हाँस्नेहरू जस्तो सुकै मारमा पनि हाँस्छन
जीत हैन कैलेकाँही हारमा पनि हाँस्छन
कसैकसैलाई खुसीको पहाड चाहिँदैन
सानोतिनो खुसीको घारमा पनि हाँस्छन
सय हुनैपर्छ सुख भन्ने शर्त हुन्न
धेरै हैन दुई तीन चारमा पनि हाँस्छन
के को धुलो के को मैलो मनै त हो ठूलो
परिआए जस्तोसुकै खारमा पनि हाँस्छन
संघर्ष गर्दागर्दै बाँच्नुको मज्जा बेग्लै
त्यसैले त खुकुरीको धारमा पनि हाँस्छन
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
