविधिले समेत सङ्क्रमणकालीन नेपालको दयनीय अवस्थालाई कठोर बज्र प्रहार गरेको छ । अहिले मधेसमा पहाडे मूलका साहित्यकार, कलाकार, सहिद, दाता कसैको पनि शालिक छैन । कतिपय विद्यालय परिसरमा रहेका पहाडे मूलका दाताका शालिकहरू ढालिएका छन् । तिनीहरूले जग्गा उपलव्ध गराई विद्यालय निर्माण गरिदिएका हुनाले आ–आफ्ना नानीहरू पढाउन पाइएको कुरा भुलिरहेका छन् । समाजसेवा गर्ने त्यस्ता दानी व्यक्तिको स्मरण गर्नु पनि सौभाग्य हो न्ने कुरा बिर्सिरहेका छन् । अर्कातिर मुलुकका अन्य भागमा पनि जातिय आधारमा हक–अधिकारको माँग हुँदै आएका छन् । जातिय राजनीतिले जरो गाड्ने तरखर गरेको छ । आफ्नो अधिकारको संरक्षण गर्दा अर्काको अधिकार कुण्ठित गर्नु अर्को अन्याय हो भन्ने सोचेर काम गरिँनुपर्छ । यस प्रकारका कुराहरू बिर्संदै गएको परिप्रेक्ष्यमा सहकारी संस्थामार्फत् जातिय भेदभाव भुली समाज निर्माणको नवीन अध्याय प्रारम्भ गर्नु वाञ्छनीय छ ।

सामाजिक सद्भावमा कुठाराघात हुँदा भयङ्कर युद्धहरू चर्किएका र अनगिन्ती धनजनको क्षति बेहोर्नु परेको विश्व इतिहास साक्षी छ । यस्तो अवस्थामा हामी नेपालीले पाठ नसिक्नु अविवेकी कार्य हुन गएको छ । वर्तमान परिप्रेक्ष्यमा भने आशलाग्दो तवरले सामाजिक जागरणमा दिनानुदिन वृद्धि हुँदै गएको महसुस गर्न सकिन्छ । दलित हुनुपर्दा आफूलाई ईश्वरीय श्रापित ठान्ने तिनै दलित कहलिएकाहरू आज गर्वले शिर ठाडो पारी ‘म दलित हुँ’ भन्न थालेका छन् । गैरदलितहरू पनि समाजलाई विखण्डन तर्फ धकेल्ने सामाजिक कुरीति बारे सचेत हुँदै गएका छन् र सबैलाई समाजको उत्तिकै हैसियतमा पुर्याउन लालायित छन् । सकारात्मक सोचले अगाडि बढ्न चाहनेहरूका लागि सहकारी सहयोगी हात सावित भएको छ ।

निष्कर्ष

‘गाउँगाउँमा सहकारी घरघरमा रोजगारी’ नाराले समेत विकासको मूल आधारसहकारीबाट सम्भव हुन सक्ने कुरालाई सम्बोधन गरिरहेको देखिन्छ । भनेजस्तो जनसहभागिता जुट्न सकेको छैन । कतिपय गलत व्यक्तिहरूको वहुलता भएका वित्तिय कारोबार गर्ने सहकारी संस्थाहरूले आर्थिक हिनामिना गरी सर्वसाधरणको श्रम र पुँजीको दुरुपयोग गरेका एकाध घटना पनि छन् । सहकारी सदस्य तथा सरकारले यसमा हेक्का राख्न सक्नुपर्छ ।

सहकारी संस्थाहरूमा न जातका कुरा हुन्छन्, न धर्मको वकालत हुन्छ । नितान्त सामाजिक संस्थाको रूपमा रहेर पनि समाजका विकृत पाटाहरूबाट यो विल्कुलै टाढा हुन्छ । यसले मानवलाई एकै जातको देख्छ, एउटै धर्मको देख्छ, एउटै कर्ममा आधारित देख्छ । त्यो भनेकै मानवले मानवकै कल्याणमा समर्पित हुनुपर्छ भन्ने कुरो हो । यसले सबैको कल्याण गर्नुमै धर्म देख्छ । श्रमको फल मीठो हुने कुरामा विश्वास राख्छ । यसले कोही ठूलो छैन र कोही सानो रहँदैन भन्छ । यसमा विनाभेदभाव सबैखाले वर्ग, समुदाय संलग्न हुन सक्छन् । पौरख गर्ने मनस्थिति भएकाहरूको जमघट हुने साझा थलो नै सहकारी हो । थरीथरीका विचार, धारणा र सोचाइलाई एकै बनाउने र उन्नतिको मार्गतर्फ डोहोर्याउने स्पष्ट मार्गचित्र सहकारी संस्थाहरूमा पाइन्छ । अतः समाजका अपहेलित र बहिष्कृत व्यक्ति, वर्ग र समुदायलाई समाजको महत्वपूर्ण सदस्यका रूपमा स्थान दिलाउने काममा सहकारीको गहन भूमिका रहन्छ ।

नेपालीहरूको आर्थिक विकासमा सहकारी सोच बरदान सावित हुन सक्छ । कतिपय स्थानमा सहकारिताले गाउँघरकै रौनकतामा अभिवृद्धि गरिदिएकोे छ । सहकारी संस्थामार्फत् लोककल्याणकारी वस्तु उत्पादन र सेवा प्रदान गरेर, वस्तु वा सेवा आफैंले उपभोग गरेर आत्मनिर्भर भइरहेको अवस्था छ । नेपालीहरूलाई हरतरहले सक्षम बनाई गरिवीबाट छुटकारा दिलाउने र अग्रगामी सोच, समझ र निम्न पुँजीलाई आर्थिक विकासमा रूपान्तरण गर्नमा सहकारीको योगदान श्रेष्ठ छ, अनुकरणीय छ, स्तुत्य छ ।

अत्यधिक जनसहभागितामा जनताले चाहेको साँचो विकास गर्न सहकारी नीति नै आधिकारिक र उपयोगी हुन्छ । स्थानीय क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्न तथा जलवायु परिवर्तन र वातावरणअनुसारका विकास एवम् आर्थिक समृद्धिका कार्यक्रम ल्याउन सहकारीताबाट नै सम्भव छ । अतः मुलुकको साँचो विकासका निम्ति सहकारिता नै एक अचुक अस्त्र हो ।

-अभितकुमार चौधरी
शिक्षक,
श्री सुदनवती देवीलाल फूलमन्ती जनता माध्यमिक विद्यालय
सीतापुर–भुर्की–१, सप्तरी ।
मो.नं. ९८०४७१७८५८
बी.ए., बी.एड., एल.एल.बी, एम.एड.
स्थायी ठेगाना– सीतापुर–१, सप्तरी

सप्तरीका पत्रपत्रिकामा धेरै तर राष्ट्रियस्तरकामा एकाध साहित्यिक, भाषिक तथा समसामयिक लेख/रचना प्रकाशित !

Leave a Reply

Your email address will not be published. Required fields are marked *