सुरुवातिदो तिहार देउसी भैलोको लय सबैको घरहरू, रेडियोहरू, टीभीहरू अनि नेपाली मनहरूमा गुन्जिदै छ, मनपर्दो भएर । सयपत्री, मखमलीको सुन्दरता घर वरिपरि मुस्कुराएको छ । साँझहरू पनि उस्तै झल्मलिएका छन्, रहरलाग्दो भएर । सप्तरंगी बिहानी पनि उस्तै उमंगी छन्। तर यी सबै कुराले मेरो मन छुन सकेको छैन, गोरेटोको छेउछेउमा फुलेको सयपत्री पनि शुन्य लाग्छ । फूलहरूको सुन्दरता हराएको छ मेरो मनबाट । त्यही शुन्य लाग्ने गोरेटो आँखा टट्टाउन्जेल नियाल्छु पदचाल पनी शुन्य नै पाउछु, मन बुझाउन भित्ताको काँटीमा अड्काएको पुरानो फ्रेम भित्रको फोटो हेर्छु, एक मुस्लो पीडा मनबाट निस्किएर आँखामा आएर पोखिन्छ । भान्सामा भएकी आमाले थाहा पाउनु हुन्छ कि भनी म लुसुक्क कोठा भित्र पस्छु आँशु पुछ्दै तर आमाको जात के थाहा नपाउनु। छोराछोरीको पीडा। आउनु भयो म भएकै ठाउमा म आँशु थाम्ने प्रयास गर्छु आमालाई देखेर झन् बढी आँशु बग्छ । आमा रुदै अंगालो हाल्नुहुन्छ मेरो आँशुको भेल तिब्र बग्छ । आमा मेरो गालाभरि पोखिएको आँशु सपक्क पुच्छिदिनु हुन्छ अंगालोमा अझै कसिन्छु र प्याउलो बन्छु।
“आमा अब भानु दादा कहिले आउनु हुन्न हो ? यसपाली पनि म दादालाई भाइटिका लगाइदिन पाउदिन” लाड़िदै सुकसुकाउछु ।
आमा भन्नु हुन्छ “न’रो छोरी न’रो आउछ तेरो दादा आउछ भाइटिकाको दिनसम्ममा, पर्खी न ।”
आमा मलाई सम्झाई राखेर भान्सातिर लग्नु हुन्छ । मलाई थाहा छ मेरो दादा आउनुहुन्न भनेर पाँच बर्ष भइसक्यो मैले भाइटिका लगाइदिन नपाएको अब त म पनि पन्ध्र बर्षको भए। सबै तिहार आँशुमय भए मेरा लागि अब यसपालीको पनि यस्तै हुने भो । सम्झिन्छु बाबाआमा दशैको दिन रुदै छोरा बेपत्ता पर्नेलाई सरापेको अनि म यो पनि सुन्छु पाँच बर्ष अघि शसस्त्र द्वन्दका बेलामा म स्कुल पढन गएको बेला बन्दुक बोकेका शाहीसेनाहरूले दादालाई केही सोध्नुछ भनी लिएर गएका । त्यसपछि मेरो भानु दादा कहिले घर आउनु भएन ।
बाबा भन्नु हुन्थ्यो “पछि देशमा लोकतन्त्र आएपछि तेरा दादा आउछ (तर पाँच बर्ष बितिसक्यो आउनु भएको छैन मेरो दादा ।) राज्यले पनि बेपत्ता पारिएको सुचिमा राखिदिएर पीडा दिएको छ मर्यो भानुम भने तेस्तो लक्का जवान छोरो आँखामै छ, जिउदै छ भनुम भने अहिलेसम्म पत्तो लागेको छैन न सास को टुंगो न बासको, देशको राजनीति पनि बुझ्न नसकिने ।”
हाम्रो परिवारलाई त्यो महापीडाले तर्साईरहन्थ्यो बारम्बार ।
आज लक्ष्मीपूजा मन कता कता दुखिरहेछ, दादाको मिठो यादले । दादा हुनु भै दिएको भए आज यो तिहारको रौनक नै अर्कै हुन्थ्यो दिन भरि पिंग खेल्थ्यौ, मेलामा लंगुर्बुर्जा हेर्न जन्थ्यौ, बाबा ढिकीमा पिठो बनाउनु हुन्थ्यो, आमा मिठो सेल पकाउनु हुन्थ्यो हामी दाजुबहिनी कसले धेरै सेल खाने भन्दै छिटोछिटो मिठोमिठो सेल खान्थ्यौ । साँझ परेपछि हामी मिलिमिली दियो बल्थ्यौ, घर नै झिलिमिली पर्थ्यौ ।बाआमा सबै मिलेर बेलुकी लक्ष्मीको पूजा गर्थ्यौ, बाबा सबै पैसा झिकेर नाङलोभरि राख्नु हुन्थ्यो अनि पुजा गरेर हामीलाई लड्डु दिनुहुन्थ्यो हामी मिठोमानी खान्थ्यौ । गाऊघरको झिलिमिली हेर्न माथि डाँडाका बजारसम्म पुग्थ्यौ । दादा हामीसँगै भैलो खेल्न जानुहुन्थ्यो बर्को ओढेर । म पनि दादासँगै पेन्ट लगाएर देउसी खेल्न जान्थे । त्यति बेलाको तिहारै बेग्लै हुन्थ्यो अहिले पनि ती सबै हुन्छन तर खासै महत्व लाग्दैन दादा साथ नभई दिनाले । मन रोइरहन्छ । आँशुका बाच्छिटा असरल्ल हुन्छ, मन मस्तिष्कमा झझल्को आइरहन्छ दादाको ।
बाआमा निराशिएर दादाको फोटो हेर्नु हुन्छ अनि मलाई थुमथुम्याउनु हुन्छ । रंगी विरंगी र झिलिमिली तिहार, मन अँध्यारिएपछि सबै अन्धकार देख्छु । मिना, कुमारी, राधिका भैलो खेल्नजान घरमै लिन आउदा पनि म गईन । एक्लै बसिरहे झ्याल छेउमा धपक्क बलेको दियोसँग दादालाई नियाल्दै। कतै फेला पारिन मेरो मन बाहेक दादालाई । पर्सी भाइटिका, दादा आइदिए पनि हुन्थ्यो भन्ने लागि रहन्छ मनमा । देउसी भैलो भट्याएको परपर गाँउघरसम्म सुनिन्छ । त्यतिबेलासम्म हाम्रो घरको आँगनमा पाँच-छ देउसे समुह आएर गइसकेका हुन्छन । मलाई भने तिहारको उमंगले कतै छोएन । बार्दलीमा म राति अबेरसम्म बसिरहे । बिहानी गर्ने सबै काम सकेपछि दिउसो भोलि भाइटिकाका लागि माला उन्न बसे । जति पल्ट सयपत्रीका थुंगामा सियोले उन्छु त्यति पल्टै मेरो मन उन्निरहन्छ । भोलिका लागि सबै तयारी गरे दादा आउने आशा गरेर ।
झिसमिसे मै उठेर घर आँगन लिपपोत गरे, टिका सामग्रीहरू तयार पार्छु, दादाको काटीमा झुन्ड्याई राखेको फोटो फ्रेम झिक्छु । टिकाको साइत हेर्छु अझै आधि घण्टा जति हुन्छ । आँगनसम्म आएको गोरेटो हेर्छु शुन्यता मात्र हुन्छ । आश लागिरहन्छ दादा आउने । टिकाको साइत भएपछि म सदा झैँ दादाको फोटोमा टिका लगाउन तयारी हुन्छु किन किन हात अघि बढ्दैन, मलाई टिका लगाई दिन मनबाट नै मन लाग्दैन । बरु एउटा अठोट जाग्छ मनमा, दादालाई राज्यले बेपत्ताको लामो सुचिमा राखे पनि मलाई पत्ता लगाउने अठोट जाग्छ । म दादाको खोजीमा निस्कन बाआमालाई बिदा माग्छु । बाआमा पनि स्वीकृति दिनुहुन्छ ।
म सोध्छु कति जनाले लिएर गएको?, कतातिर लागेको? कस्तो लुगा लगाएको? इत्यादि, बाबा मलाई सम्झी बुझाई पठाउनु हुन्छ । म दादाको खोजीमा निस्कन्छु । बाटाभरि भेटिएका आउने जाने मानिसलाई सोध्छु कहिँ कतै नदेखेको उत्तर पाउछु प्रायको मुखबाट । तर हरेश खादिन । साँझ नजिकिन लाग्दा एउटा बिकट गाँउमा पुग्छु परपर टाढिएका एक्ला एक्ला घर हुन्छन प्रत्येक घरमा सोधखोज गर्छु, कोही केही बताउदैनन् । गाऊ पर एकान्तमा जान्छु आधा निराशा आधा आशाको स्थितिमा म नजिकै पाखाको झुपडीमा उक्लन्छु । मलाई झुपडी लगभग खाली जस्तो लाग्छ बाहिरबाट । म ढोका ढकढक्याउनु अघि कोही हुनुन्छ भनी सोध्छु र भित्रै पस्छु ।
भित्र दुई जना वृद्धबृद्धा हुन्छन बृद्धा भान्साको तयारी गर्दै हुन्छिन वृद्ध तमाखु तान्दै हुन्छन। दुवै मलाई देखेर चकित हुन्छन म आफ्नो बारेमा भन्छु अनि झोलामा लुकाएर राखेको फोटो झिकेर साल, महिना, गते सहित दादाको बारेमा भन्छु फेला पर्ने ठुलो आशामा। वृद्ध आँखा खुम्च्याएर नियाल्छ अनि मेरो आँखामा नियालेर, सुस्तरी उठेर खाट मुनिबाट पुरानो टिनको बाकस झिकेर मेरै सामुन्ने खोल्छन अनि एउटा थोत्रो नभैसकेको पर्स झिकेर मेरो हातमा थमाइदिन्छन । म पर्स खोल्छु आँखा आँशुले टम्म भरिन्छ म बोल्न सक्दिन एकोहोरिन्छु । वृद्ध मलाई हेर्दै भन्छन यी मान्छेलाई मैले पाँच बर्ष अघि गोठालो जादा माथि डाँडाको खोल्सीमा अर्दमरो अवस्थामा खै कसले फालेको थियो ? त्यसबेलाको समय घरमा ल्याउन पनि डर लाग्यो सकीनसकी हामी बुढाबुढी भएर ल्यायौ । तर एक हप्तासम्म ओखतीमुलो गर्दा पनि बचाउन सकिएन। नौ दिनसम्म पनि होश नै आएन सायद कसैले नराम्ररी पिटेर फालिदिएको थियो शरीर भरि घाऊ र निलडाम मात्र थिए। कसैले नखोजे पछि हामीले दुई दिनसम्म राखेर काज क्रिया गरी दियौ अनि ऊसँग यो पर्स र फोटो मात्र थियो अरु केही थिएन।
म दादाको फोटो अंगालेर रोइरहेकै हुन्छु एक थोपा आँशु दादाको फोटोमा झर्छ, सोच्छु अब सप्तरंगी टिकाको साटो एक थोपा आँशुको टिका लगाइ दिनेछु प्रत्येक साल दादाको स्मृतिमा । आज भाइटिकाको दिन यो खबरले मलाई जति दुखि बनाएको छ तर एउटा कुरा राज्यले बेपत्ताको सुचीमा राखेको मेरो दादालाई मैले सकुशल नसके पनि, पत्ता लगाएर नै छाडे यो कुरामा गर्व गर्छु।
