
विद्यार्थीहरूलाई अचेल
युनिफर्म लगाएर स्कुल जानु छैन,
स्कुलबस कुर्नु परेको छैन,
बिहान चाँडै उठेर
अबेर रातिसम्म पढ्ने वाध्यता छैन ।
गणितको प्रश्नहरू हल गर्नु परेको छैन,
पाठ्य पुस्तकका पाठहरू
घोकिरहनु परेको छैन,
कवि र कविताका भावहरू
बुझिरहनु परेको छैन
धेरै दिन भयो, स्कुल लागेको छैन ।
शिक्षकहरूलाई
हस्याङफस्याङ गर्दै स्कुल पुग्नु परेको छैन,
होमवर्क चेक गर्नु परेको छैन,
प्यारेन्ट मिटिङ बोलाउनु परेको छैन,
स्कुलमा भानु जयन्ती मनाउनु परेको छैन,
प्रजातन्त्र दिवसको
खास तयारी गर्नु परेको छैन ।
धेरै दिन भयो
स्कुल लागेको छैन ।
स्कुल नलागे पनि
घरमा विद्यार्थीहरू पढिरहेकै होलान्,
मातापितालाई दङ्ग्याएर
मोजमस्ती गरिरहेका होलान्,
यो खान्छु र त्यो खान्छु भनेर
आमालाई वाक्क दिक्क पारिसकेका होलान्,
अनलाइन पढाईको नाममा
दुइचार वटा मोबाइल रित्याएर
नयाँ मोबाइल किनिमागेँ होलान्,
च्याटिङ गर्दा गर्दै
कतिले ब्वायफ्रेन्ड र
गर्लफ्रेन्ड बनाइसके होलान्,
धेरै दिन भयो स्कुल लागेको छैन ।
स्कुल नलागेपछि
ट्युसन जानु परेको छैन,
कलेजमा एडमिसन लिने कुरोकन्थो छैन,
भविष्य निर्माणको लागि
के तयारी गर्नु पर्ने हो
कसैलाई केही थाहा नै छैन,
सबै अलमल्ल छन्,
सबै दोधारमा छन्,
सबै सन्तापमा छन्,
भोलि के हुने हो
कसैलाई केही थाहै छैन,
प्रत्येक पिरियडमा बज्ने घन्टी
धेरै दिन भयो, बजेको छैन,
स्कुलको गेट पनि खुलेको छैन
आजसम्म स्कुल लागेको छैन ।
बी बी ठकुरी
नोभेम्बर २७, २०२०
मिल्टन कनाडा
