Skip to content

मन लाग्छ, लाग्दैन

  • by


म असाध्यै चिच्याएँ
मेरो माटो नबेच
मेरो खुट्टो नभाँच
म बेस्कन चिच्याउँदै गएँ
मेरो चिच्याहट
बीच जंगलको जूनकीरीको आवाज भयो
असारे भ्यागुताको ट्यार्रटुर्र आवाज भयो
म घोत्लिएँ, म बदलिएँ ।
अब भने मलाई
ए मित्र ! अचम्मको रोग लागेको छ
ए मित्र ! असाध्यै भोक लागेको छ ।
अचेल मलाई
डढेको क्षितिज हेरी बस्न मन लाग्छ
नेपालगंज डढेजस्तो ठृ्लो आगो मनपर्छ
झगडै झगडा
मारकाटै मारकाट
अविश्वासै अविश्वास
रगतै रगत
यिनै मात्र रुच्न थालेको छ
टेकवीर र वात्सायनहरूलाई कस्तो रङ मनपर्छ कुन्नि ?
मलाई त फगत रातै रंग मनपर्छ
नेपालीको खोजीका सङ्गीतहरू भागेको मनपर्छ
मलाई त आँधी र तूफानहरूको सिम्फोनी मात्र मनपर्छ
माफ गर्नुहोला,
म मेरो छाती चिरेर तपाईंलाई देखाउन सक्तिन
राम-सीताको भक्त हनुमान बन्न सक्तिन ।

रमाउने इच्छाले प्रेरित मस्तिष्कहरू
सृ्क्ष्म निरीक्षण गर्न त्रिनेत्र जड्नेहरू
अर्काको मन बुझ्न खोज्ने मनहरू
थाहै नपाई नाङ्गिएझै ंशिशिरका वृक्षहरूजस्तो
नाङ्गिदैछन् आजका संस्कारवीहिन मानवहरू ।
कस्तो विडम्बना
के नाङ्गिनैपर्छ वसन्त ल्याउन वृक्षहरूले ?
के नाङ्गिनैपर्छ सभ्य कहलाउन मान्छेहरूले ?
आवश्यक छैन
रुखहरूले शिशिरमा नाङ्गिनैपर्छ भनेर
ठाउँठाउँमा लज्जित आँखा जन्माउनैपर्छ भनेर
यसो नहुने हो भने
नाङ्गिएर आउने वसन्तको खाँचो छैन
पात्तिएर आउने सभ्यताको मृ्ल्य छैन
यो कलम पनि जोडतोडका साथ
ह्वालह्वाली मसी छाद्दो छ
शिशिरलाई पचाएर रुखहरू वसन्त अंगालृ्न्
अत्याधुनिकता पन्छाएर
मान्छेहरू संस्कारपृ्र्ण सभ्यताको
गम्भीर पहाडहरू उक्लियृ्न्
दानव मन पन्छाएर मानव मन धारण गरुन् ।
अनि मात्र मलाई
डढेको क्षितिज हेरी बस्न मन लाग्न छाड्छ
नेपालगंजकोझैं डढेलो निभाउन मनपर्छ
झगडै झगडा
मारकाटै मारकाट
अविश्वासै अविश्वास
रगतै रगत
यिनैका विरुद्धमा विहानीहरू डाक्ने इच्छा हुन्छ
टेकवीर र वात्सायनहरूको रङ मनपर्छ
अनि त मलाई फगत विवेकी रंग मनपर्न थाल्छ
नेपालीको खोजीका सङ्गीतहरू बजेको मनपर्छ
अँध्यारो विरुद्धको
आँधी र तूफानहरूको सिम्फोनी मात्र मनपर्छ ।

नन्दलाल आचार्य
तपेश्वरी-१, गल्फडिया, उदयपुर
हालः लिट्ल फ्लावर मा.वि., राजविराज-९, सप्तरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *