मास्टरजीको कालो कोट

  • by

पाँचथरको यासोक गाउँमा जन्मिएका शार्दुलले दुखजिलो गरेर गाउँकै विद्यालयबाट एसएलसी पास गर्छन्। घरको आर्थिक अवस्था कमजोर भएकाले उनीको उच्च शिक्षा अध्ययन गर्ने चाहनामा बाध्यतावस बिराम लाग्छ।

जीविकोपार्जनको लागि उनीका बाबु पन्डित गद्यनाथ पुरेत्याइँ गर्ने गर्छन् र आमा चाहिँ गाईको स्याहार–सुसार गर्दै कोठेबारीमा तरकारी फलाएर नजिकैको बजारमा लगेर तरकारी र घ्यु बेचबिखन गर्ने गर्छिन्।

पन्डितजी जजमानहरुकहाँ पुरेत्याइँ गर्न जाँदा हरहमेसा कालो कोट लगाएर जाने गर्छन् जुन बलियो बिदेशी कोट एउटा ब्यापारी जजमानले उनीलाई दानमा दिएको थियो। घर फर्केपछि पन्डितले त्यो कोटलाई बडो जतनका साथ भित्ताको किलामा झुन्ड्याउने गर्छन्।

शार्दुल पनि एसएलसी पास गरिसकेपछि किन बेइलम बस्नु भनेर आमालाई तरकारी खेती र गाईबस्तुको काम धन्दामा सहयोग गर्ने गर्र्छ। बुहारी भए आमालाई घरधन्दामा हम्बेर्नो हुन्थ्यो भन्ने लागेर पन्डितजीलाई आफ्नो छोरोको बिहे गरिदिने विचार आउँछ र उनीले शार्दुलको लागि पल्लो गाउँ ओलानेमा पन्डित शालिनीप्रसादकी छोरी शिखऋणीलाई माग्न जान्छन्। बिहेको लागि दुवैतर्फ राजी हुन्छन्, कुरो छिनिन्छ र तिथिमिति मिलाएर पञ्चैबाजा बजाउँदै पन्डितजीले घरमा बुहारी भित्र्याउँछन्।

दुर्भाग्यवस, शार्दुलको बिहे गरेको छ महिनामै उनका बाबु जजमानकोमा रुद्रीपूजा गरेर घर फिर्दा बाटोमा पर्ने फेमे खोलाले बगाएर बित्छन्। त्यसको एक वर्षपछि उनकी दमरोगी आमाले पनि यो संसारबाट बिदा लिन्छिन्।

आमाबाबुको देहावसानपछि टुहुरो भएको एकल सन्तान शार्दुल आफ्नी श्रीमतीलाई लिएर तराईतिर बसाइँ सर्ने विचार गर्छ। आफ्नो भएको दुई माउ लैना गाई सहितको जायजेथा छिमेकी सँधियारलाई सस्तैमा बेचेर शार्दुल बाबुको नाशोरुपी कालो कोट बडो प्रेमपूर्वक लगाएर पत्नी सहित झापाको होक्से गाउँमा बसाइँ सर्छ। ऊ आफ्नो पहाडको जायजेथा बेचेको पैसाले होक्सेको भोटेटारमा चार कठ्ठा जग्गामा बनेको एकतले घर किनेर नजिकैको प्राथमिक विद्यालयमा राहत कोटामा शिक्षकको रुपमा काम गर्न थाल्छ।

बडो हँसिलो र मिजासिलो स्वभावको सिकुटे शार्दुल गाउँको बाटो हुँदै कालो कोट लगाएर स्कुलमा पढाउन जाँदा बडो भलाद्मी र आकर्षक देखिन्छ। स्कुलमा उसले विद्यार्थीहरुलाई कथा भन्दै रमाइलोसँग पढाउने हुँदा विद्यार्थीहरू ऊसँग धेरै झुम्मिन्छन्।शार्दुलको बार्है महिना कालो कोट लगाउने बानी भएकाले स्कुले बालबालिकाहरुले उसलाई ‘कालोकोटे गुरुबा’ को पनि उपमा दिएका छन्। गाउँलेहरुले शार्दुललाई मास्टरजी र शिखऋणीलाई मास्टर्नीको उपमाले सम्बोधन गर्ने गर्छन्।

स्कुलबाट फर्किदा प्रायः उ सिधै घर आउँछ र आफ्नो कोट फुकाली जतनको साथ चकको धुलो टक्टक्याएर भिताको किलामा सिउरिन्छ अनि शिखऋणीसँग बसेर चिया पिउँदै गफगाफ गर्ने गर्छ। त्यसपछि लोग्ने–स्वास्नी मिलेर घुरेनमा रोपिएका सागपात गोडमेल गर्ने, मसिना बिरुवाहरुमा पानी हाल्ने, गाईलाई कुँडो खुवाउने, दुध दुहुने काम गरेर बेलुकाको खानपान गरेर दुखसुखका कुराहरू भलाकुसारी गर्दै अबेर सुत्ने गर्छन् । बुधबार स्कुल आधा दिन मात्रै लाग्ने हुँदा दोपहरमा दुवै जना सौदापात गर्न बुधवारे बजार झर्ने गर्छन्। शार्दुलको कालो कोट उसको सान मात्र नभएर एउटा सानोतिनो सन्दुक पनि जसको भित्री खल्तीमा मासिक तलब, नागरिकता, जाग्गाको लालपुर्जा जस्ता महत्वपूर्ण कागजपत्रहरू हिफाजतसँग राखिएका हुन्छन्। यसरी शार्दुल र शिखऋणीको दिनचर्या बित्ने गर्छ।

समयको बित्दै जाँदा मास्टर दम्पतीलाई जुम्ल्यहाँ सन्तानलाभ हुन्छ।एउटै बेतमा पुत्रपुत्री प्राप्तिसँगै मास्टर– मास्टनीमा खुशीका लहरहरू दौडिन्छन् । न्वारनमा पुरोहितले शिशुहरुको नाम कवि र कविता जुराउँछन्।समयको बहावसँगै कवि र कविता हलक्कै बढ्छन् र उनीहरू आफ्ना बाबुसँगै स्कुल जान थाल्छन्।सन्तान बृद्दीसँगै मास्टरजीलाई आफ्नो कमाईले छोराछोरीको स्कुलको फिस र विविध खर्चादीले गर्दा घरखर्च धान्न धौ धौ पर्छ। आफ्ना छोराछोरी सदा खुशी भैरहुन् भन्ने कामना सबै बाबुआमाको हुन्छ त्यसैले अभावहरुको भुँवरीमा रूमलिएका मास्टर दम्पतीले आफ्नो गाँस काटेर भए पनि छोराछोरीका चाहनाहरू पुरा गर्न पछि पर्दैनन्।

मास्टर दम्पति होक्सेमा बसाइँ सरेको पनि पन्ध्र वर्ष बितिसकेछ। एकदिन दशैको सौदापात गर्न उनीहरू आफ्ना छोराछोरीहरुलाई लिएर बुधवारे हाट जान्छन्।

“नाईं म त यो सुतीको सर्ट–पाइन्ट त मरिगए पनि लगाउँदिन। म त दशैँमा जिन्सको पाइन्ट र छालाको ज्याकेट लगाउँछु।सँगैका साथीभाइहरुको अगाडि मलाई लाज हुँदैन?”

“म चाहिें सधैं झुनाको कुर्था सुरुवाल लगाउनु? दशैँमा त म मलमलको चुडिदार कुर्था सुरुवाल लगाएरै छोड्छु। मेरा साथीसंगीले दशैंको लागि कस्ता राम्रा लुगा किनिसके।” बजार गएका छोराछोरीको गनगनले बाबुआमाको टाउको खान्छ।

“नाथे एउटा प्राबि मास्टरको तलवले पुरै दशैंखर्च टार्नुपर्छ। मैले सौदापात, दशैंखर्च, खानाखर्च, तिमीहरुको फिस यही तलवले धान्नु पर्छ। नानी हो! बाबुआमाको मर्म कहिले बुझ्छौ तिमीहरूले?”छोराछोरीको जिद्दीले मास्टर–मास्टर्नी अँध्यारो मुख लगाउँदै मुखामुख गर्छन्। छोराछोरीको बालसुलभ जिद्दिबाट हार खाएर बुढाबुढीको पनि दशैँमा नयाँ लुगा लगाउने योजनालाई तिलाञ्जली दिँदै मास्टरले आफ्नो कालो कोटको खल्तीबाट आफ्नो तलवको मोटो अंश निकालेर छोराछोरीको इच्छा पुरा गरिदिन्छन्। छोराछोरीको मुहारमा मुस्कान देखेर मास्टर दम्पति प्रफुल्लित हुँदै हाट भरेर घरतिर फर्कन्छन्।

अनुशासन र सुसंस्कारमा हुर्किएका कवि–कविता एसईईमा उच्च अंक ल्याएर उतिर्ण हुन्छन्। उनीहरुको सफलताले बाबुआमा अचाक्ली खुशी हुन्छन्। आफूले बाध्यताबस उच्च शिक्षा अध्ययन गर्न नपाए पनि आधा पेट खाएर छोराछोरीलाई क्याम्पस पढाउने अठोट मास्टरजीले लिन्छन् र उनीहरुलाई उच्च अध्ययनको लागि नजिकैको त्रिभूवन उच्च माबिमा भर्ना गरिदिन्छन्। मास्टरजीलाई छोराछोरीको पढाई र घरखर्चको लागि आफ्नो तलब अपुग हुन्थ्यो। खर्च समस्या समाधानको मन्थनमा बुढाबुढीले राती ओच्छ्यानमा पल्टेर अबेरसम्म गन्थन गरिरहे।

“ए हजुर! अब हामीले तीनवटा गाई र दुईचार वटा बाख्रा पालेर पुरै जमिनमा तरकारी खेती पनि गर्नुपर्छ है। त्यसो गरे खर्चको समस्या समाधान गर्न सकिन्छ” शिखऋणीले शार्दुलको कपाल सुम्सुम्याउँदै भनिन्।

“अति उत्तम उपाय निकाल्यौ शिखू तिमीले,” शिखऋणीको गालामा प्रेमपूर्वक प्याट्ट पार्दै शार्दुलले सहमति जनाउँछ। एउटा होक्सेको कृषि शहकारी संस्थाबाट ऋण लिएर उनीहरुले शनिश्चरे हाटबाट दुई माउ गाई र चार वटा बाख्राका पाठा किनेर ल्याउँछन्। आफ्नो जमिनभरी खनजोत गरी तरकारी खेती गर्छन्।

जिम्मेवारी बढेसँगै आजकाल मास्टरजीको घरको दिनचर्या नै बदलिएको छ। आजकाल मास्टर–मास्टर्नी बिहान भालेको डाँकमै उठेर गाईको भकारा सोहोर्ने, गाईबाख्रालाई कुँडो खुवाउने, दुध दुहुने काम गरी घाम झुल्किए पछि चिया पिएर नजिकैको अँधेरी बनमा गई गाईबाख्रालाई दिनभरि पुग्ने घाँस लिएर आउँछन्।कवि–कविता बिहानै उठेर क्याम्पस जान्छन्।बनबाट फर्किएपछि मास्टरजी नुहाई–धुवाई गरेर नित्य पूजापाठमा लाग्छन् र मास्टर्नीले चुलोचौको सम्हाल्छिन्। त्यसपछि मास्टरजी खानपिन गरेर कालो कोट लगाएर जागिरमा निस्कन्छन्। दोपहरमा कवि–कविता क्याम्पसबाट घर फर्किई खानपिन गरेर आफ्नो गृहकार्य गर्छन् र दैनिक टिपिएका तरकारी र मोही पारेर निक्लिएको घ्यू बुधबारे बजारमा लगेर बेच्छन्।मास्टरजी स्कुलबाट फर्किएपछि चियाखाजा खाएर सपरिवार खेतमा गई बिरुवाको गोडमेल, सिँचाई र फलेका र पाकेका तरकारी टिप्ने काम गर्छन्।

एकदिन मास्टरजीले सदा झैँ स्कुल जानु अघि भित्तामा झुन्ड्याइएको कालो कोट लगाउन खोजे तर त्यहाँ कोट फेला पारेनन्। उनी आत्तिदै खोजिनीति गर्न थाले।शिखऋणीले पनि घरभरी खोज्दा मास्टरजीको कोट कतै फेला पारिनन्। आफ्नो पीताको नासो र श्रीसम्पतीको सन्दुकरुपी कालो कोटको अचानक लुप्तताले रक्तचापका मधारी मास्टरजीको आधा पेट खाएर अति पारिश्रमले गलेको सिकुटे शरीर रिंगिदै सिकुवामा ढल्यो।शिखऋणीले आतिदै मास्टरजीको अनुहारमा पानी छर्किन् तर उनी बौरेनन्।

मास्टर्नीको चिच्याहटले छिमेकीहरू भेला भए र मास्टरजीलाई तत्कालै अस्पताल लगियो । तर उनी दुर्भाग्यबस काल नियतिको शिकार भए र मास्टरजीको मृतदेहलाई सिधै बिरिङ्ग खोलाको घाटमा दाहसंस्कारको लागि लगियो। यो हृदयबिदारक घटनाको खबर चौतर्फी आगोको झिल्को झैं फैलियो।

आफ्नो धोएर नसुकेको कोट लगाउन नमिलेर हतारमा बाबुलाई नभनी बाबुको कालो कोट लगाएर क्याम्पस गएको कवि रुँदै कराउँदै कवितालाई लिएर सिधै घाटमा पुग्छ। आर्तनाद सहित चितामाथि राखिएको मास्टरजीको लासलाई अंगाल्दै कवि–कविता र शिखऋणी फुटी फुटी रुन्छन्। गाउँलेहरुले उनीहरुलाई शान्तवना दिदै चिताबाट बाहिर तान्छन्। लासलाई दागबत्ती दिन कविलाई भनिन्छ र कवि भक्कानिदै चिताछेउ गएर आफूले लगाएको कालो कोट फुकालेर बाबुको लाशलाई ओडाइदिन्छ र अग्निपुञ्ज हातमा लिन्छ।

के सोचेर हो कविले एक पल्ट तिखो रोदनमिश्रित चित्कार गर्दै त्यो कोट लाशबाट झिकेर आफ्नो आङमा भिर्छ र दागबत्ती दिएर चिताको वरिपरि आगो झोस्छ। क्षणभरमै लाश खरानी बन्छ र वियोगका अश्रुधारा बहाउँदै मास्टरजीको बिक्षिप्त परिवार घरमुली बिहीन घरतिर लम्किन्छ। आजकाल बाबुको कालो कोटलाई कविले बडो प्रेमपूर्वक घरको पूजाकोठामा झुन्ड्याएर राखेको छ।

यो तीन पुस्ते ईतिहास बोकेको श्रद्धेय चिनोलाई पुज्दै कविले बाबुको सपना साकार पार्ने र बाबुकै संस्कारी पथमा हिंड्ने अठोट लिएको छ। अचेल कविले यदाकदा यो कोट पहिरेर क्याम्पस जान थालेको छ।

इति

राजेश अधिकारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *