आफ्ना दुधमुखे लालाबालाका बहुप्रतिक्षारत कर्णप्रिय च्याँच्याँ म्याँम्याँ सुन्न आतुर भएका मास्टर दम्पतीका सपनाहरू आफ्नो जोडी बाँधिएको एक दशकपछि पहिलो पल्ट धर्ती टेकेका जुम्ल्यहाँ पुत्रद्वयको प्रथम रुवाईका झङ्कार सुनेर मात्र पुरा हुन्छन्।

सन्तान प्राप्तिको खातिर झारफुक र खर्चिलो ओखतीमुलो गर्दा पनि केही लछारपाटो नलागेपछि जीवनभर निसन्तानै भइएला कि भन्ने औडाहामा बाँचेका जोइपोईलाई सन्ततिहरुको महाआगमनले असाध्यै खुशी मिल्छ फलस्वरुप कुरा काट्नेहरुका खासखुसे चियोचर्चोमा नपुंसक, अपुता र बाँझी जस्ता विशेषणले घोचिइरहनु पर्ने बिवसताबाट उनीहरुले सदाको लागि उन्मुक्ति पाउँछन्। झिनो समयान्तरमा जन्मेका नवजात शिशुहरुको नुहारनको दिन प्रफुल्लित मास्टर दम्पतीको निवासमा निम्तालु छरछिमेकीहरू भेला हुन्छन् ।

यस अवसरमा गाउँकै नम्बरी पन्डितद्वारा उनीहरूको नाम लव र कुश जुराइन्छ। बहुप्रतिक्षित जयजन्मको खुशीयाली मनाउन मास्टर कुटीमा भोजभतेरको आयोजना गरिन्छ। खानपानपश्चात निम्तालुहरू आ—आफ्ना घरतिर फिर्छन्। निम्तालुहरुलाई बिदाइ गरिसकेपछि मास्टरजीलाई बस्तुभाउको खोलेपानी गर्न र सुत्केरी श्रीमतीलाई स्याहार्न भ्याई नभ्याई हुन्छ।

मास्टरजीको पनि आफ्नै कथाव्यथा छ। बाइस सालतिर पाँचथरबाट झापा झरेको एउटा हट्टाकट्टा जवान ठिटो होक्से गाउँमा एकल सन्तान भएको एउटा गरीब ब्राह्मणको घरमा आश्रय लिएर त्यही गाउँकै स्कुलमा अस्थायी मास्टर बनी कालान्तरमा मास्टरजीको उपनामले चिनिन पुग्छ। मृदुभाषी र चित्ताकर्षक मास्टरजीले आफ्नै आश्रयघरकी कन्यासँग प्रेम विवाह गरी घरज्वाइ हुन पुग्छन्। नातिनातिनाको मुख हेरेरै मात्र मर्ने इच्छा लिएका मास्टरजीका वयोवृद्ध सासूससुराका अभिलाषाहरू उनीहरुको महाप्रस्थानसँगै तुहिन पुग्छ। सास छँदै आफ्नो जायजेथा छोरीज्वाइको नाममा पास गरिदिएका सासूससुराको सेखपछि घरको सम्पूर्ण जिम्मेवारी न्यूनवैतनिक मास्टरजीको थाप्लोमा पर्न जान्छ। यता मास्टरजी बिहान बस्तुभाउलाई घाँसखोले गरेर दिउँसो स्कुलमा पढाउन जान्छन् भने उता मास्टर पत्नी भाततिहुन र चुलोचम्को सकेर आफ्नो कोठेबारीमा फलेका सागसब्जी र फलफूल नजिकैको शनिश्चरे बजारमा लगेर बेचबिखन गर्ने गर्छिन्।यसरी नै जेनतेन त्यो जोडीको घरव्यवहार चलेको हुन्छ। गाउँमा मास्टर्नी भनेर बोलाइने आफ्नी अर्धाङ्गिनीको छाया सरी साथ पाई दुःखजिलो गरेर जीवनयापन गरिरहेका जोईपोइको उराठ लाग्दो जीवनमा पुत्रद्वयको आगमनले खुशीसँगै थप पारिवारिक जिम्मेवारी पनि थपिदिन्छ।

समयको रथलाई परिबेशको सारथीले जीवनका उबडखाबड मोडहरू पार गराउँदै अघि बढाउँदै लैजान्छ। बाँसको तामा झैं हलक्क बढेका लवकुश पनि लक्का जवान हुन्छन्। उता जीवनका अविरल संघर्षहरुले थाकेका मास्टर–मास्टर्नी दिनानुदिन कमजोर र पाका हुँदै जान्छन्। एउटै कोखबाट झिनो समयान्तरमा जन्मिएका लवकुशका बानीव्यहोरा र स्वभावहरुमा आकाश जमिनको फरक पाइन्छ। दाजु लव भद्र र व्यवहारिक प्रकृतिको हुन्छ भने भाइ कुश चञ्चल र उट्पट्याङ स्वभावको हुन्छ। मिहिनेती लवमा आफ्नो पढाईप्रति असाध्यै लगाव हुन्छ तर कुशलाई पढाईमाभन्दा चित्रकलामा बढी रुची हुन्छ। पढाईप्रति बेलगाव कुशले पाठ घोक्न र गृहकार्य गर्न त परै जाओस, उसका खाता–कितावका पानाहरू विभिन्न चित्र र रङहरुले भरिएका हुन्छन्।यतिसम्म कि कुशले कहिलेकाहीँ सखाहरुको बीचैमा उभिएर चौरमा पिसाब गर्दै पिसाबको धाराले विभिन्न आकृतिका चित्रहरू कोर्ने गर्छ। घरको भित्ता होस कि आँगन, भेटेजती ठाउँँमा चित्र कोर्न खप्पिस कुशमा लुप्त कलाकारिता प्रष्टै झल्किन्छ। कुशका उरन्ठ्यौला हर्कतहरू देखेर गुरुहरुका साथै बाबुआमा पनि उसको भविष्यप्रति चिन्तित हुन्छन्। समयचक्र पनि कति छिटो घुम्दो रहेछ? हिजोअस्ती जन्मिएका झैं लाग्ने लवकुशले पनि देख्दादेख्दै एसएलसी परीक्षा दिन्छन्। थलिदै गएका बाबुआमाको सम्पूर्ण आशा र भरोसा छोराछोरीमै केन्द्रित हुन्छ चाहे त्यो वृद्धावस्थाका सहाराको रुपमा होस् या बंश बिस्तारकको रुपमा। मास्टर–मास्टर्नीलाई पनि दुवै प्राणप्यारा छोराहरू जीवनमा सफल र आत्मनिर्भर बनून भन्ने चाहना हुनु अस्वाभिक होइन। समकालीन दाजुभाइलाई भावीले फरक फरक भाग्य लेखिदिएको रहेछ। सेवानिवृत्त मास्टरजी सपत्नी छोराहरुको फलाम ढोके परीक्षाको परीक्षाफल सुन्न आतुर हुन्छन्। समयमै बहुप्रतिक्षित परीक्षाफल प्रकाशित हुन्छ जसमा लव अब्बल दर्जामा उतिर्ण हुन्छ तर कुश अनुतिर्ण हुन्छ। एउटा छोराको सफलतासँगै हर्षविभोर भएका बाबुआमा अर्को सन्तानको असोचनीय असफलतासँगै टुट्न पुग्छन्।

उच्च अध्ययनार्थ जेहेन्दार लवले काठमाडौँको एउटा इञ्जिनियरिङ कलेजमा छात्रवृत्ति पाउँछ। बाबुआमाले हर्षवियोगका मिश्रित आसुँ झार्दै पहिलो पल्ट टाढा जान लागेको जेठो छोराको निधारमा टीका र गलामा सयपत्रीको माला लगाइदिएर बिदाइ गर्छन्। गाउँमा सबैको हाई हाई भएको मेधावी लव सुखद भविष्यको सपना बोकी राजधानी शहरतिर पाइला बढाउन थाल्छ। काँधमा झोला भिरेर नजिकैको बसपार्कतिर लम्किरहेको लवलाई देखेर गहभरी आसुँ बोकेको निशब्द कुश घरको धुलौटे आँगनमा खुट्टाको बुढी औंलाले कर्याङकुरुङ चित्र कोर्दै ओजेल नहुञ्जेलसम्म सधैं एउटै थालमा भात खाने दाजुलाई एक टकले हेरिरहन्छ। लबले बसको ढोकाबाट फर्किएर उसका बिदाइ कर्ताहरुलाई हात हल्लाएर बिदाइ माग्छ। बुधबारे बजारबाट लव चढेको रात्रि बस कालो धुवाँको मुस्लो फाल्दै गन्तव्यतिर गुड्न् थाल्छ।

एकदिन आँगनमा हिउँदे घाम तापिरहेका मास्टरमास्टर्नीले दलिनमा बसेर टोलाइरहेको कुशलाई बोलाएर सम्झाउन थाल्छन्।‘हेर बाबु! विद्याधनं सर्वधन प्रधानम्’ यो संसारमा पढाईभन्दा ठुलो धन केही हुँदैन। जीवनलाई सफल बनाउन पढाई नै चाहिन्छ। नपढेको मान्छेलाई समाजले निम्सरो र ग्वाँजे भन्छ। सँगैमा छ–सात वर्षको अवधीमा तिम्रो दाजु धेरै पैसा कमाउने इञ्जिनिएर बनिसक्यो। के तिमीलाई चाहिं भविष्यमा के गर्छु भन्ने छ? फेरि पढेर परीक्षा देऊ छोरा’। घरमा सिङ्को नभाँच्ने तर दिनभर बेलक्ष भौन्तारिरहने कुशले बाबुआमाको उपदेशलाई एक कानले सुनेर अर्को कानले उडाइदिन्छ। एसएलसीमा गुल्टिएपछि पढाई–गुनाई छोडेर हरदम बरालिरहने बेइलमी कुशको बौलठ्ठी चाला देखेर उसका बाबुआमा हैरान हुन्छन्। धार्मिक प्रवृत्तिका मास्टरजीले एकाबिहानै नित्यपाठको लागि हनुमान चालिसाको किताब पल्टाउन पुग्छन्। कुशले त्यो धार्मिक ग्रन्थको पानैभरी थरी थरीका चित्रहरू कोरेको हुन्छ। त्यस्तै कुशले णटोमाथि राखिएका रामायण र महाभारतका पानाहरुलाई पनि चित्र–बीचित्र पारेको हुन्छ र सो देखेर मास्टरजीको मथिंगल खलबलिन्छ। फ्याङ्लो छोरालाई सुमार्गमा ल्याउन हरदम प्रयासरत बाबुआमालाई अचानक एउटा जुक्ति सुझ्छ। चित्रकलामा उसको लगाव देखेर अभावै–अभावमा जिन्दगी बिताइरहेका मास्टरमास्टर्नीले उसको जन्मदिनमा आफूले पालेका दुईवटा खसी बेचेरै भए पनि उसलाई उपहारस्वरुप चित्रफलक, कुची र रङ किनिदिन्छन्। अद्वितीय उपहार पाएर पुलकित भएको कुश आजकल रातदिन रंग र कुचीसँगै खेल्न थाल्छ।

एक दशकअघि काठमाडौं छिरेर हाल सरकारी कार्यालयको हाकिम भएको लवले राजधानी शहरमा एउटा भव्य महल किन्छ। इञ्जिनियरिङ पढ्दा एउटी सम्भ्रान्त ब्यापारिक घरानाकी सुलक्षणा नामक रैथाने सहपाठीसँग प्रेम सम्बन्ध गाँसिन पुगेको लबले केटी पक्षका अन्तरजातीय विवाहका कट्टर बिरोधी परिवारको नामञ्जुरीको बाबजुद पनि उसैसँग अदालती विवाह गर्छ। एक अर्कामा समर्पित र पेशाले दुवै आर्किटेक्ट इञ्जिनिएर भएका नव दम्पतीले नयाँ घरमा बसेर नवजीवनको सुरुवात गर्छन्।विवाहपश्चात कर्तव्यपरायण लब सपत्नी आफ्नो जन्मभूमि जान्छ र आफ्ना बाबुआमा र भाइलाई लिएर काठमाडौं फर्कन्छ।

अभावग्रस्त अतितलाई गाउँमै छोडेका मास्टर दम्पतीका वर्तमानहरू कर्तन्यनिष्ठ छोराबुहारीको निस्कपट स्याहारसुसारमा खुशी–खुशी व्यतीत हुँदै जान्छन्। ऐसआरामले भरपुर शहरी जीवनमा रमाइरहेको कुशले पनि दाजुभाउजूबाट अगाध माया र हेरचाह पाउँछ। एकदिन कुश चित्रफलकमा तस्वीर बनाइरहेको हुन्छ जसमा अचानक सुलक्षणाको नजर पर्न जान्छ।कुशले दाजुभाउजूको हुबहु तस्विर बनाएको देखेर सुलक्षणा अवाक हुन्छे। कुशले आफूद्वारा सृजित अन्य थुप्रै मनमोहक तस्बिरहरू पनि भाउजूलाई देखाउँछ। कुशका चित्ताकर्षक कृतिहरू देखेर प्रभावित भएकी भाउजूलाई देवरको लुप्त प्रतिभालाई टेवा दिएर जनसमक्ष परिचित गराउन मन लाग्छ। सोहीनुरुप लव–सुलक्षणाको व्यवस्थापनमा कुशद्वारा बनाइएका थुप्रै मनोहर चित्रहरू काठमाडौंको एउटा नामी आर्ट ग्यालरीमा प्रदर्शित गरिन्छन्।कलापारखीहरुद्वारा अवलोकित कुशका कृतिहरू सयौन्द्वारा रुचाइन्छन्। तँछाड्–मछाड् र हारालुछको माहोलभित्र चित्र किन्नेहरुको भीडलाई सम्हाल्न आयोजकहरुलाई हम्मे–हम्मे पर्छ। हेर्दाहेर्दै ठुलो धनराशी हात लाग्दै कुश निर्मित सबै चित्रहरू बिक्री हुन्छन्। रातारात कुशको शाखले प्रसिद्दीको शिखर चुम्छ। कुशलाई पुरस्कार र सम्मानहरू थाप्न भ्याइ–नभ्याइ हुन्छ। आफ्नो सफलताको मुख्य श्रेय भाउजूलाई दिने कुशलाई टेलिभिजन र पत्रपत्रिकाका अन्तर्वाताहरुमा पनि बग्रेल्ती देखिन थाल्छ्। देशबिदेशमा पनि कुशद्वारा बनाइएका चित्रहरुको माग बढ्न थाल्छ।अन्तत राष्ट्रद्वारा उसलाई उत्कृष्ट कलाकारिता पुरस्कारबाट सम्मानित गरिनुका साथै फ्रान्समा चित्रकला सम्बन्धी उच्चाध्ययन गर्नको लागि छात्रवृत्ति प्रदान गरिन्छ।

पढाइसकेर पाँच वर्षपछि स्वदेश फर्केको कुशले काठमाडौंमा लवकुश नामक एउटा कला केन्द्रको स्थापना गर्छ।देवता समान दाजुभाउजूको सुझावमा एउटी चित्रकार कन्यालाई जीवनसंगिनी बनाउन पुगेको कुशले आफ्ना वृद्ध जनकजननीको इच्छा बमोजिमको एउटा अत्याधुनिक बंगला बनाउँछ। आफ्ना छोराछोरीको लगावलाई अदेख गरी अनिच्छित विषयको भारी बोकाएर सफलताको पहाड चढ्न पठाउने अपितु शीप र कलाकारिताको अध्ययनलाई असुरक्षित ठान्ने समाजलाई सन्देश दिन सफल कुश, नपढ्ने छोराको भविष्यप्रति चिन्तित तर बुढेसकालमा छोराको विषयगत सफलता देखेर आत्मबोधले परिष्कृत भएका हर्षित मास्टर दम्पती, आरोहीको सोपान बनिदिएर शिखर चुम्न सहयोगीको भूमिका निर्वाह गर्ने निस्वार्थी लव—सुलक्षणा र पारिवारिक आत्मियतालाई स्वर्गानन्दीय अमृत मान्ने कुशकी अर्धांगिनी सुचित्राबीचको आत्मीयता र प्रेम पुरातनवादी मान्यताहरुलाई समयसापेक्ष बदल्न हिच्किचाउने समाजमा प्रशंसनीय र अनुकरणीय बन्छ। आ—आफ्ना क्षेत्रमा सफलताका आकाशहरू छुन सफल समृद्ध लवकुशले कहिले पनि आफ्नो धरातल बिर्सेंनन् त्यसैले त उनीहरू सपरिवार गाउँ गएर वर्षको तीन महिना आफ्नो जन्मघरको छानोमुनी बसेर गाउँको माटोको सुगन्धपान गर्न मरिहत्ते गर्छन्।

इति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *