Skip to content

कृष्ण सेन, उमा सिंह हुँदै टीका विष्टसम्मको पत्रकारिता

  • by


हाम्रा स्वरहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा ओठहरूमा ताला झुन्ड्याउँदै
तिमी भन्छौं गाऊ न त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं ।

अहिले रुकुमकी पत्रकार टीका विष्ट मृत्युशैयामा छटपटाइरहेकी छिन् । पत्रकार महासंघ आन्दोलनमा छ । देशैभरका पत्रकारले विभिन्न कोणबाट उक्त पासविक कर्मको विरोध गरिरहेका छन् । सुब्बा कृष्णलाल अधिकारीबाट शुरुभएको कलमजीविलाई मार्ने, यातना दिने काम अहिले आएर टीका विष्टसम्म पुगेको छ । माथिको रेडियोबाट यो गीत सुनेपछि मेरो ध्यान एकाएक २०५९ असार १२ गतेको जनआस्था साप्ताहिक पत्रिकातर्फ मोडिने गर्छ, जहाँ एक दुःखदायी समाचार छ । जसको शीर्षक छ – कृष्ण सेन पशुपतीमा खरानी । २०५९ साल जेष्ठ १३ गते महेन्द्र पुलिस क्लबमा कृष्ण सेन मारिएको खबर सो शीर्षकमा अटाइएको छ । उनको अपराध भने जनताको पक्षमा कलम चलाउनु पहिलो हो । शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा विद्रोह दमन गरी मुर्दाशान्ति भित्र्याउने क्रममा युग थाम्ने अक्षरकर्मीको कलमलाई घातक हतियार ठानिएको यो पहिलो पटक भने होइन । यस निस्कृष्ट एवं पाशविक कार्य विपरीत जति खेद प्रकट गरेपनि कमै हुन्छ । सेनको हत्या पूर्व पनि अक्षरकर्मीहरूलाई राज्यले दुःख दिएका त थिए तर कायरतापूर्ण हत्यासम्मको राक्षसी व्यवहार देखाएको भने कमै थियो । अन्धकारमा जघन्य अपराध गर्दै आएको राज्य अक्षरहरूबाट भएको उज्यालोदेखि आत्तियो र अक्षरकर्मीहरूको भौतिक लिला समाप्त गर्न तम्सिएको हो भन्ने ठहरमा मेरो मन पुग्यो । इतिहासका पानामा मर्कपर्व साहित्य क्षेत्रमा चर्चित छ । सुब्वा कृष्णलाल अधिकारीले मर्कको खेती शीर्षकको पुस्तक प्रकाशन गरे वापत जेल जीवन बिताउनु परेको थियो । जेलमै उनले शहादत प्राप्त गरेका थिए । साहित्य क्षेत्रका पहिला सहिद भनेर उनी नै कहलिन्छन् । कलमकर्मीहरू धरापमा पर्नु र ज्यान दिन बाध्य पारिनुभनेको हिटलर र मुसोलिनीको शासन शैली फर्काउनु हो । द्वन्द्वकालदेखि आजसम्ममा दर्जनौं पत्रकारहरूले ज्यान गुमाउनु र केही अज्ञात अवस्थामा नै रहनुले राज्य आतड्ढ, भ्रष्टचार र दण्डहीनतालाई प्रश्रय मिलेको छ । नेपाल पत्रकार महासंघद्वारा प्रकाशित प्रतिवेदनका अनुसार जनादेश साप्ताहिक पत्रिकामा आवद्ध भएर कार्य गर्ने १० जना पत्रकारहरूको जीवनलीला समाप्त भएको छ । ती हुन्- देवकुमार आचार्य, कृष्ण सेन, कमल एसी, अम्बिका तिमल्सिना, विनोद सजना चौधरी, नगेन्द्र पोख्रेल, बद्री खडका, आनन्दकुमार थापा, चीनबहादुर बुढा र जगतप्रसाद पण्डित । त्यस्तै जनविद्रोही साप्ताहिकसँग आबद्ध रहेर मोहन खनाल र इश्वर ढुंगाना र गणतन्त्र एफ.एम. का संवाददाताका रुपमा कार्यरत रहेर भीमबहादुर धर्ती र सुभाष मैनाली जस्ता कलमजीविहरू शहादत भएका छन् । कञ्चन प्रियदर्शी, शम्भु पट्टेल, राजकुमार केसी, नवराज शर्मा, कुमार घिमिरे, ज्ञानेन्द्र खडका, गोपाल गिरी, पदमराज देवकोटा, डिकेन्द्रराज थापा, धनबहादुर रोकामगर, खगेन्द्र श्रेष्ठ, महेश्वर पहाडी, वीरेन्द्र साह, पुष्करबहादुर श्रेष्ठ र हालै रेडियो टुडे एफएमकी उमा सिंह जस्ता पत्रकारहरूको रगत यस धर्तीमा बगिसकेको छ । रुकुमकी पत्रकार टीका विष्ट मृत्युशैयामा छटपटाइरहेकी छिन् । धमला जस्ता सोर्सफोर्सवालाहरूले चाहिँ पीतपत्रकारिता गर्दा पनि भएकै छ । यी कलम र वाणीका धनी सरस्वतीका सन्तानहरूको उच्च शहादतले स्वतन्त्रताको विश्वसनीयता, तर्कपूर्णता र नैतिकताको आधारहरू नै स्वतन्त्र सञ्चारको सारत्व हो र नियन्त्रित सञ्चार भनेको तानाशाही भ्रमको अव्यखित रुप हो भन्ने कार्लमाक्र्सको भनाइलाई खिल्ली उडाएको छ । यस छोटो लेखमा तिनै शहादत प्राप्त गर्ने मध्येका एक कृष्ण सेन इच्छुक को राजविराज (सप्तरी) जेल बसाइका क्रममा अनुभूत भएका एकाध कुरा, प्रसंगहरू उल्लेख गर्ने जमर्काे गर्दै छु ।

एक प्रहरी अफिसरको वयान यहाँ समेट्नु उचित होला… यो सेन यहाँ पिट्दापिट्दै मर्यो भने देख्नेहरू बाहिर भुक्छन् । त्यो भुकाइले हामीलाई ठूलो असर पार्छ । अझ यो सेन त झन् शक्तिशाली मान्छे हो । यसलाई जहाँ जेल चलान गर्दा पनि पत्रकारहरू, मानवअधिकारवादीहरू पछि लागिहाल्छन् । यो पत्रकारहरू/मानवअधिकारवादीहरूको जात पनि अचम्भकै हुँदो रहेछ । साथीहरू भन्थे- यसलाई राजविराजबाट जेल सरुवा गर्ने बहानामा बेपत्ता पार्ने योजना थियो । पत्रकार महासंघ, सप्तरीले थाहा पाइहालेछ । त्यहाँबाट सिराहा ल्याउन भनेर हिँड्दा तत्कालिन पत्रकार महासंघका अध्यक्ष वैद्यनाथ झा साथ लागिहाले रे । सन्त पत्रकारका रूपमा चिनिएका दारी पाल्ने ती पत्रकार आँटी रहेछन् । फर्कभन्दा जहाँ लान्छौ सेनलाई म पनि त्यहीँ जान्छु भन्थे रे । जेल सरुवा गरेकै हो भने र सिराहा जेल लाने नै हो भने जेलभित्र सेनजीलाई पठाउनुस्, अनि म पनि दुईचारवटा कुरा त्यहाँका जेलरसँग गरेर सप्तरी फर्कन्छु भन्थे रे । सबै कुरा त मलाई पनि थाहा छैन । ती अध्यक्ष वैद्यनाथ झाले नछाडेपछि सेनलाई बोकेर हिँडेको गाडी सिराहाको विष्णुपुरबाटै राजविराज फर्काइएछ । पुनः राजविराज जेलमा नै पठाएपछि झा फर्किएछन् । त्यही राती नै यसलाई राजविराज जेलबाट महोत्तरीको जलेश्वर जेल चलान गरिएछ । पछि यो विशिष्ठ वर्गको व्यक्ति भएकाले दवाव सिर्जना भएछ । अदालतले रिहाई गरिहाल्यो । जनदिशा दैनिक पत्रिकाको सम्पादन गर्नु पनि यसको अपराध हो । चटक्कै लेख्न छाडेको भए त हुन्थ्यो नि । भुस भरिएको दिमाखमा यी कुराहरू कहाँ आउँछन् ! मर् अब मर् । कुकुरको मरण भोग् ।

हाम्रा विचारमा प्रतिबन्ध लगाउँदै
हाम्रा हातमा हतकडी पहिर्याउँदै
तिमी भन्छौ-लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ ।

हाम्रा आस्थाहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा खुट्टाहरूमा नेल गिराउँदै
तिमी भन्छौ-हिँड्न त हिँड
तर यो बाटो नहिंँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ ।

ओ शासक ! प्रशासकहरू !
अस्वीकार्य त हामीलाई
तिम्रा निरंकुश आदेशहरू
तिमी जतिसुकै जुलुम र
उत्पीडनहरू शुरु गर
सक्छौ भने हाम्रा चेतनामा प्रतिवन्ध लगाऊ
र सत्यलाई कैद गर
तर ओ तानशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ
उठाइरहन्छौँ, हामी तिम्रा विरुद्ध विद्रोहका मुटठीहरू
ओ अत्याचारका पहरेदारहरू !
जित हाम्रै हो
तिम्रो हार माथि विजयको झण्डा गाड्दै
हामी भने अथक र अविचल
संघर्ष गरिरहन्छौँ ।

२०५६ साल बैशाख ६ गते काठमाडौंमा कृष्ण सेन गिरफ्तार भएका थिए । पछि उनलाई एक थान अवैध बन्दुक र चारवटा गोली सहित प्रहरी गस्ती टोलीले पक्राउ गरेको झुट्टा मुचुल्का तयार गरी मुद्दा लगाइयो । यस्तो किसिमको राज्य आतड्ढप्रति रुष्ट हुँदै पत्रकार मनऋषि धितालले २०५७ चैत्र महिनाको दिशाबोध मासिक पत्रिकामा लेखेका छन् -अवैध हातहतियार बोकेको झुट्टा प्रमाण जुटाई एउटा कलमको सिपाहीलाई बन्दुक बोकेको आरोपमा गैरकानुनी थुनामा राख्नु स्वयम् सरकारको पंचायती शैली थियो । पंचायतकालमा पनि धेरै निर्दोष नागरिकलाई एक स्थानबाट निहत्था गिरफ्तार गरी अर्काे स्थानमा लगेर प्रहरीसँग मुठभेड गरेको आरोपमा या त हत्या गरिन्थ्यो अथवा आजीवन काराबासको सजाय दिने प्रयत्न गरिन्थ्यो । वर्तमान (तत्कालिन) सरकारले पनि बहुदलीय व्यवस्था स्थापना भएको एघार वर्षभित्र हजारौ त्यस्ता घटनाहरू दोहोर्याइसकेको छ ।

कृष्ण सेनलाई सिराहा जेल हुँदै राजविराज जेलमा ल्याइयो । त्यस बेला म पत्रकारिताको छात्र थिए । वकिल मदन बरालको मद्दत र प्रोत्साहनले कलम साहित्यिक, त्रैमासिक, जनादेश साप्ताहिक र महिमा साप्ताहिक पत्रिकाहरूका प्रत्येक जसो अड्ढहरू पढ्थेँ । डा. ऋषिराज वरालका कथा, ईश्वरचन्द्र ज्ञवालीका कविता र महिमा र जनादेशमा प्रकाशित पत्रहरूले मेरो दिमाखमा अमिट छाप पारेका थिए । कथा, कविता र पत्रहरू चाहिँ म पटकपटक पढ्थेँ । अरु राजनैतिक लेखहरूमा ध्यान एकोहोर्याउन सकेको थिइन । हुनत, त्यसबेलाका कविता, निबन्ध कथा पत्रहरू सबैमा राजनीति मुछिएको हुन्थ्यो । जताततै जनयुद्धको लहर फैलिएको थियो । ती पत्रिकाका सम्पादक कृष्ण सेन राजविराजमै छन् भन्ने सुनेपछि भेटघाट गर्ने रहर जागेको थियो । त्यस्तो हैसियत बनाउन नसकेको परिप्रेक्ष्यमा उत्ति साह्रो सहज काम थिएन । स्थानीय सत्यापन साप्ताहिक पत्रिकामा म कविताहरू लेख्थेँ । त्यस वेलाका सम्पादक गोविन्द अधिकारी मेरा कविताहरूलाई प्राथमिकता दिएर छाप्थे । पछि सत्यापनका सम्पादक व्यासशंकर उपाध्याय भए । उनले पनि मेरा धेरै कविताहरू प्राथमिकताका साथ छापिदिएर प्रोत्साहन दिएका छन् । हो त्यही पत्रिकामा एक कुनामा मेरो कविता छापिन्थ्यो भने अर्काे कुनामा कृष्ण सेन इच्छुक को कविता छापिन्थ्यो । उनका ती कवितामा आञ्चलिकता झल्किन्थ्यो भने मेरो सिकारु कवितामा राष्ट्रिय दृश्य परिदृश्यका कुरा अपरिपक्व तवरले प्रस्तुत हुन्थे । कृष्ण सेन जस्ता ख्यातिप्राप्त लेखकका कविताहरू छापिने पत्रिकामा आफ्ना पनि कविताहरू छापिएको पाउँदा म असाध्यै गौरवान्वित हुन्थेँ । साहित्य क्षेत्रमा हेलिने रहन मनमा तीव्र थियो । त्यसैले सेनका आञ्चलिकता प्रदर्शन गर्ने कविताहरूबाट मैले धेरै प्रभाव ग्रहण गरेँ । एक दिन मनभरि अथाह जिज्ञाशा बोकेर सेनलाई भेट्न कारागारतर्फ मेरो गोडा लम्किए । त्यस बेलाको मेरो अपरिपक्व मानिसकताले जिज्ञासा प्रकट गर्ने सामर्थ्य नै राखेको थिएन । क्याम्पसमा सँगै पढ्ने प्रहरी साथीको कार्यक्षेत्र नै त्यही थियो । त्यसैले उनकै सहयोगले सेनसँग साक्षात्कार गर्ने मेरो रहर पूरा भयो । छोटो भेटमा मैले जिज्ञासा राख्ने हिम्मत नै गरिन । सेनले मेरो कविता सत्यापनमा त्यो पढेको कुरा गरे । समाजवादी यथार्थवादका धरातलमा रहेर कविता लेख्न प्रोत्साहन गरे । जनादेश, महिमा र कलममा पनि कविता पठाउन भने । जनताको पक्षमा र जनताको हितमा कलम चलाउने कलमजीवि कालजयी हुन्छ भन्ने कुरा गरे । त्यस बेला मैले साहित्यका विराट प्रतिभाहरू सिकारु कलमजीविहरूलाई उकास्न, मलजल गर्न कुनै कसर बाँकी राख्दा रहेनछन् भन्ने थाहा पाएँ । उनको नम्र बोलिवचन, स्पष्ट र निष्कलंक व्यवहारबाट प्रभावित हँुँदै अर्को पटक भेट हुँदा जिज्ञासाको पोको खोल्ने विश्वास लिएर उनीबाट विदा भएँ । तर त्यो अर्को भेटको समय कहिल्यै आएन् । उनी महोत्तरी जेल पुर्याइएछन् र त्यहीबाट रिहा भएछन् ।

सप्तरी जिल्लालाई नै कर्मथलो बनाएर कलम र वाणीका आधारले जीवन चलाइरहेका पत्रकाहरू- वरिष्ठ पत्रकार शिवहरि भट्टराई, वैद्यनाथ झा, व्यासशंकर उपाध्याय, श्यामसुन्दर यादवहरूसँग सेनजीका बारेमा सोधखोज गर्दा केही मननीय कुराहरू फेला पारेको छु । एक पत्रकारको हैसियतले झुट्टा मुद्दामा बन्दी बनाइएका सेनको रिहाइको लागि पहल भने गरिएको रहेछ । दशैं, तिहार, होली जस्ता विशेष चाडपर्वहरूमा यहाँका पत्रकार मित्रहरूले दिएको फलफूल लगायतका खाद्य सामग्रीहरू सेनले सबै कैदीहरूलाई बाँडेर मात्र आफू ग्रहण गर्दा रहेछन् । साना हुन् या आफू समान वा आफूभन्दा उच्च कोटीका सबैसँग उत्तिकै र उस्तै प्रिय व्यवहार गर्दा रहेछन् । पक्षधर कित्ताका आस्थाका बन्दी हुन् या प्रतिकित्ताका मानिस हुन् दुवैथरीका प्रिय व्यक्ति भएर सेनजीले राजविराज जेलमा जीवन बिताएछन् । लोभ, पाप, द्वेष र इर्ष्यारहित निस्वार्थी मान्छे हुन् कृष्ण सेन भनेर वरिष्ठ पत्रकार वैद्यनाथ झा कृष्ण सेनको प्रशंसा गर्दछन् । सर्वाेच्च अदालतले कृष्ण सेनलाई रिहाई गर्न आदेश दिएको समयमा प्राविधिक कठिनाइका कराणले सेनलाई रिहाई नगरीकन जेल सरुवा गरिदै छ भन्ने सप्तरी जिल्ला प्रशासनको कुरो सुनेपछि वरिष्ठ पत्रकार शिवहरि भट्टराईले भनेका कुरा घतलाग्दा र मननीय छन् । त्यसबेला प्रशासन समक्ष उनले भनेको थिए – सेनजीलाई रिहाई गरे पनि सरुवा गरे पनि हाम्रो रोहबरमा हुनुपर्छ । भट्टराईज्यूले यसो भन्नुमा रहस्य लुकेको थियो । त्यस बेला प्रशासन सेनजीलाई वेपत्ता पार्ने सुरमा थियो । यसको प्रमाण पत्रकार एवं तत्कालिन नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष वैद्यनाथ झा हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ- कृष्ण सेनलाई सिरहा जेल सरुवा गर्दा साथ म थिएँ । सिरहा पुग्न ९ कि.मी. मात्र बाँकी थियो । एकाएक गाडी रोकेर माथिको आदेश भन्दै सेनजीलाई फेरि राजविराज फिर्ता ल्याइयो । सेनजीलाई राती जेल बाहिर आउन भनिदो रहेछ तर उनी मान्दा रहेनछन् । फागुन २८ गते बिहान चार बजे अफिसबाट बोलावट हुँदा सेनले उज्यालो नभइकन जेलबाट ननिस्कने खबर पठाएछन् । ५ः३० बजे बिहान पुनः आग्रह गर्दा उनले भनेछन् -म सधैँ अँध्यारोको विरुद्ध उज्यालोको लडाइँमा सामेल हुँदै आएको छु । त्यसैले जेलभित्र पनि अँध्यारोको विरुद्ध संघर्ष गर्न नछाड्ने, उज्यालो नभइकन र पत्रकारहरूको उपस्थिति बिना चोर बिरालो जस्तो लुसुक्क अँध्यारोमा निस्किदिन । अन्त्यमा सेनजीलाई हातपाउ समातेर झ्याइकुटी खेलाउँदै बाहिर लग्न खोजिएछ । यो दृश्यबाट आजित भएर एक कैदीले भनेछन् -तपाईले यसरी आफ्नो बेइज्जती गराउनु भएन, हाम्रो अगाडि त हिँडेर गइदिनुस् । यसको प्रतिकार गर्दै सेन कुर्लिएछन् -अन्यायको प्रतिकार जहाँ जसरी गर्न सकिन्छ गर्ने हो । तपाईहरू प्रजातन्त्रको सच्चा रुप हेर्दै जानुस् । अन्यायको विरोध गर्नु शर्म र लज्जाको कुरा नभएर ठूलो इज्जत र गर्वको कुरा हो । त्यसपछि कसैलाई सुइको नै नदिई सेनजीलाई जलेश्वर पुर्याइएछ । तीन हजारको संख्यामा पत्रकारहरूले पूरै नेपालभरि विरोध गरेपछि चैत्र २ गते पत्रकार रविन्द्र उप्रेती, दशरथ भण्डारी, इन्सेकका प्रतिनिधि निरञ्जन बरालको रोहवर र जिम्मामा सेनलाई जेल मुक्त गरिएछ । ती पत्रकार मित्रहरूले उनलाई चैत्र ३ गते हवाइमार्गद्वारा काठमाडौं पुर्याएछन् । सुब्बा कृष्णलाल अधिकारी, कृष्ण सेन, उमा सिंह हुँदै टीका विष्टसम्मको पत्रकारिता, लेखन क्षेत्र पीडादायी मोडबाट अघि बढिरहेको छ । मानसिकरुपले कोहीभन्दा कम नभए पनि विशेष गरी महिला पत्रकारहरू महिला भएकै कारणले शारीरिकरुपले कमजोर हुन्छन् भन्ने मानसिकता अपराधीहरूको हुँदो हो । त्यसैले देवकुमार आचार्य, कृष्ण सेन, कमल एसी, विनोद सजना चौधरी, नगेन्द्र पोख्रेल, बद्री खडका, आनन्दकुमार थापा, चीनबहादुर बुढा, जगतप्रसाद पण्डित, मोहन खनाल, इश्वर ढुंगाना, भीमबहादुर धर्ती, सुभाष मैनाली, कञ्चन प्रियदर्शी, शम्भु पट्टेल, राजकुमार केसी, नवराज शर्मा, कुमार घिमिरे, ज्ञानेन्द्र खडका, गोपाल गिरी, पदमराज देवकोटा, डिकेन्द्रराज थापा, धनबहादुर रोकामगर, खगेन्द्र श्रेष्ठ, महेश्वर पहाडी, वीरेन्द्र साह, पुष्करबहादुर श्रेष्ठजस्ता पुरुष पत्रकारका अतिरिक्त अम्बिका तिमल्सिना, उमा सिंह जस्ता महिला पत्रकारहरूको रगत यस धर्तीमा बगिसकेको छ । रुकुमकी पत्रकार टीका विष्ट काठमाण्डूका एक अस्पतालको मृत्युशैयामा छटपटाइरहेकी छिन् । यसरी पत्रकारहरू राज्यको वेवास्थाका सिकार भइरहेछन् । सप्तरीलाई कार्य क्षेत्र बनाएर पत्रकारितामा सक्रिय अम्बिका दाहाल, सुधा देव, ललिता साहजस्ता महिला पत्रकारहरूको सहास र धैर्यता प्रशंसनीय छ ।

यो खेलले धेरै सपुतहरू मरे । जो मरे पनि गरिब बाउआमाका सन्तान मरे । केही जल्लादहरूको यो खेलले हामी बदनाम भयौँ । यस्तै अत्याचारले पिल्सिएकाहरू यहाँ अनगिन्ती छन् । यत्तिखेर हामी इतिहासको सङ्गीन घडीमा यात्रा गरिरहेका छौँ । विगतको जस्तो कालो इतिहास सधैँ रचिन्न । यी कृष्ण सेन इच्छुकजस्ता पत्रकारहरूको बारेमा जे जति भनिए पनि त्यसले यिनको समग्र मूल्यांकन हुन सक्तैन । यिनको दिव्य महान्ताको वयान गर्न शब्दको अर्थ लगाउने सामर्थ्य गुमेको क्षणमा छौँ हामी । कायरतापूर्ण दमन गर्ने यो यात्रा गद्दारहरूको यात्रा हो । जे नहुनु थियो भइगयो । अब यिनीहरूले हिँडेको बाटोका सक्कली पथगामी बनौँ । यिनीहरूले देखाएको बाटोमा लागौँ । हैन लाग्न सक्तैनौँ भने पनि लागेकाहरूलाई समर्थन गरौँ । जबसम्म हामी यी कृष्ण सेन इच्छुकजस्ता पत्रकारहरूको उमारेका बेर्नाका सुसारे हुँदैैनौँ तबसम्म यिनले आफ्नो जीवनमा जोडेजस्तै शब्द र कर्मको सन्तुलन आ-आफ्नो जीवनमा जोड्न सक्तैनौँ । जीवनभर जनताका हितमा शब्द समर्पण गर्दै आएका आस्था र विश्वासका सतिसाल यी कृष्ण सेन इच्छुकजस्ता पत्रकारहरूको भौतिक जीवन लीला यही समाप्त भए पनि यिनीहरूका शब्दहरूको पहाड सगरमाथाझैं उच्च छ । त्यस पहाडले अपराधीहरू र जनताको भक्षक गर्ने अन्य सारा पापिष्ठहरूलाई बाँकी छाड्ने छैन । यी कृष्ण सेन इच्छुकजस्ता पत्रकारहरूको महान्ता र वलिदानीले जनता पिरोल्ने पिराहाहरूलाई थिचिइरहनेछ, थिचिरहनेछ । बदलामा जनताहरू भने उक्सिरहनेछन्, उक्सिरहनेछन् । यी कृष्ण सेन इच्छुकजस्ता पत्रकारहरू हरेक कलमजीविहरूलाई कलमबाटै राष्ट्रसेवा गर्न प्रेरित गरिरहनेछन्, गरिरहनेछन् । धन्य, धन्य जनताका प्यारा पत्रकारहरू ! तिम्रो कलमलाई यो सच्चा नेपालीको सलाम ! ! तिमीलाई पौने तीन करोड नेपालीको श्रद्धासुमन ! ! !

जो मरे पनि गरिब बाउआमाका सन्तान मरे । केही जल्लादहरूको यो खेलले हामी बदनाम भयौँ । यस्तै अत्याचारले पिल्सिएकाहरू यहाँ अनगिन्ती छन् । यत्तिखेर हामी इतिहासको सङ्गीन घडीमा यात्रा गरिरहेका छौँ । विगतको जस्तो कालो इतिहास सधैँ रचिन्न । कायरतापूर्ण दमन गर्ने यो यात्रा गद्दारहरूको यात्रा हो । जे नहुनु थियो भइगयो । अब यिनले हिँडेको बाटोका सक्कली पथगामी बनौँ । यिनले देखाएको बाटोमा लागौँ । हैन लाग्न सक्तैनौँ भने पनि लागेकाहरूलाई समर्थन गरौँ । जबसम्म हामी यी सेनले उमारेका बेर्नाका सुसारे हुँदैैनौँ तबसम्म यिनले आफ्नो जीवनमा जोडेजस्तै शब्द र कर्मको सन्तुलन आ-आफ्नो जीवनमा जोड्न सक्तैनौँ । होसियार ! होसियार ! ! होसियार ! ! ! होसमा आऊ, होसमा ल्याऊ ।

ऋतिक प्रकरण पछि काठमाडौं तथा राजविराज लगायतका ठाउँमा उत्पन्न साम्प्रदायिक विरुद्ध इच्छुकले लेखेको प्यारो मधेसप्रति शीर्षकको कविता प्रस्तुत गर्नु यहाँ श्रेयस्कर हुन्छ भन्ठान्छु । यो कविता वर्ष २, अंक ३८, २०५७ माघ ८ गते आइतबार (२१ जनवरी २००१) को सत्यापन साप्ताहिकमा प्रकाशित छ ।

यति निकटबाट पहिले
कहिल्यै देखेको थिइन
क्रोधले उत्तेजित तिम्रो अनुहार
यत्ति निकटबाट पहिले
कहिल्यै देखेको थिइन
रोषले आक्रोषित तिम्रो आवाज
यत्ति निकटबाट पहिले
कहिल्यै सुनेको थिइन ।

तिम्रो सघन पीडाको अनुभव
ए मेरो प्यारो मधेस ।
ए सुन्दर श्यामल प्रदेश ।।

यत्ति निकटबाट पहिले
कहिल्यै भएको थिएन
तिम्रो गहन संवेदनाको आभाष ।

म पहाड हुँ/तिमी मधेस
म हिमाल हुँ/तिमी तराई
म लेक हुँ/तिमी मैदान
ढुंगाको भर माटो तिमी हौ
माटोको भर ढुंगा म हुँ
म लालीगुराँस/तिमी रातो गुलाफ
म लालुपाते/तिमी गुलमोहर
म शितल बतास/तिमी न्यानो हावा
तिमी ग्रीष्म हौ /म वर्षात् हुँ
भिन्न भिन्न पन्छीहरूको
भिन्न भिन्न गानजस्तो
हाम्रो भाषा/हाम्रो भेषभुषा
सप्तरंगी इन्द्रेणीको सप्तरंगी मालाजस्तो
हाम्रो रुपरंग/हाम्रो मुखमुद्रा
भिन्न भिन्न भए पनि
ए मेरो मधेस ।
ए सुन्दर श्यामल प्रदेश ।।

हामी एउटै प्रकृतिका
भिन्न भिन्न ऋतुहरू हौँ
हामी एउटै फूलवारीका
भिन्न भिन्न फूलहरू हौँ ।

यत्ति बेस्सरी पहिले
कहिल्यै अनुभूत भएको थिएन
हाम्रो अभिन्न एकता
यत्ति बेस्सरी पहिले
कहिल्यै महसुस भएको थिएन
हाम्रो प्रगाढ धनिष्ठता
यत्ति बेस्सरी पहिले
कहिल्यै प्रखर भएको थिएन
हाम्रो वर्गीय मुक्ति
ए प्यारो मधेस
ए सुन्दर श्यामल प्रदेश ।।

यत्ति बेस्सरी पहिले
कहिल्यै मुखर भएको थिएन
हाम्रो प्रबल राष्ट्रबोध
यत्तिबेला, पानी धमिल्याएर कसैले
माछा मार्न चाहेको हुन सक्छ
होस गर/हाम्रै घर डढाउन
कसैले विद्वेषको आगो झोसेको हुनसक्छ
आगोको भर पानी हामी
पानीको भर आगो हामी
राम्ररी आँखा खोल ।

कताको आँप कताको झटारो
यत्तिबेला हामीलाई जुधाउन कसैले
फुटको कुचक्र रचेको हुनसक्छ
एउटै कर्म भूमिका दाँयावाँया हात हौँ हामी
हाम्रो साँझा लक्ष्यको तारो एउटै छ
एउटै मातृभूमिका दाँयावाँया काँध हौँ हामी
हाम्रो साझा भविष्यको तगारो एउटै छ
एउटै पितृभूमिका दाँयावाँया पाउ हौँ हामी
हाम्रो साझा गन्तव्यको गोठालो एउटै छ
ए प्यारो मधेस ।
ए सुन्दर श्यामल प्रदेश ।।

हाम्रै कर्मशीलतामा
देश अझ जीवनशिल बन्छ
हाम्रै गतिशिलतामा
देश अझ प्रगतिशिल बन्दछ
एउटै साज र आवाजका
एउटै होस्टे र हैसे हामी
हाम्रै एकता र पौरखले
देश अझै गौरवशाली बन्छ ।

नन्दलाल आचार्य
तपेश्वरी-१, गल्फडिया, उदयपुर
हालः लिट्ल फ्लावर मा.वि., राजविराज-९, सप्तरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *