१)
अन्धकार ती बस्तीभित्र सौरभ बन्न सकुँ
दरिद्रीमा आफू रित्तिई कौरव बन्न सकुँ
निस्काम हुन्छ सुकाम जहाँ घमन्डले राज गर्छ
यस्तो कर्म गरुँ सबको गौरव बन्न सकुँ ।
२)
अविवेकी पुरुषोत्तम राम चाहिंदैन
पाप गर्या छैन मलाई चारधाम चाहिंदैन
कस्तो निसाफ होला त्यस्तो जिउँदै अग्निभित्र होम्ने
मानव मूल्य हराएको देवगाम चाहिंदैन ।
३)
विरानो भो उनलाई आफ्नै आँगन केही टाढा हुँदा
छुन्न भन्छन् गुलाबलाई उसको जिउमा काँडा हुँदा
छउन्जेल बल उनलाई सबले पूज्थे देवी ठानी
बोक्सी भन्दै फाले आज मन्द ढुकढुक प्राण हुँदा ।
४)
दुई दिन दुख पर्दा भाग्य खुनी नभन
बटुवालाई सँगै बाँचौं जूनी नभन
संसारको रितै यस्तो बोले पछि माया बढ्छ
मुटु साटी को हो ऊ खोई कुन्नि ? नभन ।
