Skip to content

आमालाई परदेशी छोराको चिठ्ठी


हे आमा तिमी पर्खेर बस, आउने छु म घर
सम्झेर तिमीलाई आसुका धारा, बग्दछन् बरर ।

नौ महिना कोखमा राखेर तिमीले, यो छोरो जन्मायौ
असह्य दुःख सहेर तिमीले, हुर्कायौ बढायौ ।

हात समाई तिमीले बिस्तारै बिस्तारै, हिडनलाई सिकायौ
उद्देश्य छुन तिमीले सधै, सत्मार्ग देखायौ ।

भन्न त भन्थ्यौ नजान छोरा, भनेको मानिन
बिराएँ आमा माफ गर्नुहोला, मैले केही जानिन ।

दुई चार महिना बाँकी छन आमा, फर्केर आउनलाई
खाडीमा पसे सम्पत्ति कमाई, ऐशआरम जिउनलाई ।

कहाली लाग्दो खाल्टो पो रैछ, विदेश भन्नु नि
जन्मकैद जस्तो लाग्दो पो रैछ, प्रदेशी बन्नु नि ।

मुटुमा राको बलेर आउछ, घरपरिवार सम्झिदा
प्रदेशी सपना सपनामै राम्रो, केही छैन ब्झयूँदा ।

कुन खुसी खोज्न आएछु होला, यो खाडी ठाउमा
माटोको तन भौतारिए पनि, मन डुल्छ गाउमा ।

सम्झाना आउछ हाँसेको खेलेको, बालापन गाउमा
खोले र फाडो खाए नि खुसी, हुन्थ्यो नि त्यही ठाउँमा ।

निधारमा टिका कानमा जमरा, सिउरेर हिडेको
चाडपर्व आउदा हुन्छ नि आमा, यो मन अँध्यारो ।

खुसीको महल स्वदेश भन्नु, स्वदेश होइछ नि
सुन र चाँदी, हिरा र मोती, आत्मामै रैछ नि ।

छाडेर जानु पर्दछ सबै, केही छैन लानलाई
डेढ मीटर जमिन एक टुक्रा कात्रो, पुग्दछ जानलाई ।

दिन गन्दै बस्छु फर्केर स्वदेश, यो भारी बिसाउन
अँध्यारो मन उज्यालो बनाई, हाँस्न र हसाँउन ।

हे आमा तिमी पर्खेर बस, आउने छु म घर
सम्झेर तिमीलाई आसुका धारा, बग्दछन् बरर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *