अन्तरसाँस्कृतिक सद्भाव र भयवाद विमर्श

  • by
20130317_DeshSubba_Report-01


भयवाद अध्ययन केन्द्र धरानको आयोजनामा यही फागुन ५,६,७ २०६९मा ‘अन्तरसाँस्कृतिक सद्भाव तथा भयवाद विमर्श” कार्यक्रम धरानमा सम्पन्न भयो ।

कार्यक्रममा उत्तरपूर्व भारतका ९ राज्य असम, मणिपुर, नागालैण्ड, अरुणाचल प्रदेश, मिजोरोम, मेघालय, त्रिपुरा, सिक्किम, पश्चिम बंगाल राज्यबाट अन्तराष्ट्रिय पुरस्कार विजेता येसे दोर्जे थोङ्सी, डा. स्टीमेलेट डखार भारतीय साहित्य एकेडेमी विजेता मणिपुरी भाषामा क्षेत्रीय वीरसिंह, राभा भाषामा यु.सी. राभा, नेपाली भाषामा लीलबहादुर क्षेत्री, विक्रमवीर थापा, छविलाल उपाध्यय थिए । उनीहरूको साथमा चित्रकार, पत्रकार, गायक, चलचित्र निर्देशक, संगीतकार ५० जना जतिको उपस्थिति थियो ।

नेपालको पश्चिमाञ्चल पाल्पा, नवलपरासीबाट पनि कविहरू सहभागी हुन आएका थिए । पूर्वाञ्चलका साहित्यकार, भारतका साहित्यकारको यो अभूतपूर्व मेला थियो । कार्यक्रममा स्थानीय जनसहभागिता, विद्यालयका विद्यार्थी, प्राध्यापकहरूको उल्लेखनीय सहयोग र उपस्थिति थियो ।

पहिलो दिन भानु साहित्यिक समूह काँकडभित्ता, सुस्केरा साहित्यिक समाज बेलबारी, किरात याक्थुङ चुम्लुङ धरानले स्वागत गरेका थिए । धरान सभागृहमा प्रवेशपछि विभिन्न भाषा र जातिको बहुभाषिक कविता गोष्ठी र साँस्कृतिक कार्यक्रम प्रस्तुत भयो । दोस्रो दिन विमल स्मृति पुस्तकालय, धरानका विभिन्न गुम्बाहरूको भ्रमण गरे । नेपालका जनजाति, भारतका जनजाति, विद्यार्थी, आमनागरिकले आ—आफ्नै भेषभूषामा साँस्कृतिक बाजाका संयुक्त नगर परिक्रमा गरे । दिनमा सभागृहमा दुवै तर्फबाट विभिन्न जातिहरूको नाचगाना, कविता गोष्ठी भयो । अन्त्यमा भयवाद विमर्श भएको थियो । भयवादबारेमा देश सुब्बाले व्याख्या गरे । दीपक सुवेदीले भयवादी समालोचना बारेमा बोले । सिक्किम विश्वविद्यालयकी विभागीय प्रमुख डा. कविता लामाले भयवाद अध्यापन र मेघालयकी डा.स्टीमलेट डखारले अन्तरजातीय सम्बन्ध र भयवादबारेमा बोलिन् । कार्यक्रममा डा. छवी गोगाइले अनुवाद गरेको असमीस, सुरेन्द्र लिम्बू परदेशीले अनुवाद गरेको हिन्दी, दीपक सुबेदीको कार्यपत्रहरू र भयवादको पाण्डुलिपि वितरण गरिएको थियो । प्रमुुख अतिथिमा कृष्ण धराबारी, अतिथिहरूमा लीलबहादुर क्षेत्री, क्षेत्रीय वीरसिंह, येसे दोर्जे थोङ्सी, स्टीमलेट डखार थिए । भयवाद अध्ययन केन्द्रका अध्यक्ष प्रा. डा. टंक प्रसाद न्यौपानको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

तेस्रो दिन लक्ष्मी वाचनालय परिवार, आइडियल स्कूल, सागर खड्का, विजयपुर विजयपुर पर्यटन प्रबद्र्धन समूह र विनोद कोइराला, फणीन्द्र श्रेष्ठ, धरान नगरपालिकाले विजयपुरमा स्वागत भएको थियो ।

कार्यक्रमको सफलता निम्नानुसार छ

क. विभिन्न जाति र उत्तर भारतको विद्वान्हरूको जमघट भएको नेपालकै सबैभन्दा ठूलो र ऐतिहासिक साहित्यिक कार्यक्रम ।
ख. नेपालकै सबैभन्दा बढी जनसहभागिता र संघसंस्था सहभागी भएको कार्यक्रम ।
ग. विश्वको श्रष्टा र अतिथिको सम्मानमा विश्व स्रष्टा विभूति स्मारक स्थापना (नेपालमै पहिलो) ।
घ. जातीय तथा साम्प्रदायिक सद्भावमा वृद्धि ।
ङ. नेपाल भारत सम्बन्धमा नौलो आयाम ।
च. पूर्वोत्तर भारत र पूर्वी नेपालको नौलो किसिमको वैचारिक, साहित्यिक तथा साँकृतिक सम्बन्धमा वृद्धि ।
छ. पर्यटन प्रवद्र्धन ।
ज. उत्तर भारतका साहित्यकार, कलाकार, चित्रकार, पत्रकार, संगीतकारहरूको पहिलो पटक एकसाथ भेटघाट र सामूहिक प्रस्तुति ।
झ. उत्तरभारतका असमी, डिमासा, राभा, कार्बी, बोडो, खासी, मिजो, मणिपुरी, तिवा, गारो, नेपाली, हिन्दी, अंग्रेजी, अरुणामेस भाषाको संयुक्त कार्यक्रम ।
ञ. नेपालको विभिन्न जनजाति र उत्तरभारतको विभिन्न जातिहरूको बहुभाषिक कविता र बहुभाषिक संगित प्रस्तुति ।
ट. पहिलो पटक हिन्दू मन्दिर, बुद्धिस्ट गुम्बा र किरातेश्वर मन्दिरहरूको भ्रमण ।
ठ. पहिलो पटक सिरिजङ्गासिंह थेबे, भानुभक्त र देवकोटाको सालिकमा श्रद्धा र पुष्प अर्पण ।
ड. ‘भयवाद’ दर्शनको अन्तर्राष्ट्रियकरण ।
ढ. विभिन्न जाति, धर्म र दुई देशबीच सेतुको काम ।

यस कार्यक्रमको मुख्य उद्देश्य नेपाल र भारतको विभिन्न जातिबीच भाइचारा सम्बन्धको विकास गर्नु, साहित्यकला, संगीतको विकास गर्नु रहेको थियो । भयवाद दर्शनलाई पनि फैलाउनु थियो । विभिन्न संस्था, व्यक्तिको सहयोगबाट यतिको ठूलो साहित्यिक कार्यक्रम सफल भएको नेपालमै पहिलो हो ।

कार्यक्रमबारे उत्तरभारतका कार्यक्रम संयोजक रन काफ्ले भन्छन्, “नेपालका जनजाति र भारतका हामी नेपालीको पीडा, समस्या उस्तै रहेछ ।”

मणिपुरका भवानी अधिकारी यसो भन्छन्, “हामीलाई त असमले पनि बोलाउँदैन । उत्तरभारतमै पनि हामी सिमान्तकृत छौँ । नेपालले सम्मान ढंगले बोलाएर ठूलो गुण लायो । हामीलाई आफ्नै घरमा आइपुगेको जस्तो लाग्यो ।”

मणिपुरी भाषाका भारतीय साहित्य पुरस्कार क्षेत्रीयवीर सिंह भन्छन्, “नेपालका विभिन्न जातिहरू मणिपुरका आदिवासीसँग मिल्दारहेछन् ।”

देश सुब्बा




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *