सायद, त्यो बिहान म काठमान्डु एयरपोर्टमा उभिदा आफ्नोपनको अनुभूति कति भयो ? म सिमांकन गर्न सक्दिन । घरमा मन हर्रर पुग्छ, म पुगेको हुदिन, आतुर हुन्छु । काठमान्डुबाट चार घन्टाको बसको यात्रा थाल्छु जति सक्दो छिटो पुग्न ।
यात्रा सुरु हुन्छ अतुरताको, पुराना स्मृति जुरुक्क उठेर मन मस्तिष्कमा आउछ । गरिबबाट धनी हुने मनले परदेशिने रहर र बाध्यता दुवै थियो । बिहे गरेको दुई महिनामा विदेशिएँ गर्भवती श्रीमती छोडेर ।
मलाई भुतुक्क पार्न, मलाई देख्दा मुस्कुराउनछिन होली मेरी छोरी । अब छ बर्षपछि फर्किदैछु, चिन्छिन कि चिन्दिन्न होली ? फोटोमा मात्र देखेकी छिन । म मनमनै सशंकित हुन्छु । छोरीको अनेक आकृति आँखाभरि आउछ कस्तो भैं होली भन्ने सन्दर्भमा । मेरी प्रीतिमय पत्नी के गर्दै होलिन, मलाई देख्दा अलिकति माया अनि लाजयुक्त मुहार लिएर मेरो छातीमा मुख लुकाउन आउछिन । म हत्केलामा उसको अनुहार लिएर उसलाई हेर्दै झन् बढी लज्जित बनाईदिने छु । म चंचलित योजना बुन्छु ।
पुरानो गाउको संरचना परिवर्तन भैसकेको छ होला, अब त्यो बिरानो परदेश भुलेर पनि जाने छुइन, सम्झिदा पनि त्यो बिछोडको पीडाले अत्याउछ । आफ्नै माटोमा पौरख गर्छु बरु । मलाई सोचेको तिब्र गतिमा बसको बेग अलि काम लाग्छ बरु हावाको झोक्का प्रतिस्पर्दी लाग्छ ।
म मौन यात्राको अन्तिमतिर आइपुग्छु । बासबाट ओर्लिएर २० मिनेटको पैदलयात्रा गर्छु भरियाको साथमा । गाउको स्वरूप परिवर्तित देख्छु । प्रत्येक फुसको छानो मैले देख्न पाइन, बाटा पनि फराकिलिएछन् । म घरको आगनमा पुग्छु झोलाहरू पिंढीमा राख्छु । भरिया अघि नै बाटो लागि सकेको हुन्छ ।
घरमा कोही देख्दिन । ढोकामा ताल्चा झुन्डिएको छ । सुटुक्क सनक चड्छ दिमागमा अनि मनमा चिसो, जुन मैले सोचेको स्वागत बिपरित हुन्छ । सुस्केरा र छटपटी साथ पिँढीको एक छेउमा बस्छु । छटपटी समाप्त गर्न पल्लो घरको देवी भाउजूलाई बोलाउछु । मलाई देखेर भाउजूको अनुहारमा सबै संवेगहरू देखा पर्छन । केही नबोली एक बालिकालाई मेरो अगाडि उभ्याई दिन्छिन अनि मेरो छोरी भनी चिनाइदिन्छिन ।
म छोरीलाई बोकेर उसको टाउकोमा माया गरी शिरलाई मेरो काँधमा आकर्षक तरिकाले राख्छु ।
‘अनि भाउजू उनी कता छिन नि ?’
हिजो भर्खर त मैले फोन गरेर आउने खबर दिएको थिएँ ।
भाउजू केही नबोली झोला भित्र कोठासम्म पुर्याई दिन्छिन । म पुन: प्रतिप्रश्न गर्छु जवाफ पौने ठुलो आशमा । भाउजू निरिह भई उत्तर दिन्छिन । म मन बुझाउन आफैलाई दोषी सम्झिन्छु, आफैलाई सृष्टिको पहिलो अभागी लोग्ने सम्झन्छु । कुरा भनिसकी भाउजू घरतिर लाग्छिन । म आँशु थाम्न सक्दिन । भित्तामा अढेस लागेर रुन्छु, छोरी साथ दिन आइपुग्छिन । म आँशु लुकाउने असफल तर अथक प्रयास गर्छु ।
छोरी काखमा टाउको लुकाएर सुक्सुकाउदै बोल्छिन “बाबा अब मामु कहिले आइसिन्न रे । त्यो गाडी कुदाउने ड्राइभर अंकलसँग गइसिनु भा’रे कहिले नआउने गरी । अनि मलाई हजुरलाई माया गरेर हजुरसँगै बस्नु भनिसिएको छ । हजुर पनि मलाई छाडेर नजानु है । ”
म लाज पचाएर झन् बढी रोइदिन्छु, काखे अंगालोमा छोरी अँगालेर । एकपल्ट भाग्य तौलिन्छु आफ्नै यकिन तौल हुदैन ममा । गोमाले मसँग त्यति धेरै गुनासो केमा गरिन म ठम्याउने कोशिश गर्छु, तर सक्दिन । मेरो त्यो कल्पनाको सानदार सपनाहरू एकाएक यो कहाली लाग्दो यथार्थमा परिणत हुदा, सामना गर्ने क्षमता मसँग हुदैन । म दोधार बीच बाच्नुको कुनै अर्थ पाउदिन । अब मलाई कुनै नयाँ बिहानी पर्खनु छैन न त यो लम्बिदो रात बिताउनु पार्ने बाध्यता ।
म महानिर्णय गरी आत्महत्याको तयारीमा जुट्छु । अँध्यारा क्रमश: बढ्छ जीवनको पनि र यो साँझको पनि । छोरीलाई सुताउछु हातमा । म पनि निदाउने जोडदार प्रयास गर्छु मलाई निद्राभन्दा ज्यादा छटपटी जाग्छ । निदाएकी छोरीलाई सुटुक्क हाते सिरानीबाट हटाउछु । उठेर हातमा डोरी लिन्छु, आत्महत्या गर्ने बिकल्पमा डोरी उपयोगी ठान्छु । सिलिंगको एउटा काठमा डोरी बाँध्छु अनि घाँटीमा लगाउँछु ।
त्यसै बेला छोरी चिच्याएर बिस्तारामा रुन्छिन । म हतारमा कोठाभित्र पस्छु, छोरीलाई अँगाल्छु सकेसम्म ऊ रोएको पीडा महसुस गरे जसरी ।
“बाबा कता गइसिनु भा’थ्यो ? मलाई एक्लै कतिधेरै डर लाग्छ । मामुले त छोडेर गइसिनु भो हजुर नि गैस्यो भने म कोसँग बस्नु ?” बरर… आँशु झारेर बोल्छिन ।
म त्यो आँशु हातले एकै पल्टमा पुछिदिन्छु । मलाई यति माया गर्ने छोरीलाई एक्लै छाडेर म किन बिरानो देश जान खोजे ? मेरो छोटो सोचाई मलाई नै हानीकारक लाग्छ ।
म छोरीको साथमा बढी रमाउछु अचेल । छोरी बँगैचाको फूल सुमसुम्याउथिन, म फूलसँगै छोरीलाई दाज्छु माली भएर दुबैको । मेरो विदेशिने रहर र बाध्यता एकाएक बिलाएको थियो, कारण छोरीको मायाको खातिर । मलाई छोरीले नयाँ गोरेटोमा तानेर ल्याइन अब यसमा नै हिड्ने छु सधैभरि । म गाउघरतिरै सामान्य व्यापार गर्न थालेको हुन्छु । पुराना दिनहरू घरीघरी सम्झनामा आउछन मलाई मन नपर्ने भएर । म छोरीको मायाभन्दा खास महत्वको ठान्दिन पुराना कुरा । प्राय: समान किसिमका दिनहरू बित्छन मेरा । बिहान छोरीलाई खाना खुवायो स्कुल पुर्यायो, दिउसो आफ्नै काम गर्यों, फेरी छोरीलाई लिन स्कुल अनि राती छोरीलाई सुत्नु अघि रमाइला कथा सुनायो यसरी नै । मलाई दिनहरू मनपर्दो लाग्न थालिसकेको थियो, भन्नु पर्दा मलाई पुराना दिनहरूले सताउन छाडिसकेको थियो, याद नै आएपनि ।
आज अलिकति ढिलो भयो । अपरान्ह छोरी लिन स्कुल जान्छु । स्कुल छुट्टी भइसकेको छ, सबै आ-आफ्नै घरतिर हुर्रिदैछन् । म छोरीलाई गेटमा पर्खन्छु । छोरी आज छिट्टै घरतिर लागिन जस्तो लाग्यो अनि उसलाई फकाउन चकलेट किन्छु । छोरी हुन्न घरमा मन अतालिन्छ । स्कुलमा फोन गर्छु, घरतिर आइसकेको खबर पाउछु म नआएको उत्तर दिन्छु ।
हामी सबै मिली छोरीको खोजीमा जुटछौ सम्भावित ठाउमा खोजी गर्दा पनि फेला पार्न सकिदैन । अपहरणको आशंकामा प्रहरीमा उजुरी गर्छु । सूचनाका प्राय सबै माध्यम उपयोग गर्छु तर सबैबाट असफलता मात्र पाउछु । आधारातमा म घर पुग्छु सुनसान कोठाले जिस्काएको जस्तो लाग्छ । ओच्छ्यान घोप्टो परेर पल्टिन्छु, आँशु झर्छ, निदाउन मन लाग्दैन ।
भोलिपल्ट छोरीको सबै साथीहरूकोमा सोध्छु । अनि उसको मिल्ने साथी श्रुतिलाई सोध्छु उनी भन्छिन “हिजो स्कुलबाट घर आउदा बाटामा प्रज्ञालाई उसको मामुले लिएर जानु भयो गाडीमा ।”
म झस्किन्छु, रिसको वेग सबभन्दा बढी टाउकोले अनुभव गर्छ मेरो, रिसको वेगमा केही सोच्न सक्दिन सरासर घर आउछु दुर्घटित मन लिएर । बारम्बार गोमालाई दोष लगाउछु बिछोडको पीडामा, छोरीको याद मनले सुम्सुम्याउछु प्राय पल, छोरीको याद सहन गाह्रो गाह्रो पर्छ, दराजबाट जति सक्दो छिटो फोटोको एल्बम निकाल्छु । दोहोर्याई दोहोर्याई फोटो हेर्छु । अरु नि एल्बम छ कि खोजी गर्छु बरु कुनामा एउटा डायरी भेट्छु मेरी श्रीमतीले लेखेकी हुन्छिन । हतपत पाना पल्टाउछु सकभर खाली छैन भन्ने पुष्टि गर्न, हुदैन पनि । पाँच पाना जति लेखिएको हुन्छ । अब मौन समयलाई पुरापुरा डायरीले साथ दिन्छ ।
“मङ्सिर २, जब म यो घरमा नया दुलही बनेर भित्रिए साँझमा तामझामका साथ, मानिसहरूको भीडमाझ एक्ली त्यस दिनको नायिका थिएँ। आफैलाई गर्व लाग्छ । ग्वारग्वार्ती ५ दिनसम्म मलाई हेर्न आँगनसम्म आएका थिए, थोरै लाज र सान ममा नि थियो क्यार । त्यो विवाह गरेका नौला दिनहरू मलाई मनपर्दो लाग्थ्यो, तपाई संग बिताएका हरेक पल पनि । त्यो २ महिनाको छोटो अवधिमा मलाई माया प्रेम ओखाईपोखाई दिनु भयो मैले जानीनजानी संगालिरहे । ती परिवर्तित दिनहरूसँग अभ्यस्त भइसकेको थिए, त्यस बेलासम्ममा सानो तिनो कुरामा घुर्की देखाउन आउन थालिसकेको थियो, झन् त्यो घुर्कीमा तपाई पनि सहमति हुदा कति फुरुंग हुन्थे । सम्झदा अहिले पनि आरिस लाग्छ ती कुराहरूलाई । जब तपाई २ महिना पछि बिदेशिनु भयो अनि म बिरानो भएछु आफूले आफैलाई नचिन्ने । त्यो विधिको पल अझै नि आँखामा टिलपिलाई रहन्छ । त्यो रातभरि आँशु थामिएन आँखामा बिच्छ्यौनाले पनि बिझायो मलाई । तपाईको माया ममता र स्नेहको महसुस गरे त्यो महसुस मै मात्र सिमित रह्यो । गलेर शिर झुकाउन हजुरको काँध जति खोजे तर पिंढीको भित्ताले नै साथ दिन्थ्यो । तपाई बिदेशिएपछि नरोएको दिन बिरलै थियो । गर्भवती मलाई, यो एक्लो घर र एक्लो म तपाई नहुदा अस्तित्वहिन लागिरह्यो । अनि प्रसव व्यथामा जब म छटपटिन्थे तपाईको हात थमथम्याउन नि आएन । एक्लो मैले ती सुत्केर रात दिन कसरी काटेँ हुला ? आपत्ति जनाउछु तपाईसँग । म पीडा, व्यथा र गुनासोको गाँठो फुकाउदैछु । अनि छोरी २ महिनाको हुँदा बिदा मिलाएर आउछु भन्नु भएको थियो म खुशी भएको थिए पुन एकपल्ट । अनि सोचे आउनु न मात्र मेरो अंगालोभन्दा बाहिर कहिले उम्कन दिने छुइन तपाईलाई । जब तपैले ५ बर्ष पछि करार सकिएर आउछु भन्नु भयो अनि मन कचल्टियो । प्रत्यक प्रहरहरूले सताइरह्यो क्रमश क्रमश । हजुरले फोन म तितामिठा, माया प्रेमका कुरा गर्नु हुन्थ्यो । बेला बेला पैसा पठाउनु हुन्थ्यो । खुल्ला रुपले भन्दा ती सब कुराले आत्मिक सन्तुष्टि मिल्दैनथ्यो । हजुरले फोनमा गरेका उत्तेजित कुराहरूले कत्ति नुनु जस्तो सकी-नसकी मनमा गुट मुत्यौठे । यो हाम्रो ३ बर्षसम्मको अवधि हो । म अन्तिम समय २ बर्ष आफ्नो मन बसमा राख्न सकिन । म तपाईलाई अब त्यो टाढिएको दिन बताउदैछु । एक दिन म बजार समान किन्ने क्रममा भूतपूर्व अपरिचित भनुँ क्यार अहिले, हालको परिचित प्रविनसँग ठट्यौली मजाक भयो । त्यो दिन खै मलाई के को मात लाग्यो खुलेर गफ गरे अनि छुट्टिए । अनि बेलुका घरमा आएपछि सम्झिए तपाईँको जस्तै प्रविनको पनि पुरुषत्वको सुगन्ध खल गरको रहिछु । दोस्रो भेट आफ्नै घरमा मैले ऊबाट नै आफ्नो इच्छा पुरा गरे । म तपाईलाई गुनासो पोखिरहेछु कुनै अहम होइन । अनि फेरि भेटहरू बाक्लिए, रातहरू बाक्लिए र बातहरू बाक्लिए । महापाप हुने सक्दैन यो मेरो अपुर्णताको उपज हो, अनि तपाईको वेवास्ताको परिणाम । अँध्यारामा एक्लिएर तर्सिदा मौन वातावरण मात्र पाउथे । तपाईँको साथ त कल्पनामा मात्र सीमित थियो । अहिले मैले बुझ्दा यही कल्पनाको दुनियाबाट यथार्थमा बाच्ने कोशिश गरेको हुँ ।”
लेखाई सकिन्छ लेखाईको अन्तिममा गोमा भनि नाम लेखिएको हुन्छ । अनि डायरी धपक्क बन्द गर्छु, अन्तिम डायरी थियो त्यो उसका लागि तर मेरा लागि जीवनको सुरुवाती । बिहानीको एक चोइटो किरण बार्दलीभरि लाग्छ । मसँग अब एउटा जिन्दगी छ जहाँमा बचेर बाँच्नु पार्ने । त्यो नयाँ गोरेटो मेरै आगन सामुन्ने नै आएको छ मुस्कुराएर । म पहिलो पाइला घामसँगै टेक्छु जिन्दगीको ।
मनोज शंकर
