Skip to content

तीन दर्जन स्रष्टा आसाम जादै

  • by


काठमाडौं– असम नेपाली साहित्य सभा (अनेसास)को निमन्त्रणामा नेपालबाट तीन दर्जन बढी स्रष्टाहरू फागुन २६ गते आसाम जाने अन्तिम तयारीमा जुट्नु भएको छ । उहाँहरू भारतको आसामस्थित शोणितपुर जिल्लाको विश्वनाथ स्थित कमलीयामा आयोजना हुने तीन दिवसीय साहित्यिक महोत्सवका अवसरमा त्यसतर्फ जान लाग्नु भएको हो । महोत्सवको मूल कार्यक्रम फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुनेछ भने फागुन २९ गतेका दिन शोणितपुरमा रहेका स्थानीयस्तरका साहित्यिक संस्था तथा स्रष्टाहरूसँग नेपाली टोलीको विशेष परिचयात्मक कार्यक्रम तथा कवि गोष्ठी गरिने आयोजकको भनाई छ ।

नेपालको प्रतिनिधित्व गर्दै आसाम जान लाग्नु भएका साहित्यकारहरूमा नौलो नेपालीका कार्यकारी सम्पादक डिल्लीराज अर्याल, अभिवन साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’, तीर्थ स्मृति प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपाने, ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, अन्तराष्ट्रिय पेन नेपालका सहसचिव भिष्म उप्रेती, अनुपम सिर्जना प्रतिष्ठानका कविवर द्वय भुवनहरि सिग्देल, श्रीधर पौडेल तथा सोही संस्थाका उपाध्यक्ष द्वय विनोददेव पन्त, भगवती रोका ‘भूमिका’, सोही प्रतिष्ठानका महासचिव, उक्त कार्यक्रमका सुत्रधार एवं अन्तर·का सम्पादक नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार सो कार्यक्रममा सहभागी हुनुहुने अन्य सदस्य एवं संस्थाका प्रतिनिधिहरूमा वरिष्ठ साहित्यकार बाबा बस्नेत, ज्योति साहित्य प्रतिष्ठानका कोषाध्यक्ष हरिप्रसाद पाण्डे, सदस्य रेणुका थापा ‘सोलु’, अभिनव साहित्य समाजका आजीवन सदस्य एवं बाजुराम पौडेल, मेनका आचार्य, शेरबहादुर ‘भावुक’ र राजेन्द्र ढुंगाना आदि हुनुहुन्छ भने अनुपम सिर्जना प्रतिष्ठान नेपालका आजीवन सदस्य एवं कविवरद्वय मुरारि सिग्देल, श्रीधर पौडेल, ललिता ‘दोषी’का अतिरिक्त गजल एवं मुक्तककारद्वय खगेन्द्र गिरी ‘कोपिला’ र अमला अधिकारी तथा सुधा ढकाल हुनुहुन्छ । त्यसैगरी, सो टोलीका अन्य सहभागी सदस्यहरूमा नौलो नेपालीबाट कौशीला रिमाल, रश्मी रिमाल सहित तेत्तीसजना हुनुहुन्छ ।

राजधानीका विभिन्न ६ वटा साहित्यिक संस्था तथा प्रकाशन र अनेसासकाबीचमा भएको ‘असम– नेपाल साहित्यिक मितेरी कार्यक्रम’ सञ्चालन गर्ने सहमति अनुसार सोही कार्यक्रम अन्तरगत उक्त साहित्यिक महोत्सवको आयोजना गरिएको हो । उक्त अवसरमा नेपालबाट जाने स्रष्टाहरूका लागि स्वागतका साथसाथै कार्यक्रम सम्पन्न गर्नका लागि अनेसासका मूलसचिव मदन थापाको सभापतित्वमा ४१ सदस्यीय मूल स्वागत शक्तिशाली कार्यकारिणी समिति तथा विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ ।

जसअनुसार राजधानीमा क्रियाशील साहित्यिक संस्थाहरूमा अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलंकी, अन्तराष्ट्रिय पेन नेपाल च्याप्टर, जावलाखेल, अभिनव साहित्य समाज जोरपाटी, ज्योति साहित्य प्रतिष्ठान माइतिघर, नौलो नेपाली द्वैमासिक प्रकाशन समिति र तीर्थ स्मृति प्रतिष्ठान सामाखुशीको साझेदारीमा आसामसँग स्रष्टाहरूको आवत–जावतलार्ई अबका दिनमा हरेक वर्ष निरन्तरता दिने भएको जानकारीमा आएको छ ।

उक्त कार्यक्रममा नेपाल र आसामकातर्फबाट नेपाली भाषा, सात्यिको श्रीवृद्धिका लागि इतिहास, वर्तमान र भावि कार्यदिशा निेर्दश गर्ने गरी तयार गरिएका विभिन्न विषय एवं विधा गत आधारका आधा दर्जन कार्यपत्रहरू पनि प्रस्तुत हुनुका साथै अन्तिम दिन शोणितपुर घोषणापत्र जारी गरिने छ । साथै उक्त अवसरमा नेपाली भाषा साहित्य हिजो, आज र भोलि, पद्य साहित्य प्रारम्भ र विकास, नेपाली साहित्यमा नारी हस्ताक्षर, मुक्तकको सैद्धान्तिक र व्यवहारिक पक्ष, हाइकु र नेपाली लोकगित संक्षिप्त चिनारी, आसामसँग साहित्यिक मितेरी कार्यक्रम आवश्यकता र औचित्य जस्ता विषयमा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम तय भैसकेको छ ।

उक्त साहित्यिक महोत्सवका अवसरमा नेपालतर्फका साझेदार संस्थाका अध्यक्षहरू र उक्त कार्यक्रममा कार्यपत्रका प्रस्तोताहरूलाई सम्मान गरिने भएको जानकारीमा आएको छ । साथै, उक्त कार्यक्रमको उदघाटनका अवसरमा कविवर श्रीधर पौडेलको ‘डाँडा माथिका घाम’ महाकाव्य तथा सम्पादक नवराज पहाडीको मुक्तक संग्रह ‘पहाडी पालुवा’को समेत विमोचन गरिने भएको जानकारीमा आएको छ । त्यसैगरी, नेपालबाट जाने स्रष्टाहरूको रचनासहितका रचनाहरूसमेत समावेश भएको ‘स्मारिका’ पनि उक्त अवसरमा विमोचन हुने तयारी गरिएको आसामबाट प्राप्त समाचारमा जनाइएको छ ।

आसामबाट प्राप्त समाचार अनुसार नेपाली स्रष्टाहरूको स्वागत तथा कार्यक्रम सम्पन्न गर्नका लागि अनेसासका मूल सचिव मदन थापाको संयोजकत्वमा एकचालीस सदस्य स्वागत मूल कार्यकारिणी समिति गठन गरिएको छ भने विभिन्न सात उपसमितिहरू समेत गठन गरी तयारीको काम अन्तिम चरणमा पुगेको छ ।

स्मरणीय छ, ‘असम– नेपाल साहित्यिक मितेरी कार्यक्रम’ अन्तरगत गरिन लागेको उक्त साहित्यिक भ्रमण निजीस्तरको पहल तथा खर्चमा यति ठूलो टिम नेपालको प्रतिनिधित्व गर्दै नेपाल बाहिर जान लागेको नेपाली साहित्यको इतिहासमा संभवतः यो पहिलो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *