Skip to content

एक भोट उसैलाई

  • by


शुरुमा उसले औकातले नभ्याएर
खुट्टामा चप्पल लाउनै जानेन ।

छरछर्ती फुटेर खुट्टा रगत बगाउँदै
नाँगै गोडामा उसले साहूको भारी बोकेकै हो ।

जनयुद्ध कि धनयुद्ध उसले खुट्याउन नसकेपनि
जीवनको आहुति देशको लागि दिन भनेर स्टारजुत्ता भिर्दै
छापामार लडाईं लड्न कस्सियो ऊ कमरेडहरूसँग ।

ऊसँगै लड्ने साथीहरू ढलेर मैदानमा रगताम्य भै
आफ्नै लडाकुले दुश्मनलाई भेद खोल्ला कि भनी
टाउको गिंडेर झोलामा भरेको आँखासामु योद्धा देखि
खुम्चिएर ऊ आत्मसमर्पण रोज्यो ।

जीतको उन्मादमा शहिद रोपेको दल सत्तामा पसेपछि
पुरानो सम्वन्ध पुनरावलोकन गर्दै समानुपातिक तर्फ
नेपालको संविधान फलाउन सभासद बन्यो ऊ ।

आज संविधानको फल्ने खेतलाई बाँझै राखेर
चारवर्षपछि यो देशको आलीशान महलमा प्राडोबाट
सुरक्षाकर्मीको सुरक्षाघेरा भित्र आगामी कार्यकालको लागि
घोषणापत्र जारी गर्दैछ गरीव र सर्वहाराको सत्ता प्राप्तिको
एक भोट उसैलाई टक्र्याउनोस् हजुर गरीव नेपालीले
तैपनि संघीय संविधान फलिहाल्छ कि ।

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *