शून्यता भित्र म
मस्तिष्कलाई कलम बनाई
कल्पना शक्तिले मसीभरि
शून्यताको आकाश, मेरो हृदयमा
एउटा कविता लेखिरहेछु ।
त्यो कवितामा
जून मेरो कविताको मुख्य अतिथि हो
अनि अनगिन्ती ताराहरू मेरो कविताका दर्शक
जून र तराको उज्ज्वल प्रकाश
मेरो कविताका भावशक्ति हो
ज्ञात अज्ञात शहिदहरूको मुस्कान हो ।
त्यो शून्यताको आकाश
मेरो सेतो कागजमा कोरिएका कालो बादल
सुख, दुःखका मिश्रित संर्घषको मिलन हो
किन कि, बादल टुक्रिएपछि
वर्षा भई असारे रोपाई हुन्छ
घर, खेतबारी मानिस बगाई लान्छ ।
दुःखको बादल टुक्रिएर आएको वर्षा
मेरो आँसु हो
गड्याङ्ग गुडुङ्गको आवाज
मेरो असह्य पीडाको चित्कार हो
अनि अँध्यारो कोठामा छाएको प्रकाश
दुःखले बिदा गर्न लागेको परिणाम हो ।
किनभने,
बादल हटाउन नसकेमा मेरो अन्त हुन्छ
अनि बादल हटाउन सकेमा
मेरो आयु लामो हुन्छ
त्यसैले उदाई रातो घाम लागेको
मेरो कविताको लक्ष्य हो ।
-नव आवाज साप्ताहिक, २०४४ कार्तिक १४ गते प्रकाशित
