कल्पनामा अनेकौं रंगहरू सजिंन्छन कति । सपनाहरू पुरा हुन्छन त कति अधुरा हुन्छन । जिन्दगी कहिले रंगी बिरंगी रंग फ्याकेर होली खेले जस्तो । ती रंग कुनै फिका त कुनै गाढा भइदिन्छन ।
त्यो पुर्णिमाको रात म तलाउको किनारमा एक वृक्ष मुनि बसिरहेको थिएँ । निशब्द थिए त केवल छेउछाउका बोट बिरुवा ढुंगा माटो म अनि उनी । ढुंगाका टुक्राहरू परसम्म पुग्ने गरी फ्याकिरहेको थिएँ, सुनसान भंग गर्ने त्यो मेरो असफल प्रयास थियो । सकेसम्म त्यो पानीबाट निस्केका तरंगहरूसंग खुसीका अभिव्यक्तिहरू साट्दै थिएँ मन्द मन्द गतिमा बहेको त्यो शिर्सिरे बतासले उनलाई स्पर्श गरिरहेको थियो । त्यो दृश्य चिहाएर हेरिरहेको थिएँ । त्यो सामिप्यता स्पर्शले कता कता काउकुती लागे झैं भनौं एकप्रकारको तरंगित भइरहेको थिएँ । परसम्म फैलिएको त्यो चाँदनी अथाह खुसी फैलाउदै त्यो वृक्षमा चमक दिदै थियो । यो दृश्यसँगै मेरो होस् ठेगानमा थिएन होस पनि किन आखिर उनीसँग दश बर्षपछि भेट्दैछु ।
… कलेज लाईफको दौरानमा मेरो हृदय उनको हृदयसँग समागम भएको यो कुरा कि त ईश्वरलाई थाहा छ कि त मलाई नै । यो कुरा मैले उनीसँग कहिल्यै प्रकट गरिन त्यो प्रेम सुखद अपूर्ण सपना बनेर मेरो हृदयको गहिराइमा सजिसकेको थियो । कलेजमा उनी सबैभन्दा जेहन्दार, अग्लो, गोलो अनुहार मिठो बोली इमानदारीपन अनि रिजर्भ स्वभाब उनको चिनारी थियो । यही इमान्दरिपनको कारणले म उसलाई प्रेम गर्न थालें ।
बर्सौंपछि उनी अध्यन पुरा गरी सकेर जागिर पाएपछि गाउँ फर्किएका छन । आज बजारमा अकस्मात हामी दुवैको हतारमा भेट भयो औपचरिक कुराकानी गर्यौं भरे भेट्ने बाचा गरेर छुटेका थियौं ।
.. त्यो चकमन्न जुनेली रात सिर्फ एक अर्कालाई केही बोल्ने प्रेम प्रकट गर्ने पर्खाइमा थियौं । मुखले अभिव्यक्त नभए पनि हाम्रा नयनहरू एक अर्कामा समाहित हुदै थिए । हामी एक अर्कामा प्रेम जाहेर गर्न आत्तुर थियौं । अचानक कसैले बोलेको झैं गरी आवाज सुनें “हैन आठ बजिसक्यो आज मलाई अफिस छिट्टै जानु छ कोट कहाँ छ…..हैन उठ्नु पर्दैन आज ?”
….फेरि क्षितिज पारीसम्म पुगेको मेरो मन आसमानको उचाईबाट समुन्द्रको गहिराइमा डुबिसकेकी थिएँ ।
लिला रिजाल
