कोभीड –१९ तिमी
किन हामीमाथि लुटपुटिन खोज्छ्यौ
कहिले कता कहिले कता झुल्कने
न दिन भन्छ्यौ, न रात भन्छ्यौ
न आफन्त भन्छ्यौ न पराई ठान्छ्यौ ।
कति दिन छिछि र दुरदुर गर्दै परपर भाग्ने ?
खोक्दा पनि हाछ्युउँ गर्दा पनि कहाँलिँदै
दस हात पर बुर्कुसी मार्नु पर्ने
त्यति मात्रै कहाँ हो र ?
सँगै हिँड्न डुल्न पनि नपाउने
अपरिचित देख्दा झन् घरभित्रै लुक्नु पर्ने ।
कोभीड –१९ तिमी
कति छ्यौ रूप रङ, पत्ता छैन, एक्कासि
हामी मानव जाति माथि साइनो गाँस्ने
के राम्रो के नराम्रो के धनी के गरीब
कसैलाई पनि बाँकी नराख्ने
ख्यालख्यालमा ठेगान लाउन खोज्ने
सबैको बीचमा भीडभाड त उग्ररूप लिने ।
कोभीड –१९ तिमी साँच्चिकै
डरलाग्दो गरी हामीमाझ आउँदैछ्यौ,
हो,
अब तिमीसँग जोरी खेल्न साँच्चिकै
अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भयो ।
जे पर्छ जस्तो पर्छ जे होला
घरभित्र लुकेर हैन,
सडकमा खुलेआम तिमीलाई च्यालेञ्ज दिँदै
घामपानी बिहानबेलुका दिनमा
तिमीलाई खोज्दै चाहार्दै हिँड्ने छु
सके कि तिमीलाई म ठेगाना लगाउँछु
नसके तिमीले मलाई
क्वारेन्टाइन वा आइसोलेसन् बेडमा ढालेर,
कसैले छुन नदिने छ्यौ
घम्साघम्सी
डाक्टरको निगरानीमा पनि
परबाट नमस्ते गर्दै घोप्टो परौंला
औषधी उपचार रोकथाममा
जुटेका डाक्टर मात्रै हैन,
आफन्त र शुभचिन्तक
चिन्ताको पोको गुत्लान
टाढा तथा पर भएका,मन नपराउनेहरू
ताली बजाउँदै भन्लान्,
“ठिक परेछ,” भन्लान् ।
खै ! कोभीड –१९ तिमी,
आज २६७ भयौ
त्यसैले मैले पनि तिमीसँग जुध्नलाई
एक प्याक सराब र सिग्रेट लिएँ
जिउन सिर्फ जिउनका लागि ।
नवीन मनोहर
