मिरमिरे ताराहरू लजाएर लुक्न थालेपछि
सुनको विहानी थियो त्यहाँ
नौलो घामका पाईलाहरू थियो त्यहाँ
पहिलो जम्का-भेटमा म पागल भन्थे
पागलको देश भन्थे
तर
उल्टो भो यहाँ
पागल हैन सज्जन रैछ
सज्जन कै देश रैछ
ऊ शीर निहुराएर झुक्थ्यो
अनि वोल्थ्यो
ओहायो
म वाध्य हुन्थे
म पनि शीर निहुराएर झुक्थे
अनि प्रतिउत्तर दिन्थे
ओहायो
कसैलाई कथा जस्तो लाग्ला
कसैलाई ब्यथा जस्तो होला
न त यहाँ
रामायण र महाभारतको कथा छ
न त यहाँ प्रेमी-प्रेमिकाको ब्यथा छ
म त एउटा सभ्य मान्छेको ब्यान दिन्दैछु
जहाँ सभ्य समाज छ
जहाँ सभ्य राष्ट्र छ
हजारौ चोटी शीर निहुरे पनि नाई नभन्ने
गल्ति गरे घुडा धसेर
सुईमासेन गोमेन्नासाई भन्दै
छाँतीलाई धुजा-धुजा पारी च्यातेर माफी माग्ने
सूर्यमुखी देखि चन्द्रमुखीसम्म सुगन्ध पुग्ने
मिठास शब्द
को झुक्दैन र ?
आकाश पनि झुक्छ यहाँ
उस्तै परे वादल पनि रून्छ यहाँ
धर्तीको त कुरै नगरौ
उसैले जन्माएको
नयाँ बेहुला बनाई उसैले अन्माएको
रात हुदैन् कहिल्यै
सधै दिन नै दिन
मेहनतको पसिना बगाए
ढुंगामा अन्न फल्छ यहाँ
माँटोमा असर्फी उम्रन्छ यहाँ
त्यसैले त भिडै भिडको लस्कर छ
को देशी ?
को परदेशी ?
उत्तरले बिर्सिएन
दक्षिणले बिर्सिएन
नत पूर्व र पश्चिम
काले-गोरे-नेप्टे-थेप्चे-लेप्चे सबै छन्
एउटै बगैंचा एउटै माली
लाखौं फूलको लाखै लाली ।
First published in Majheri on : 2013-02-24 23:40:12 +0900
