युद्ध साहित्यको नयाँ उचाइ “अफगानी रणमैदान”

केदार संकेत सुनुवारजीसँग मेरो दशक पुरानो चिनजान छ। शब्दसिर्जनाले भर्च्युअल दुनियाँमा भेटिएर हामी आजपर्यन्त न्यानो र आत्मीय मित्रतामा बाँधिएका छौँ ।

सुरुमा कविको रुपमा चिनेको मैले कवि केदारजीका परिचयका फराकिला पाटाहरू बिस्तारै खुल्दै गएर थाहा भयो उहाँ त पेशाले सैनिक हुनुहुँदो रहेछ। जागिरको सिलसिलामा सिरानीमा हरदम बन्दुक बोकेर सुत्ने लेखक केदार संकेत खल्तीमा भने कलम छुटाउनुहुन्न र त बन्दुकको छेवैबाट खण्डकाव्य, गद्य कविता-सङ्ग्रह, हाइकु-सङ्ग्रह, नियात्रा-सङ्ग्रह लगायतका थुप्रै साहित्यिक कृति नेपाली साहित्यलाई सुम्पिसक्नुभएको छ। पहिलो पटक केदार संकेत सैनिक हो भन्ने थाहा पाउँदा मलाई थोरै अचम्म लागेको थियो। तत्क्षण मलाई लाग्यो कलम र बन्दुक एकसाथ कसरी हिँड्दा हुन् ? शायद त्यही उत्सुकता मेट्न पनि मैले केदारजीका कृतिहरू खोजी खोजी पढेँ । उहाँका यसअघिका कृतिमध्ये “एथेन्सको झरी” नियात्रा सङ्रह मेरो सर्वप्रिय कृति हो । जसको लगभग सबैजसो कथावस्तु मलाई आज पनि याद छ ।

उनै प्रिय लेखकको भर्खरै बजारमा आएको नवीनतम कृति हो “अफगानी रणमैदान” । पुस्तकको नाम र कभरचित्रले नै बताउँछ कि प्रस्तुत कृति युद्धसँग सम्बन्धित छ। यो कृति मुलत: अफगानस्तानको काबुलस्थित अमेरिकी कम्पनीको विविध शाखाहरुमा तालिबानी समूहले गरेको साङ्घातिक हमलाको फेहरिस्त हो जतिबेला लगभग ५०० जति सैनिकहरू क्याम्पमा थिए। विश्व समाजलाई आजपर्यन्त झस्काइरहने त्रासदी युद्धमध्ये उक्त अफगानी युद्ध पनि एक हो। सोही युद्धमा सुरक्षा कमाण्डरको रुपमा होमिएर स्वयंले प्रत्येक्ष देखे-भोगेको सग्लो वर्णन नै यस कृतिको मूर्त रुप हो। एउटा सुरक्षाकर्मीले युद्ध मैदानमा आफूलाई होम्दा उसको मनोदसा कस्तो हुन्छ? आँखा वरिपरि सम्पूर्णरुपमा मृत्युनाच हेर्दैगर्दा उसले गर्ने मृत्युबोध, भय, त्राश, वा साहसिक अनुभव, कर्त्ब्यापरायणता र क्रुरताको लामो र विस्तृत वर्णन छ यसमा।

हुनत माओवादी द्वन्द्व भोगिसकेका हामीले युद्धका बाछिटा त देखेभोगेकै हौँ। तर अफगानमा केदारहरुले भोगेको युद्ध हाम्रोभन्दा धेरै धेरै क्रुर र त्रासदी पक्कै थियो। अत्याधुनिक हातहतियार र बमबारुदले सुसज्जित शक्तिले अनमत्त शक्तिराष्ट्रहरुको अहम र शक्ति प्रदर्शन थियो त्यो। त्यस्तोमा कसैलाई मार्ने हतियार हातमा बोकेर आफू मरिने लगभग पकापक्की बातावरणमा साँच्चै नै एउटा लडाकुको मनोदशा कस्तो हुँदो हो ! त्यो सबको बेलिबिस्तार नै यस कृतिमा भेट्न सकिन्छ। र यिनै वर्णनले पुस्तकलाई चखिलोपनि बनाएको छ।सैनिक अनुशासन र नियम काइदाकस्ता हुन्छन्, लडाइँको मोर्चामा खटिन्दा कस्तो तयारी हुनुपर्छ । केकस्ता कमजोरिरहन गएमा पऋणाम कस्तोसम्म हुनसक्छ। दुश्मनको एरिया र पञ्जामा कसरी सतर्क रहनुपर्छ, कुनै पनि समय आइलाग्नसक्ने भवितव्यको निम्ति कसरी तयार रहनु पर्छ लगायत शक्तिराष्ट्रका युद्धमा केकस्ता र कतिसम्मका अत्याधुनिक हातहतियारहरू के कसरी प्रयोग गरिन्दा रहेछन् भन्नेसम्मको वृतान्त यस् पुस्तकमा पढ्न सकिन्छ । त्यति मात्र नभएर प्रथम विश्वयुद्धदेखि नै युद्धको दिनमा बहादुर र अनुशासित भनेर चिनिएका गोर्खाली सैनिकहरुको वास्तविक बहादुरी र अनुशासित, विश्वसानीयता र द्रिढताको पनि निकै प्रमाणिक वर्णन यसमा पाउन सकिन्छ।

यसै गरी “अफगानी रणमैदान”ले युद्धको मात्रै वर्णन गरेको छैन। अफगानी जनजीवनको चित्रपनी उतरेको छ। त्यहाँको शहर बजार, रहनसहन खानपान चाडबाड लवाइ लवजबारेपनी प्रसस्त बर्णन भेटिन्छ। खास गरी भिन्नभिन्न मुलुकबाट सैनिक सेवामा समर्पित भएर भेलाभएका फरक परिवेशका मान्छेहरुको दैनिक चर्या, जीवनशैली र मानवमैत्रित्वको मिहिन चर्चाले संसारका कुनाकुनाका मान्छेहरुको जीवनपरिवेश यही एकै पुस्तकमा पढन सकिन्छ। पुस्तकको शक्तिको रुपमा आएको अर्को पाटो हो पारिवारिक आफ्नोपन । लेखकले युद्ध साहित्यको रुपमा लडाइँका निरश कर्कश र क्रुरताको मात्रै वर्णन नगरेर सबैभन्दा मिठो गरी जहाँजहाँ पुग्छन् साथमा परिवारको आफ्नोपन बोकिहिंड्छन् । छोराछोरी परिवार स्मरण गरिरहन्छन् । तिनका प्रतिको जिम्मेवारीलाई मनन गरिरहन्छन् र आफूलाई मर्यदित र जिम्मेवार बनाइरहन्छन्। लेखकले पुस्तकभरी थुप्रै बिदेशी लगायत नेपाली सैनिकसाथीहरुको नाम, तिनका स्वभाव र व्यवहार अनि पारीवारिक परिवेश पनि उल्लेख गरेका छन्। यसबाट उनको मैत्रित्वको अनुमान गर्न सकिन्छ ।

खास गरी युद्ध साहित्य भनेपछि सपाट युद्धकै कुराहरू सोलोडोलो आएको हुन्छ तर केदार संकेत मुलत: कवि हुन। शायद यसकारण पनि होला ठाउँठाउँमा उनको कवित्व प्रकट भएको पाउन सकिन्छ। एक ठाउँमा त उनले कवितामोह खुलेरै प्रकट गरेकाछन,”तर सबैभन्दा हेलाँको गफमा पर्थ्यो मेरो कविता-गफ । किनकि कसैमा पनि कवितासम्बन्धी रुची थिएन । (पेज नम्बर २५८)

त्यसै गरी कवि मनकै उपज मान्नु पर्छ, युद्ध फेहरिस्त वर्णन गर्ने क्रममा कवि संकेतले गहिरा जीवनदर्शनका कुराहरू पनि गरेका छन् ।

प्रस्तुतिका हिसाबले पनि “अफगानी रणमैदान” अब्बल पुस्तक हो। कवि हृदयको उपज भनुँ यसलाई पनि, कि पुस्तकभरि आएका पात्रहरुको मनोविज्ञान लेखकको निजी धारणा पनि बडो रोचक शैलीमा पस्किइएको पाइन्छ। लेखकको भावुकता, हार्दिकता र कोमलताले पुस्तकलाई निकै रोचक बनाएको छ। पढ्दै जाँदा आख्याने तर गद्य जस्तो लागे पनि आख्यानकै जस्तो चुम्बकीय शक्तिले तानिरहन्छ।

कृतिको अन्त्यतिर लेखक भन्छन,”काबुल यथावत छ, उही बम बारुद, करप्सन किड्न्यापिङले ग्रस्त छ ।”

यो वाक्यांश पढिरहँदा जिउमा काँडा उम्रिन्छ । थाहा छैन युद्ध गराउनेले के पाउँछन् के गुमाउँछन् । तर युद्ध भोग्नेले सबथोक गुमाउँछन् र युद्धले दिएको घाउचोटसँग अन्योलको भविष्यबोकी मर्माहत र भग्न वर्तमान बाँच्न अभिशप्त हुन्छन् । जबकि ती सबका सब युद्ध र ध्वंश तिनीहरुका योजना र चाहना नै हुन्दैनन । त्यो तिनीहरुका सरोकारको कुरै कहिल्यै होइन, थिएन भन्ने सत्योत्घाटन गर्न पुस्तक सफल छ।

जीवनको लामो कालखण्ड युद्ध र हतियारसँग बिताए पनि लेखक स्वयं लडाइँ र ध्वंशसँग बिमति राख्छन् र पटकपटक मानवता र भाइचाराको स्मरण गराउँछन् । समग्रमा “अफगानी रणमैदान”ले मानवतालाई समुच्चमा राखेर जिन्दगीको सुन्दर बयान गर्छ। युद्धको कर्कश क्रुरता मात्रै नभएर काव्यिक शैलीका सुकोमल वाक्यगठन, जीवनदर्शनक गहन सत्यहरू तथा कवि हृदयको चञ्चल हाँस्यविनोदी कुराहरु, कहीं कतै जवानीका यौनिक प्रसंगहरू पनि इमान्दारिपूर्वक व्यक्त गरिएका छन्।

साङ्गोपाङ्गो पुस्तक पढिसक्दा खोटनै लगाउनुपर्ने खालको त्यस्तो कमजोरी त मेरो पाठकियताले भेटेन नै। दोहोरो आक्रमणको अनुभव वर्णन गर्ने क्रममा “आफू मरिहालियो भने छोराछोरीको भविष्य के होला, श्रीमती त अर्को बिहे गरिहाल्छिन, सानो छोरालाई झड्केलो बाबुले हेलाँ गर्छ होला,” भनेको प्रसंगमा भने लेखकसँग मेरो बिमतिरह्यो। श्रीमतीले चाहिं अर्को बिहे गर्छिन नै भन्ने के पक्का-पक्की हुन्छ र ? त्यस्तो भवितव्य भोगेर छोराछोरी सम्हाल्दै दिवङ्गत पतिको नाममा वैधव्य जिन्दगी बिताउने श्रीमतीहरू पनि त छ्न नि । यसबाहेक प्रस्तुत कृतिमा मेरो पाठकियताले अरु केही कमजोरी नभेटेकै हो।

अन्त्यमा यस् कृतिस्वरुप नेपाली युद्धसाहित्यमा अर्को बलियो दस्ताबेज थपिएकोमा हामी सबैलाई बधाई छ। युद्धको प्रत्येक्षतालाई सरल र सरस तरिकाले बुनेको आख्यान पढ्न चाहनु हुनेलाई “अफगानी रणमैदान”ले निराश पार्ने छैन । पढेर लेखकलाई हौसला दिनु हुन सम्पूर्ण पाठकवृन्दमा अनुरोध गर्दै फेरि पनि अनन्य मित्र कवि लेखक केदार संकेतज्युलाई हार्दिक बधाई भन्न चाहन्छु।

पुनश्च: पुस्तक बारे यो मिहिन समिक्षा नभएर एउटा पाठकीयता मात्रै हो ।

“अफगानी रणमैदान”
(आत्मपरक उपन्यास)
उपन्यासकार : केदार संकेत
प्रकाशक: सांग्रिला बुक्स
मूल्य : ५९५/-

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

1 thought on “युद्ध साहित्यको नयाँ उचाइ “अफगानी रणमैदान””

  1. किताब पढुँ पढुँ लाग्ने रहेछ । समीक्षा पनि राम्रो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *