Skip to content

हिस्टेरिया

  • by


ए नोर्बु
सुनन
आजभोलि मलाई हिस्टेरिया भा’छ ।
आपा र आमाको
आँखा छल्दै
सराङमाथिको कराईबाट
कुरौनी चोरेर तिमीले
मेरो हत्केलाभरि राखिदिएको
यादले निचोरिएर हो कि क्या हो
आजभोलि मलाई हिस्टेरिया भा’छ ।

सल्लेरी बनमा
गोठालो जाँदा
चुत्रोको झ्याङले
दर्फराएका यी तिघ्राहरू
जबजब
तिम्रो स्पर्षमा उन्मत्त हुन्छ
साँच्चै मलाई औडाह हुन्छ
त्यसैले पो हो कि?
आजभोलि मलाई हिस्टेरिया भा’छ ।

साँच्चै नोर्बु
एकजोर लाली गुराँस टिपेर
मेरो शिरमा खिपेको
कहाँ बिर्सेको छु र
त्यहि सम्झनाले त हो नि
आजभोलि मलाई हिस्टेरिया भा’छ ।

डोल्मा उ त्यो पारी
सुन फल्ने देशबाट
एकभारी गोईजिङ्को आङरे
एक जोर शिरफूल
अनि एक जोर चेप्टे सुन ल्याईदिन्छु भनेर
तिमी बतासिएको कहिले हो?
सम्झनलाई
तिमी गएको दिनदेखि मैले कोरेथें भित्ता

अंगारले भित्ता किन कोरेकी?
भन्दै आपाले हिजो बिहानै
भित्तामा लेउन लाउनुभयो
साँच्चै तिमी गएको दिन बिर्सेर हो क्या हो
आजभोलि मलाई हिस्टेरिया भा’छ ।

नोर्बु साँच्चै भनन
तिमीले ती टलक्क टल्कने
सिङ्गमरमरका
ती अग्ला पिरामिड कति पटक घुम्यौ?
जतिपटक घुम्यौ उति पटक
मेरो प्रतिविम्व देखेनौ?
अँ, देखेनौ र त
आजभोलि मलाई हिस्टेरिया भा’छ ।

बिना तामाङ ‘सुनगाभा’

Leave a Reply

Your email address will not be published. Required fields are marked *