आकाशीय मेघार्जनको अट्टहासले
त्रसित कोमल बादल
लडिबुडी गर्दै रुन थाल्छे
उत्ताउला ज्वाला र बज्रनादका
कठोर कर्कसताले आतिएर
क्षितिजमा भौतारिन थाल्छे ।

बनडाँडामा लुक्न पुग्छे
जलकणको ओसिलो भारी बोकेकी
किंकर्तव्यमुढ कोमलांगी बादल
सकसताको पर्खाल तोड्दै
सौम्य वर्षारुपी आसुँ बनी
धर्तीमा ओर्लिएर रुन थाल्छे

कोमलता पग्लिएर बनेका
अश्रु बुँदका मृत्युञ्जय बुटीहरुले
मुर्छित बञ्जरका प्यासहरुलाई
सञ्जीवनी पिलाई जगाइदिन्छन्
धरणीका ब्याकुल जीवनहरुलाई
अभिषेक छर्की ब्युँताइदिन्छन्
शुष्कताका रोदनीय पराकाष्ठाहरुलाई
शीतलता बनी सुम्सुमाइदिन्छन्
कोमलताले भावनाको बीज रोप्छ
भावनाले स्नेहशीलतालाई हुर्काउँछ
स्नेहशीलताले संसार मग्मगाउँछ
कोमलताकी शान्त समुद्र नारी
ममताका ज्वारभाटाहरू बोकेर
जीवनपथका छालसँगै बहिरहन्छे

कोमलताकी कामधेनु नारी
निस्वार्थ स्नेही भावनाहरुले
करुणामय प्रेमामृत पिलाइरहन्छे
सुन्दर देववास कोमल पुष्पहरू
हुरीका तिखा प्रहारसँग नडगी
अविछिन्न सुगन्ध बाँडिरहन्छन्
परोपकारी, उपकारी कोमल कल्पवृक्ष
फलका राजसी आभूषण पहिरेर
सेवामा निरन्तर झुकिरहन्छ
भावनाहरुको पुञ्ज नै कोमलता हो
नम्रताको प्रतिरूप नै कोमलता हो

यो अन्तर्मनको तेजस्वी आभा
पवनभन्दा पातलो हुन्छ
सुन्दर कमलको झैं कोमलता
अन्तर्निहित ज्योतिपुञ्ज हो
यो सुक्ष्म र सौम्य कान्तिपुञ्ज
सिमलको भुवाभन्दा हलुको हुन्छ
कोमलता तपोफलको निराकारता हो
जुन सगरभन्दा उचो हुन्छ
सागरभन्दा गहिरो हुन्छ
पत्थरभित्र तड्पिने अमूल्य हिराको
शालिनता नै कोमलता हो
आँधीभेरीमा पनि खिल्खिलाउन सक्ने
गुलावको शिस्टता नै कोमलता हो
प्रसवपीडामा पनि मुस्कुराउन सक्ने
आमाका महानता नै कोमलता हो

शत्रुलाई सम्मान गर्नु
महानता हो
सानालाई आदर गर्नु
लचकता हो
सबैको कल्याण सोच्नु
सदासयता हो
लचकता, महानता र सदासयताको
त्रिवेणी नै कोमलता हो ।

इति

–राजेश अधिकारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *