हरेक बिहान अफिस जान माइक्रोबस चढ्नुपर्छ भित्ते गणेशबाट। भाडा तिर्ने बेलामा खलासीले सोध्छ― “कहाँबाट चढ्नुभएको?” उत्तर दिन्छु― “भित्ते गणेश।” शायद गणेशको यो नाम काठमाडौंका थुप्रै गणेशभक्तहरूलाई थाह छैन। कस्ता भव्य-भव्य विनायकहरूका अघि यो फुच्चे भित्तेको के मूल्य?

चोक त यो हुँदै होइन? चोक हुनलाई चारैतिर बाटा भागेर जानुपर्छ। गल्लीगल्ली निस्केर जाने यस्तो ठाउँलाई के चोक भन्नू? चक्रपथ, चप्पलकारखानाबाट विशालनगरतिर जाने सडकको एक किलोमिटर जति तल बायाँपट्टिको एउटा घरकम्पाउण्डको पर्खालमा सानो मन्दिरजस्तो भित्तामा टाँसिएको छ यी गणेशलाई सपरिवार। साना-साना ग्रिलका ढोका र साना-साना घण्टी पनि छन्।

भर्खरै राजधानी सरुवा भएर आएको थिएँ। कार्यालय जान थालेको तीन दिन भएको थियो। डेराबाट दुई मिनेट जति हिँडेपछि पुगिन्छ गाडी चढ्ने त्यो ठाउँमा। के नाम भन्नुपर्छ त्यो स्टेण्डको, थाह थिएन। अगाडि किरानापसल रहेछ उदयराज पाठकको, त्यहींं उभिएर परिचय गरें र सोधें। उनले चोर औंलोले देखाएर भने-

– यो ठाउँको नाम ऊ त्यही हो। यसो हेरें। एउटा पर्खालको भित्तामा गणेश टाँसेको।
– हाँस्दै भनें- भित्ते गणेश?

– एकाएक हाँसे उनी पनि र भने- हो-हो! कसरी जान्नु भो देख्नेवित्तिकै?
– भित्तामा टाँसिएपछि भित्ते भएन त? हाम्रो उतातिर भित्तीको पुछार खाने झयाम्ले, मुन्द्रेहरूलाई त भित्ते भन्छौं, यो त झ्न् टाँसिएकै छ।

– उनलाई रमाइलो लागेछ मेरो कुरा। सोधे- उता भनेको कता?।
– झ्ापातिर, मेरो उत्तर थियो।

यस्तै रमाइलो परिचय गर्दागर्दै एकाएक म गम्भीर र अचम्मित भएँ। मेरो अघि उभिन आइपुग्नुभयो अम्बर गुरुङ। भर्खरै भित्तातिर हेरेर गफ गर्दैगर्दा एकजना बूढोमान्छे गणेशलाई ढोग्दै, घण्टी बजाउँदै गरेको देखेको थिएँ, उहाँ नै पो हुनुहँदो रहेछ। उहाँले चिन्नुअघि नै नमस्ते गरिवरी आफ्नो परिचय दिएँ। ८२ वर्षको त्यस उमेरमा स्मृति ताजै रहन्छ भन्ने कुरा आउँदैन। रहने नै भए पनि कतिलाई सम्झ्िरहनु? परिचय दिनासाथ खुशी भएर हात मिलाउँदै सोध्नुभो―
– कहिले आउनुभएको? कहाँ बस्नुभएको छ?

– यहीँ नजिकै छु, भरत भारद्वाजको घरमा।
गाडी आइसकेको थियो, फेरि भेट्ने गरी नमस्ते गरेर हतारहतार चढें। बेलुका खुत्रक्क उत्रंे त्यही भित्ते गणेशमा। यसो हेरें― गणेश दिनभरि त्यत्तिकै थिए, तर त्यहाँ अम्बर गुरुङ थिएनन्, म थिइनँ र थिएनन् अरू पनि थुप्रै उनका भक्तजनहरू। साँझ् परिसकेको थियो, लागेँ ‘ह्रालो।

दिनचर्या नै भएको छ, प्रत्येक बिहान र बेलुका भित्ते गणेशको दर्शन। शिरमा शिवपार्वती, दायाबायाँ ऋद्धिसिद्धि, पयरमा मुसो, हातमा अङ्कुश डोरी, पलेँटी कसेर बसेको एक सानो गजधम्म मूर्ति टाँसिएको छ भित्तामा। एउटै ढुङ्गामा कपिएको रहेछ, छेउमा गएर हेर्दा देखें। हात्तीको टाउको, नाइटोसम्म झ्ुण्डिएर बटारिएको सूँड, ठूलो भकारी जत्रो भुँडी, सर्पको पटुका, चारवटा हात, छोटा खुट्टा, हेर्दै अनौठो र हाँसउठ्दो आकृति छ उनको। तर मातापिता सुन्दरताका प्रतीक छन्― यौन दर्शनका प्रतिष्ठाता। दायाँबायाँ रूप लावण्यले युक्त दुई पत्नी ऋद्धि र सिद्धि सजिएका छन् आकर्षक उन्मादमा। ठूलो गणेशका वरिपरि सानासाना मूर्तिहरूले एउटा परिवारको बिम्व बोकेका छन्। प्रायः यस्तै हुन्छन् अरूतिर पनि, नयाँ कुरा केही थपिएको थिएन यहाँ।

आध्यात्मिक भक्तिभावनाको यो प्रतीकात्मक अभिव्यक्तिका पछाडि हाम्रो सांस्कृतिक र ऐतिहासिक विषयले ठूलो अर्थ राख्दछ। तर किन किन मलाई यो भित्ते गणेश देखेपछि मनमा अनौठो विचार पलाएर आयो। मैले त्यस गणेशमा हाम्रो वर्तमान जीवन र पद्धतिको अनौठो व्यङ्ग्य प्रतीकको अनुभूति गरें। जहिले पनि गाडीमा जाँदाआउँदा एकपल्ट देख्नै पर्ने तिनमा आफूले भोगिरहेको वर्तमान बिम्वको सशक्त प्रतीक लाग्छ।

सोच्छु― प्रत्येक आध्यात्मिक कार्यको प्रारम्भ श्री गणेशाय नमः बाट गर्नुपर्छ। गणेश स्थापना नगरी कुनै प्रकारको पूजा शुरु हुनसक्दैन। हरेक आध्यात्मिक संस्कृतिको सभापति हो गणेश। सबै देवताहरूले मानेको र अग्रस्थानमा राखेको प्रतिभा। तर जब म तिनको स्वरूप हेर्छु― अचम्म लाग्छ।

हात्तीको टाउको छ, मान्छेको शरीरमा जोडिएको। डल्लो पुड्को छ, विशाल उदरका साथ। चार वटा हात हुँदाहुँदै, पाँचौं हातसरहको सूँड छ, सास फेर्नुपर्छ त्यही सूँडको नाइटोनेर झ्ुण्डिएको टुप्पोदेखि। वाहनको रूपमा पाएको छ मुसो। हात्ती र मुसोको यो कस्तो सम्बन्ध? के हात्तीलाई बोकेर हिँड्न सक्छ मुसो? कस्तो अनौठो बिम्व! फेरि त्यस्तो कुरुप र असहाय जस्तो शरीरलाई कसले दिएछ होला त्यति राम्रा छोरीहरू! बाबुआमाले दिइहाले पनि के रुँघेर बसेका होलान् तिनीहरू?

गणेशको यो रूपबारे सोच्दासोच्दै पुराणको एउटा उपकथा याद आउँछ। दाजु कुमार र भाइ गणेशबीच को ठूलो र वीर भन्ने कुरामा बहस भएछ। दुवैजना उत्तर माग्न आमाबाबुका अघि पुगे। शिवजीले दुवैलाई संसार घुम्न जानु, जो पहिला घुमेर आइपुग्छ त्यही ठूलो भने। कुमार वाहन मजुरलाई लिएर उडिहाले। गणेश आफ्नो वाहन मुसोलाई हेरेर अलमल्ल परे। गणेशको अवस्थादेखि दया लागेर मुसोले भन्यो― आफूलाई जन्म दिने आमाबाबु नै संसार हो। उनीहरूले जन्म नदिएको भए संसार देखिने थिएन। त्यसैले आमाबाबुको वरिपरि घुम्नुहोस्।

एकाएक हाँसे उनी पनि र मुसाको सल्लाह मानेर दुवैहात जोडी गणेशले बाबुआमाको वरिपरि तीन फन्को लगाएर भने― मलाई जन्म दिएर यो संसार देखाउने नै तपाईंहरू भएकाले तपाईंहरू भन्दा अर्काे कुनै संसार छैन मैले घुम्नुपर्ने। मैले घुमें।

गणेशको बुद्धिबाट सारै प्रभावित मातापिताले उनलाई आशीर्वाद दिएर तिमी नै विजयी भयौ भने। मयुरमा चढेर सुमेरु पर्वत तीन फन्को लगाई आइपुगेका कुमार हेरेका हेरेकै भए, आफू उभिएको ठाउँबाट डेगै नचली गणेशले बाजी जितेको सूचना पाएर छक्क परे।

उतिबेलै छक्क परेका कुमारका अघि आज मैले छक्क पर्नुको अर्थ त के छ र? तैपनि कहिलेकाहीँ जब म आफ्नो वर्तमानको मूल्याङ्कन गर्छु, जताततै गणेशवाद-जिन्दावाद! देखेर विरक्त हुन्छु। शिवले नै असक्त, कमजोर, कलाहीन, मुसेबुद्धि, कुरुप, र चाकडीवाजलाई तथास्तु दिएर शुरु गरेको भजन संस्कृतिका अघि आज हामीले भोगिरहेको अव्यवस्था र विकृतिको के आलोचना गर्नु?

प्रत्येक व्यक्ति, सत्ता, शक्ति आफ्नो क्षमता र बुद्धिको प्रशंसा खोज्दछ, उसलाई गणेशहरूको आवश्यकता पर्दछ। आलोचना नगर्ने, विरोध नगर्ने र सदा प्रशंसा गर्ने, हात जोडेर वरिपरि परिभ्रमण गरिरहने र उनको शक्तिको व्याख्या गरिरहने पूजक र भजकहरूको तिनलाई माया लागिरहन्छ। जस्तै चलाख, बुद्धिमान, क्रान्तिकारी र आधुनिक हुँ भन्नेहरू पनि गणेशका अघि लल्याकलुलुक परेर नतमस्तक भइरहेका हुन्छन्। गणेशले तिनीहरूलाई जो उनीहरू होइनन्, त्यही समेत बनाइरहेका हुन्छन्। उनीहरूलाई एकपल्ट पाएको शक्ति र सत्ता अनन्त कालसम्मको उपलब्धि हो भन्ने बोध गराइदिन्छन्। तिनले गरेका अपराध, लुट, शोषण, भ्रष्टाचार र व्यभिचारलाई समेत तिनका गहना भनिरहेका हुन्छन्। गणेशले तिनलाई विगतका सबै गलत थिए र ती ढले, तपाईं नै वास्तविक महान हुनुहुन्छ र अब तपाईंलाई ढाल्न सक्ने कोही हुँदैन भनिरहन्छन्।

पत्याइरहन्छन् उनीहरू गणेशलाई र उनीहरूको बुद्धिमा भरिंदै जान्छ गणेशको भुँडी। त्यत्रो ठूलो गणेशले आफ्नो भुँडी मालिकको बुद्धिमा स्थापित नगरे कसरी भर्नु त! सत्तामा बस्न आउने हरेक शिवपार्वती गणेशको खोजीमा लागिसक्छन्। शिवले नभ्याए पार्वती आफ्नै मयलबाट भए पनि गणेशको उत्पत्ति गर्छिन्― भाइ, भदा, बहिनी, काकाका ज्वाइँ आदिको रूपमा, कष्टका साथ।

प्रत्येक अड्डाअदालत, मन्त्रालय, दरबार, पार्टी कार्यालय, घरगृहस्थी र मठमन्दिरमा जताततै गणेश उपस्थित छन्। अचम्म लाग्छ मलाई― जसको टाउको हात्तीको जत्रो भए पनि बुद्धि मुसाको हुन्छ, जो हिँड्न सक्दैन, जो हेर्दै डरलाग्दो र कुरुप छ, त्यसैले संसार चलाएको छ, त्यसैले शासन गरेको छ। योग्य, शिल्पवान, चलाख, क्षमतावान, बुद्धिमान र स्वाभिमानीहरू जहाँ पनि फुटपाथमा छन्, सडकमा छन्, अवमूल्यनमा छन्। बुद्धिले स्वाभिमानी विद्यार्थी शिक्षकलाई घमण्डी लाग्छ, सैद्धान्तिक अडान भएको कार्यकर्ता नेतालाई विश्वासघाती लाग्छ, इमान्दार कर्मचारी हाकिमलाई स्वाँठ लाग्छ।

काम गर्न नसक्ने, कुरा गर्न सक्ने, सधैँ मालिकका वरिपरि घुमिरहने र अनेक समाचारहरू सुनाएर तिनको दिमाग ताजा गराइराख्ने गणेशहरू पदोन्नति, नियुक्ति, विदेशभ्रमण र पुरस्कारका हकदार हुन्छन्। सधैँ पयरमुनि देखिने गणेशहरू पयरमुनि हुँदैनन्, मालिकको मूल आसनलाई रूँघेर बसिरहेका हुन्छन्। त्यो आसनमा बस्न जो आइपुग्छ, त्यसैका गणेश हुन् तिनीहरू। गणेशको टाउकै आफ्नो होइन भने उसको मालिक कसरी एउटै हुन सक्नु? अर्काको शरीरमा अर्काको टाउको बोकेर उसले जीवन काट्नु छ― कति गाह्रो!

मैले देखेका हरेक परिवर्तनले नयाँनयाँ शिवहरूलाई आसनमा पुर्‍यायो। नवशिवको अनुहारमा देखिएको चमकले मन प्रशन्न हुन्थ्यो। पर कतै सुनौलो भविष्य चम्किरहेको देख्थें तर विस्तारै शिवको अनुहार पुरानै फोटोमा विलाउँदै गएको हुन्थ्योे र गजधम्म गणेश पुरानै आकृतिमा सूँडले तिनको पयर मुसारिरहेका हुन्थे।

आज पनि म शिवको नयाँ अनुहारमा पुराना गणेशका सूँडहरूले सुम्सुम्याएको देखिरहेछु। ब्युटिपार्लरकी सेविकाले अनुहारका रौं र मुजा मिलाइदिए झ्ंै गणेशका सूँडले शिवको अनुहारमा परम्परागत रोगन दलिरहेछ। शिव मन्दमन्द मुस्कुराइरहेछन्, कुम हल्लाउँदै। बेलाबेला काउकुती पनि लाग्दो हो! जीवनमा पहिलोपल्ट कसैले त्यो आसनमा राखेर उनलाई सुम्सुम्याइरहेछ।

देख्दादेख्दै गणेशहरू पाउबाट उठेर हातका अङ्कुश उज्याउँदै सुरक्षागार्ड भएका छन्। पासो थापेर स्वाभिमानीहरूलाई अल्झ्ाउँदै शिवका पयरमा ल्याएर पछारिरहेका छन्। गणेशको यो शाश्वत रूपलाई देखेर अलमलिइरहेको मैले जब पहिलोपल्ट भित्तामा तिनलाई देखें― माया लाग्यो।

विचरालाई कसले समातेर ल्याएर यो भित्तामा टाँसिदिएछन्, ग्रिलले छेकिदिएछन् र बन्धनमा पारिदिएछन्? त्यसो भए के अब गणेशहरू थुनामा परेका हुन्? अब उनीहरू शिवका पाउमा हुँदैनन्? वा मुसाको बुद्धिले होइन हात्तीकै टाउकोले सोच्दछन्? के उनीहरू त्यति उदार होलान्?

अम्बर गुरुङ्गले ढोग्दै घण्टी हल्लाइरहेका गणेशलाई एकपल्ट मैले पनि मनमनै नमस्कार गरें र भनें― हे गणेशजी! कृपया अब तिमी यही भित्तोमा बसिराख सधैँ। तिमी हाम्रा देशका संचालकहरूलाई आफ्नो चाकरीबाट मुक्त गरिदेऊ। तिम्रो कुरुपताबाट तिनीहरू मुक्त बनून्। कृपया एकपल्ट मात्र भए पनि कुमारको मयुरलाई पखेटा फटफटाउन देऊ।
तर उनी त भित्तामा निर्जीव थिए।

माथिबाट माइक्रो आयो। आज पनि अम्बर गुरुङ्गसँग फेरि भेट्ने बाचा गर्दै गाडी चढें।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *