अशुद्धै खाना त्यो, अनि दुषित पानी न पिउनु,
नलाऊँ मैला त्यो, वरु ठिक लुगा, जीर्ण सिउनु ।
नखाऊ नौला ती, छन जहरिला, औधि त मिठो,
छ खानै उव्जेको, घरतिर जो, मिल्दछ पिठो ।।
जवानीमै रोगी, बनिकन बुढो, बाँच्नु कसरी,
यसैले बाँचौ लौ, असल तन यै, हुन्छ जसरी ।
ति वासी खानाले, तन धन दुवै, चीज वहने,
सफा खाऊ लाऊ, शरिर मन त्यो, शुद्ध रहने ।।
बजार्मा देख्यौ जो, अति रहरिला, साग र मूला,
विषादी हालेका, रछ त सकियो, जीवन कला ।
हरीया सव्जी घ्यू, दुध, फल दही, पौष्टिक कुरा,
बनाई ताजा मै, घर–घर गरौं, सेवन पुरा ।।
दवाई खाने त्यो, चलन पनि ता, छैन नि ठिक,
निरोगी बन्ने हो, फलफुल संधै, खानु अधिक ।
बनायो रोगैले, जव थिलथिलो, ओखति दिनु
चितामा लैजाला, किन अधिक चिन्ता मन लिनु ।
नसर्ने या सर्ने, दुइ कसिमका, रोग भनिंदा
नसर्ने खानामै, भर हुनि भयो, ध्यान नदिंदा ।
किटाणूले गर्दा, हुन गए विरामी, कतिकति
वचौं सर्ने रोग्बाट, नत्र उदय भो, दूख फजिति ।।
सवै बाँच्ने लामो, जिवन असल्, यै नियमले,
रहौंला स्वस्थै भै, जति वँचियला, खूश मनले ।
खराबै बाटामा, नबढ अघि राम्रो पथमहाँ ।
मजाले खूशी भै, सफल बनि, हाँस्दै वढ यहाँ ।।
(चूडा निर्भीक)
शिखरिणी छन्द १७ अक्षर
य म न स भ लघु गुरु
ISS SSS III IIS SII I S
