Skip to content

अशिक्षामा अल्झेको शैक्षिक नीति

  • by


शिक्षकशिक्षिकाले गर्न लगाएअनुसार खुरुखुरु काम गर्नु हाम्रा विद्यार्थीहरूको कर्तव्य हुन जान्छ । त्यस्ता विद्यार्थीहरू जे सुन्छन्, जे देख्छन्, जे भोग्छन्, त्यस्ता कुराहरू दुरुस्त टिप्छन् । एकएक विवरण सुरक्षित राख्छन् र मौकामा प्रयोगमा ल्याउँछन् । सिकाइएका कुराभन्दा बाहिरको परिस्थिति आइपरेमा अलमलमा पर्छन् । उनीहरूमा निर्णयविहीन भई अलमलाउनुको विकल्प पनि हुन्न । आजको शिक्षाले त्यही विकल्प प्रदान गर्न सक्नुपर्छ । शिक्षक ‘सबैलाई बचाऊ’ भनेर पढाउन पाउँदैनन्, ‘आफ्नो लागि आफैँ बच’ भनेर सिकाउन वाध्य छन् । त्यसै गर्न समाज शिक्षकलाई भन्छ, उनीहरू पनि अक्षरशः पालना गर्न वाध्य छन् । एकप्रकारले पुरानै परिपाटीको जगमा उभिएर शोषणको हतियार बनी उनीहरू नयाँ पुस्तालाई शोषक बन्ने पाठ सिकाइरहेछन् । अब भने उनीहरूले समाजको हतियार बन्नबाट मुक्त हुनपर्छ । स्वार्थको भकारी भर्ने कामदार हुनबाट पाखै बस्नुपर्छ । समाज जे भन्छ, त्यसका पछिपछि हिँड्ने अन्धो पथिक बन्नुहुन्न । पहिले आफ्ना आँखा खोल्नुपर्छ अनि मात्र आँखा खुल्ने कुरा बताउनुपर्छ । पहिले आफूले आफैँलाई चिन्नुपर्छ अनि अरूलाई चिनेको आभाष दिलाउनुपर्छ । उनीहरूले विद्यार्थीमाथि आफ्नो विवेक र विचार बाड्ने मात्र काम गर्नुपर्छ तर लाद्ने गल्ती बन्दै गर्नुहुन्न । विद्यार्थीले पनि शिक्षकले बाँडेका विचारमाथि विचार गर्नुपर्छ । त्यस विचारले समेत नपुगे पुनर्विचार गर्नुपर्छ । फेरि, आफ्नो विवेकले त्यसलाई मस्काउनुपर्छ । कुनै विचार काम लाग्ने देखिए ती विचार आफ्नै विचारका रूपमा स्वीकार गर्नुपर्छ । विवेकसम्मत कुराका पछि लागेर आफ्नो विवेकको मालिक आफैँ बन्नु जरुरी हुन्छ । कसैका विचारका पछि लाग्नुपरेको छैन । आफ्ना विचारलाई चट्टै त्याग्नु पनि परेको छैन । विचार जन्माउनमा पूरै स्वतन्त्र रहनुपर्छ । विचार प्रकट गर्नमा पूरै अधिकार सम्पन्न हुनुपर्छ । अनि मात्र उनीहरूको चौतर्फी विकास सम्भव छ ।

आफूभित्र शैक्षिक जागरण ल्याउने सवालमा हिजोको पुस्ताले बाटो बिराएको छ । आजको पुस्ताले खोजेको शैक्षिक परिपाटी यस किसिमले फरक धारमा आधारित रहेको छ । अतः नयाँ पिँढीका लागि नयाँ शैक्षिक मार्ग तयार गर्नु नितान्त आवश्यक भएको छ । आजसम्मको हाम्रो अशिक्षामा आधारित शिक्षा हो भन्ने तर्कलाई निम्नानुसार पुष्टि गर्न सकिन्छ ।

१. अतीतमुखी शिक्षा- हिजोको युगलाई सम्बोधन गरेर लेखिएका सबै कुरा वर्तमानको फ्रेममा अट्न सक्दैनन् । ‘हिजो’ पढ्न थाल्दा ‘आज’लाई नै भुलिन्छ र ‘भोलि’ अन्धकार हुन्छ । ‘आज’लाई पढ्न पाउनेले ‘भोलि’ आफैँ बनाउँछन् । ‘हिजो’मा भुल्दा त हाम्रो वर्तमान युग भताभुङ्ग र लथालिङ्ग भयो । वर्तमान पढाउन सके कसैलाई भविष्यको चिन्ता हुनेछैन । वर्तमान पढेका मान्छेले स्वतः अतीत पनि बुझ्छन् । भविष्य पनि खोतल्छन् । तर, वर्तमान पढ्नबाट वञ्चितहरू सबैतिरबाट ठगिन्छन् । यस्तै शैक्षिक माहोललाई निरन्तरता दिइरहने हो भने अतीतका मानसिक दरिद्रताका पाठहरू घोकाएर वर्तमान नर्कतुल्य पार्नुको विकल्प नै छैन । अतीत स्मृतिमा आधारित हुन्छ, बुद्धि जगाउने शिक्षा वर्तमानमुखी हुन्छ, भविष्यप्रति लक्षित हुन्छ । त्यसैले त अतीतबाट मात्र पाठ सिक्नुपर्छ । हामीलाई अतीतले जन्मायो, अतीतले हुर्कायो । तर, यी आजका नयाँ मान्छेलाई वर्तमानले जन्माएको छ । वर्तमानले नै हुर्काउनुपर्छ । नयाँ मान्छेको जीवन फूल बन्नुपर्छ, त्यसमा सुवास हुनुपर्छ र सौन्दर्य रहनुपर्छ ।

२. निश्चित शिक्षा- शैक्षिक नीति भन्छ- ‘पाठ्यक्रम दिएको छु, पाठ्यपुस्तक थम्याएको छु, शिक्षकलाई तालिम दिएको छु, शिक्षक त्यसै अनुरूप पढाउँदै छन्, पढाउने पनि छन् ।’ के तोकिएको शिक्षाले, तौलिएको शिक्षाले जीवन छिचोल्न सक्छ ? उचालेको कुकुरले मृग मार्न सक्छ ? सीमित ज्ञानले जीवनको अथाह गहिराइ पत्ता लगाउन सक्छ ? असम्भव ! शिक्षालाई निश्चित गरिनु प्रमाणपत्र प्राप्त गर्न, गराउन सहज तुल्याउनु मात्र हो । वास्तवमा मानवका लागि शिक्षा अनिश्चित हुन्छ । अनिश्चित ज्ञान दिएर सम्भव छैन । विद्यार्थी स्वयम्ले ज्ञान लिने परिपाटीको विकास हुनु आवश्यक छ । शिक्षकशिक्षिकाले त त्यसको पूर्वाधारको जग बसाल्ने हो, बाटो निर्देशित गर्ने, गराउने हो । त्यसप्रति वर्तमान शैक्षिक व्यवस्था अनविज्ञझैँ छ ।

३. ‘टु पुस इन’मा आधारित शिक्षा- शिक्षाले सिकारुको प्रतिभा प्रस्फुटनमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकी अतीतमा सार्वजनिक भइसकेका सूचना र जानकारीहरू सिकारुको मनमा भित्र्याउने काम मात्र गरिरहेको छ । ‘टु ड्राउ आउट’को सिद्धान्तले सिकारुभित्रका कुरा बाहिर ल्याऊ भन्छ भने ‘टु पुस इन’को सिद्धान्तले बाहिरका कुरा जबरजस्त भए पनि भित्र घुसाऊ भन्छ । शिक्षाको वास्तविक ध्येय ‘टु ड्राउ आउट’को सिद्धान्तमा आधारित हुनुपर्नेमा ‘टु पुस इन’को सिद्धान्तमा आधारित छ । यसरी शैक्षिक क्षेत्रको प्रतिफल विद्यार्थीको हितसम्म पुग्न सकेको देखिन्न । विद्यार्थीको प्रतिभा प्रफुटन भन्नु नै उनीहरू भित्र रहेको ज्ञान बाहिर ल्याउनु हो । यसका लागि जिज्ञासु बन्ने वातावरण दिलाउनुपर्छ । विद्यार्थीले आफूभित्रका प्रश्न राख्ने प्लेटफर्म पाउँदा यो सम्भव छ ।

४. प्रतिस्पर्धात्मक शिक्षा- शैक्षिक परिपाटीमा प्रतिस्पर्धाको खेल हुनु विडम्बनापूर्ण छ । ज्ञान हासिल गर्न कसैलाई उछिन्ने मानसिकता ठीक छैन । कसैलाई पछि पारेर आफू अघि बढ्ने शिक्षा विल्कुलै अशोभनीय छ । प्रतिस्पर्धाको शिक्षा, प्रतियोगितात्मक शिक्षाप्रति मनमा वितृष्णा उब्जिए मात्र शैक्षिक क्षेत्रमा नवीन अध्यायको सुरूवात हुन्छ । प्रतिस्पर्धाबाट अरूलाई पछारेर आफू अघि बढ्नु लोकप्रियता कमाउनु होइन । बरू अलोकप्रियता आर्जन हुन्छ । के कक्षाका भएका जम्मा पैँतीस जनामध्ये प्रथम भई बाँकी चौँतीस जनाको मन कुल्चँदा उत्तम विद्यार्थी कहलिन सकिन्छ ? मनमा फाटो ल्याउने खालको चुनावी शिक्षा विडम्बनायुक्त छ । आजको पिँढीले कसैको स्तुतिगान गर्नु र कसैको प्रशंसाको भजन गाउनुपरेको छैन । स्तुति र प्रशंसा गरेर अनि प्रतिस्पर्धामा लडेर प्राप्त गरेको विजयको मालाले लाभ हैन जीवनलाई बोझिलो र निरस पार्छ । प्रेमलाई भगाएर, माया र सहानुभूतिको घाँटी दवाएर प्राप्त गर्ने प्रमाणपत्रको काम छैन । प्रतिस्पर्धा गर्न सिकाएर, अरूजस्तै बन्न लगाएर त आजको पिँढीले आफ्नो हैसियत र दायित्व भुलिरहेको छ । अनि ‘सबै हामी हौँ, हामी नै सबै हौँ’ भन्नुको सट्टा ‘सबै म नै हुँ । म नै हर कुरा हुँ’ भन्दै छ । त्यसैले आजका विद्यार्थीलाई प्रेम दिनुपर्छ, चैतन्य औँल्याउनुपर्छ, बाटो देखाउनुपर्छ । तर, जवरजस्ती हिँडाउनुहुन्न । आफ्नै भाका र सुरमा हिँड्न दिनुपर्छ । अघि पुग्न दौडाउनुछैन । पछि पर्छन् कि भनेर ठेल्नु पनि परेको छैन । उनीहरूको लयवद्धतालाई स्खलन गर्नुपरेको छैन ।

५. भौतिक उपार्जनमुखी शिक्षा- आजको शिक्षा भौतिक उन्नति गर्ने सोचबाट प्रेरित छ । न त्यस सोचले पूर्णता पाएको छ, न बाटो नै बदलिएको छ । आफूले आर्जन गरेको ज्ञान र जानकारीका माध्यमबाट भौतिक उन्नति गर्न सक्ने अवस्था छैन । त्यही ज्ञानको जगमा उभिएर एकाध व्यक्ति आफ्नै खुट्टाले टेकेर जीवनरथ हाक्दै छन् तर ठूलो छाती बनाएर बाँच्न भने सकेका छैनन् । आफूमा भएको प्रतिभाले जीवन चलाउन सक्षम हुने शिक्षा आत्मक्रान्तिन्नोमुखी शिक्षा हो । समाजको सोच स्वार्थी छ । समाज भौतिक उपार्जन चाहन्छ तर बाटाहरू प्रशस्त गर्न असक्षम छ । समाज थोरैलाई काखा र धेरैलाई पाखा पार्न चाहन्छ । केहीलाई जागिर दिएर अरू सबैलाई शैक्षिक बेरोजगार पारेर शिक्षाले नै गुलाम बन्न प्रेरित गरिरहेको छ । अध्ययनको एउटा चरण पार गरेपछि आत्मनिर्भर हुनुपर्नेमा त्यसो हुन सकेको छैन । आजसम्मको शिक्षाले बुद्धि त सिकाउँछ तर बुद्धिमान् बनाउन सकेको छैन । धन कमाऊ भन्छ तर धन कमाउने सीप दिँदैन, मार्गहरू खुलाउँदैन ।

६. अहङ्कारपूर्ण शिक्षा- आज लेखपढ गरेका व्यक्तिमै अहङ्कार छ । ठूल्ठूला तहका प्रमाणपत्र बटुल्ने मान्छे नै बढी अहङ्कारी छन् । शैक्षिक जानकारी नै अहङ्कापूर्ण छ । आजको शिक्षाले प्रेम सिकाउँदैन । केवल ईष्र्यालु विचार र भावनालाई प्रश्रय दिन्छ । अहङ्कार पतनको सङ्केत हो, प्रेमपूर्ण शिक्षा प्रगतिको सम्वाहक हो । अहङ्कारको नशा छुटाएर प्रेम र सहानुभूतिको विजारोपण गर्न शैक्षिक परिपाटीमा आमूल सुधार आवश्यक छ । वास्तवमा शिक्षाले सिकारुमा अहङ्कार जन्माउनुहुन्न, प्रेम रसाउनुपर्छ । अहङ्कारपूर्ण शिक्षाको सट्टामा प्रेमपूर्ण शिक्षा दिनु शिक्षकको दायित्व बन्नुपर्छ । शिक्षक एक प्रकारको प्रेमी बन्नुपर्छ । प्रेमीले नै प्रेम पाउन सक्छ । प्रेम दिन सक्छ । प्रेमले संसार उज्यालो देख्छ । यसो भएमा गन्दे नालीमा देखिएका स्याउँस्याउँती कीराहरूमा पनि अद्भूत आश्चर्य लुकेको भेट्टाउँछ । बग्रेल्ती बच्चाहरू लिएर गन्धे ठाउँ चहार्ने सुँगुर-सुगुर्नीहरूको क्रियाकलापमा पनि अथाह सौन्दर्य फेला पार्न सक्छ । आजका विद्यार्थीले अहङ्कार भित्र्याउने शिक्षा प्राप्त गर्नुभन्दा प्रेम पैदा गर्ने अशिक्षा नै पाउनु वेस हुन्छ । आजसम्मको शिक्षा खरो अनुशासनमा आधारित छ । वस्तुनिष्ठ छ । मेसिनरी छ । त्यसै कारणले आज सबै जसोमा अहङ्कार जन्मिएको छ । चरम असन्तोष पैदा भएको छ । हाम्रो अहङ्कारले भनिरहेको छ- ‘म यत्ति धेरै पढेको मान्छे, अब हलो जोत्न सक्दिनँ । अब घाँस काट्न सक्दिनँ । अब पशुसेवा गरेर दुई पैसा आर्जनमा चित्त बुझाउन सक्दिनँ । सानोतिनो नोकरीमा चित्त बुझाउन सक्दिनँ । अब मैले त ठूलो पदवाला नोकरी पाउनुपर्छ । पशुको नोकर हैन, जनताको पनि होइन अब म सरकारको नोकर हुनुपर्छ । सरकारी नूनको सोझो गर्ने बन्नुपर्छ ।’ यस खाले चिन्तन भित्त्याउने शिक्षा दुर्भाग्यपूर्ण छ ।

७. त्रासमा आधारित शिक्षा- अनुशासनले मान्छे भित्रको उत्सुकताको हत्या गरिरहेको छ । मानवीय भावनाको खुल्लमखुल्ला व्यापार गरिरहेको छ । अनुशासनको पुजारी बन्दा तीतो यथार्थ भोग्न वाध्य हुनुको वैकल्पिक मार्ग छैन । यसको यथार्थ यस्तो हुन्छ- मनका कुरा भनेँ भने, चाहेका कुरा व्यक्त गरेँ भने, अनुशासन भङ्ग होला कि ! सजायको कठगरामा उभिएर स्पष्टीकरणको लामो वयान दिनुपर्ला कि ! नालायक पात्र बनेर सबैको दृष्टिबाट गिरूँला कि ! ’ यस्तै त्रासमा बाँच्नुपर्छ । मन खोलेर जुनसुकै जिज्ञासा शिक्षकनजिक ओछ्याउन पाइन्न । मनका जिज्ञासाहरू मनभित्रै कुहाएर, सडाएर राख्नुपर्छ । विद्यार्थीले नमीठो अनुभवको सिकार भइरहनुपर्छ । भय र त्रासले तर्सिरहनुपर्छ । अतः आजका विद्यार्थीले मन खोल्ने मौका पाउनुपर्छ । ठीक-बेठीक भन्न भेट्नुपर्छ । चेतना उघार्न पाउनुपर्छ । उज्यालो खोज्न र भोग्न भेट्नुपर्छ । अनुशासन नामको लगामले शिक्षक र विद्यार्थी बीच दूरी बढाउनु विल्कुलै अशोभनीय हुन्छ ।

८. शिक्षककेन्द्रीत शिक्षा- पहिले विद्यार्थी नम्र थिए, शिक्षक खरा थिए । कठोर मनले कठोर शिक्षा दिन्थे । त्यसैले कठोर जनशक्ति जन्मियो । प्रेम र सहानुभूति पाखा लाग्यो । क्रुद्ध कुरा क्रुद्ध पाराले पढाइयो, सिकाइयो । मानवीय अभीष्ट क्रोधको पकडमा फँस्यो । त्यसैले राजनीतिमा स्वार्थीहरूको, अरू क्षेत्रमा असफलहरूको फस्टाउँदो खेती बन्न पुग्यो । आज नयाँ पुस्ताको अभीष्ट उल्टिएको छ । नम्र बन्ने पालो शिक्षकको आएको छ । अनुशासित र मर्यादित बन्ने पालो शिक्षकको आएको छ । विनम्रतामा रहेर, अनुशासित भएर, मर्यादित ठहरिएर शिक्षा दिनु उनीहरूको कर्तव्य भएको छ । विद्यार्थीले उनीहरूबाट नै विनम्रता, अनुशासन र मर्यादा अनुकरण गर्ने मौका पाउनुपर्छ । आजको शिक्षाले सबैलाई जीवनमुक्तिको आनन्द दिनुपर्छ । विद्यार्थीलाईलाई केन्द्रमा राखेर श्क्षिक परीधिमा रहने प्रकारको शैक्षिक परिपाटीको विकास हुनु नितान्त आवश्यक छ ।

९. उत्तरमुखी शिक्षा- आजको शिक्षा उत्तरमा आधारित छ । पढाउने क्रममा नै शिक्षक पुस्तकमा समेटिएका सीमित प्रश्नको उत्तरमा केन्द्रीत रहन्छन् । विद्यार्थीले त्यतिमै सीमित रही चुप लाग्नुपर्छ । शिक्षकको दृष्टिमा विद्यार्थीको मनमा उब्जिएका हरेक कुराले उत्तर पाउनुपर्छ भन्ने छैन । विद्यार्थीलाई प्रश्नविहीन बनाउनु भनेको कि विद्यार्थी तिखारिएको विवेकवाला बन्नु हो कि जडबुद्धिवाला बनाउनु हो । हाम्रो परिपाटी भने जडबुद्धिउन्मुख छ । अतः हरेक कुरामा विद्यार्थी प्रश्नको खोजीमा हुने वातावरण दिलाउनु नितान्त आवश्यक छ । प्रश्न जन्माउने खुबीको विकासले मान्छेको चैतन्य ऊध्र्वगामी बन्न जान्छ । सीमित उत्तरमा नै पूर्ण सन्तुष्ट रहेर प्रश्नोविहीन मनोदशामा हुँदा त्यो चैतन्य मुठारिन पुग्छ । अर्कातिर हामी शिक्षक विद्यार्थीलाई श्रद्धा गर्न सिकाउँछौँ, सम्मान गर्न लगाउँछौँ । शिक्षक श्रद्धेय नबनी र सम्माननीय नभई विद्यार्थीले त्यो ग्रहण गर्ने कुरै आउँदैन । शिक्षक फगत समाजको इसारा र निर्देशनमा लुरूलुरू हिँड्ने र काम गर्ने रिमोर्टबाट सञ्चालित एक मेसिनतुल्य बनेका छन् । विवेकको बिक्रो खोल्दिनु पर्नेमा अझ बन्द गर्न उद्यत हुनुपर्ने अवस्था छ । अतः विद्यार्थीलाई विवेक प्रयोग गर्न दिनुपर्छ् । उनीहरूमा विचार पैदा हुन दिनुपर्छ । उनीहरू विद्रोह गर्छन् भने विद्रोह गर्न दिनुपर्छ । विद्रोह दवाउन दवाबको प्रयोग गर्ने हिम्मत गर्नुहुन्न । विद्रोहमा नवीन चिन्तन छ कि छैन ? विद्रोह उर्जाशील छ कि छैन ? मात्र त्यसको निरीक्षण गर्नुपर्छ । विद्रोहका कारक तत्व पत्ता लगाउनुपर्छ । रिठ्ठो नविराईकन दूधको दूध पानीको पानी पारी छुट्याउनुपर्छ । समाधानका लागि समस्या छ भने पारदर्शी ढङ्गले ओछ्याई दिनुपर्छ । उनीहरू आफैँ समाधान खोज्छन् ।

१०. वृतकारीय शिक्षा- आजको शैक्षिकपरिपाटी वृताकारीय छ । जति चरण पार गरे पनि घुमिफिरी एकै ठाउँमा हुने खालको शिक्षा लिइराखेका र दिइराखेका छौँ । शिक्षाले सिकारुमा नवीनभन्दा नवीन प्रज्ञाको ज्योति बाल्न सक्नुपर्छ । त्यो नभई जुन दियो बालिएको थियो, त्यसको प्रकाशमा तेज भर्ने काम मात्र अघिल्ला कक्षाले गर्दछ । एक थरी कुराको प्रभाव अनेक थरी कुरामा पर्दछ । शैक्षिक विषयवस्तुलाई निश्चित कोणबाट मात्र केलाउने प्रयत्न घातक हुन्छ । त्यही खेल अहिलेको शिक्षाले सिकाउँछ । फलस्वरूप हामी वृताकारीयरूपमै फनफनी घुमिरहेका हुन्छौँ । ऊध्र्वगामी सोच भित्र्याउन विवेकपूर्णढङ्गले कोणकोणबाट विश्लेषण गर्न सक्नुपर्छ । त्यसको अभाव खड्किएको छ ।

११. पदमुखी शिक्षा- हामीले त समय र परिस्थिती अनुसार हाकिमलाई पिउन पनि देख्न सक्ने हुनुपर्छ । पिउनलाई हाकिमको दर्जामा राख्न सक्ने हुनुपर्छ । समयअनुसार कुलपति पनि बन्नुपर्छ र परिस्थितिले डोहोर्याएअनुसार ज्यामीमजदुर पनि हुन रुचाउनुपर्छ । हाम्रो आँखाले पद र प्रतिष्ठा कर्ममा देख्न सक्नुपर्छ । हाम्रो भोक र सुर्ता औँलो ठड्याएर वा अरूलाई कज्याएर तलव भत्ता पचाउनेमा हैन, मामका लागि काम पाउँदिनँ कि भन्नेमा हुनुपर्छ । हाम्रो शिक्षाले पदको भोक जगाइदिएको छ । प्रथम होऊ, सुखदायी ठाउँमा पुग भनिरहेको छ । सैद्धान्तिक ज्ञानमा आधारित शिक्षा छ, प्रयोगात्मक छैन । सिद्धान्तको अन्धोभक्तताले ठूलाबडा हुन सिकाउँछ । श्रममा विश्वास छैन, पदमा भोक जगाउन प्रेरित गरिरहेको छ । त्यसैले पढेका मान्छे मानसिक श्रम गर्न रुचाए पनि शारीरिक श्रम भने पछि तीन हात टाढै रहन्छन् । प्रतिस्पर्धामा लड र पदको सुखभोग गर भनिरहेको छ । आफूभित्र प्रज्ञाको, चैतन्यको दीप बाल र मान्छे बनेर देखाऊ भन्न सकेको छैन ।

बच्चामा एकाधिकार जमाउनु सर्वथा अनुचित कुरा हो । म आमा हुँ, म बाबु हुँ वा म बच्चाको यो हुँ र त्यो हुँ भनेर एकाधिकार जमाउन खोज्दा व्यक्तिको व्यक्तित्व नष्ट हुुन पुग्छ । अरूलाई पनि आफ्नै सम्झन सक्ने अवस्था दिलाउन सकेमा मात्र त्यो फलदायी हुन्छ । वस्तुमा अधिकार जमाएजस्तो बच्चामा जमाउन खोज्नाले बच्चा सन्तुलित तवरले अघि बढ्न सक्दैनन् । त्यसैले त कतिपय बच्चाहरू अत्यधिक लाडप्यार र अति मोहयुक्त नियन्त्रणले मात्तिएका र पात्तिएका देखिन्छन् । त्यसो हुनुमा अभिभावक नै जिम्मेवार छन् । जीवनलाई मन्दिर हैन कारखानामा परिणत गरिदिने भए मात्र बच्चाको स्वतन्त्रता र चाहनामा अङ्कुस लगाउनुपर्छ । हैन बच्चालाई स्वावलम्बी, कर्मयोगी र बुद्धिमान् बनाउने हो भने हरेक अभिभावकले समेत नयाँ शिक्षा लिनुपर्छ । पुरानो शिक्षाको जगमा उभिएर बच्चामा रहेको जीवन्तपनलाई मेट्न खोज्ने हो भने बच्चाका लागि अभिभावक बरदान हैनन् अभिसाप ठहरिन्छन् । किनभने बच्चाको त्यो जीवन्तपन दवाउँदा गम्भीरपन निर्माण हुन्छ । त्यसले सिकाइलाई सीमित पार्छ, बौद्धिकताको मार्ग थुन्छ । धन र पदमा सन्तुष्ट रहन सिकाउँछ । मानव जीवनको सार त्यत्तिमा मात्रै सीमित छैन । बच्चाले त खोजयात्रामा पो निस्कनुपर्छ । जीवनभरि नयाँनयाँ कुरा खोजिरहनुपर्दछ । त्यो प्रतिभा दिलाउन बच्चासँगको दूरी घटाउनुपर्छ । इमान्दारी, सच्चाइ र निष्ठाका साथ बच्चा हामी सामु हृदय खोल्छ तर हामी भने कार्यको बोझले जवाफ फकाउँदैनौँ र फराकिलो खाडल तयार गरिरहेका हुन्छौँ । यस किसिमको विडम्बनालाई निर्मूल पार्न आफ्नो मन बच्चासँग साट्नुपर्छ, बदलामा बच्चा पनि आफ्नो मनपेट दिन्छ । अभिभावक एक मित्र, एक सहयोगीका रूपमा प्रस्तुत हुनुपर्छ । समग्रमा के बुझ्नुपर्छ भने बच्चालाई केकस्तो आकार र रूप दिने हो, त्यसको जीवनलाई कतातिर लग्ने हो, कहाँ पुर्याउने हो ? ती सबै हामी अग्रजकै हातमा छन्, हाम्रै क्रियाकलापमा आधारित छन् । उनीहरू त केवल गिलो माटो मात्र हुन् । दक्ष वा अदक्ष कुमाले त हामी अग्रजहरू नै हौँ ।

नन्दलाल आचार्य
लिटिल फ्लावर मा.वि., राजविराज-९, सप्तरी ।
(मो. नं. ९८४२८२९२०६)

Leave a Reply

Your email address will not be published. Required fields are marked *