Skip to content

शान्तिको खोजी

  • by


म चाहिँ शान्तिको खोजी छु ।
दश वर्षे वसन्त
दश वर्ष भरि नैं
बमसँग हिड्यो बम भएर
बारुदसँग हिड्यो बारुद भएर,
बन्दुकसँग जुध्यो बन्दुकै भएर
परिवर्तनका धेरै चरणहरू पारगर्यो
मात्र शुभप्रभातका लागि
के के गरेन त्यसले
अक्षता केलायो
फूलपाती भेला पार्यो ।
अव भने बम घर फर्कने पक्षमा छ
बारुद छेउ लाग्ने सोचमा छ
बन्दुक भित्रभित्रै दविने विचारमा छ ।
बलमे जे गर्न थियो गरिसकेको छ
जनता जगाउन थियो
मनग्यै जगाइसकेको छ
बाँकी जगाउने काम कलमको हो
त्यसैले यत्ति बेला भने,
कलम युद्धको मैदानमा
मोर्चा कसेर नैं हुँकारका साथ आउनुपर्छ
र त्यसले चाँडो भन्दा चाँडो
नयाँ क्रान्तिको घोषणा गर्नुपर्छ
जुन क्रान्तिले
काला दिनलाई सुनौलो बनाउनुपर्छ
अँध्यारा रातलाई राता वनाउनुपर्छ
सोझो मनलाई चाँहि
सरलबाटो देखाइदिनुपर्छ
तर बाङ्गो मनलाई सोझ्याइदिनुपर्छ
अबका नदीले पनि
मायाका पत्रैपत्र बोक्नुपर्छ
श्रद्धाका नक्सैनक्सा कोर्नुपर्छ
अनि हिम्मतका साथ
पुरानो कुर्सीको दाह संस्कार गर्नुपर्छ
नयाँ संरचनाको कसम खानुपर्छ
अबको कलम हाम्रो हुनुपर्छ
हाम्रै कलमले
नयाँ घरको नयाँ नक्सा बन्नुपर्छ
जसको वगैंचामा गोदावरी र मखमली फुलेनन्
उसले पनि
कलमै लिएर मैदानमा आउनुपर्छ
कलमकै मसीले बोल्नुपर्छ
र मिलनविन्दुका लागि
भए जतिका गाँठा खोल्नुपर्छ
तर सावधान !
कलम आफ्नै हुनुपर्छ
मसी आफ्नै हुनुपर्छ
किनभने,
आजसम्मको इतिहासले भनेको छ,
अर्काको कलमले धेरै पौरख खायो
अर्काको मसीले धेरै धेरै माटो लग्यो ।
म चाहिँ शान्तिको खोजी छु ।

नन्दलाल आचार्य
तपेश्वरी १, उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *