माफ गर मलाई !
सुवासना र सौन्दर्य एकैचोटी छर्दै
जीन्दगीको पत्र–पत्र गाफिएर तिमीमा
सँधै मुस्काइरहेको एक थुँगा मुहार
तिम्रो सौन्दर्य र गुणको
बाराम्वार वयान र चर्चा गर्न चाहदिन म !
जो मनभित्रै टाँसिएको छ स्वर्णपत्रमा
अनुभूतिका अक्षरहरूले कुँदेर ।

सत्य !
तिमी छेउमा छौ र पो ढुक्क छु म
उज्यालो छ यो घर, प्राण छ यो घरभित्र
स्नेह र मोहकता खेल्छन घरभित्र ।

डुङडङती गन्हाउने यो शहरबाट
तालुभरी वजनले थिचिएको यात्राबाट
सम्साँझ घरभित्र छिर्दा–
न्यानो आत्मीयताको सुवासना छ घरभित्र
शीतल हावाको चौतारो छ घरभित्र,
यति भैसकेपछि पनि
म किन बोलिरहुँ र ?
तिम्रो सादगी र उत्तमालाई
शव्दमा खुम्च्याउन !

पसीनाका तेल हालेर
दियो जलाउँछ्यौ घरको
आफना आकाँक्षाहरूलाई खोपामा राखेर
रथ चलाउँछ्यौ घरको
परेलीका बलेसीहरू चिस्याएर आफना
पखाल्छ्यौ कचराहरू घरको
नबोलेर मुखले कत्तिपनि, बोल्छ्यौ धेरै हातहरूले,
यस्तोमा म के केनै बोलेर
किन चम्काउनु पर्छ र तिम्रो अनुहार
तिम्रै उपस्थितिले
घर चम्किएको बेला ।

त्यसैले प्रिय !
माफ गर मलाई
मनभित्र अंकित स्वर्णपत्रका अक्षरहरू
बाराम्बार बयान र चर्चा गर्न चाहदिन म !
मौन प्रशन्नतामा केवल
उज्यालो आभाष साट्न चाहन्छु
नखर्ची शब्दहरू ।

दीपेन्द्र अपजसी
बागलुङ, हाल ओस्टण्डे बेल्जियम ।
२७ जनवरी २०१३

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *