बाजे हरिदास, अत्यन्त धार्मिक थिए । कमिला कुल्चिएकोमा उनी पछुताएर एकाउन्न वर्षमा नै थलिएर मरे । उनका छोरा भक्तदास, उदार स्वभावका थिए । उनी बावुको जीवनकालसम्म शाकाहारी भएपनि विरामी परेको वेलामा स्वास्थ्यका लागि भनेर आफन्त र छिमेकीका करले माछामासु खाने भएर निस्किए । उनी पहिलाका शाकाहारी र पछिल्लो समयमा सन्तुलित भोजन सेवनबाट दीर्घजीवन प्राप्त उनी गत वर्ष ८७ वर्षमा कुनै रोग नलागेपनि एक दिनको व्यथाबाट परलोक गमन गरे । स्वतन्त्रदास वावुकोभन्दा भिन्नै बाटोतर्फ अग्रसर हुंदै तीनवटी श्रीमतीसँग रोमान्समा लिप्त रहंदै सुरामा रम्न थाले । जुवातासमा मनग्य सम्पति गुमाएर, भएको जेथा फाल्दै अहिले व्लड प्रेशर, डायविटीज, मृगौला र मूटुरोग लिएर चालिस वर्षमा, बुढो जस्तो देखिएर, मृत्यु कुरेर बस्दैछन् । डाक्टरले उनको उमेर अब केही दिनको मात्र भएको वताएको छ ।
हरिदासको पनाति, भक्तदासको नाति, स्वतन्त्रदासको कान्छी श्रीमती पट्टिको छोरा, उन्मत्तदास अहिले अठार वर्षमा प्रवेश गर्दैछ । कानमा कुण्डल लगाएर, लामो कपाल बाटेर नङ्ग भालुको नंग्राभन्दा तीखो बनाएर, पाइन्ट नौ ठाऊँमा च्यातेर, हातमा कमिज फुकालेर हावामा घुमाउँदै केटीहरू हिँडेको सडक पेटीमा कुम नचाउँदै, सुसेल्दै बाटो छेक्दै हिंड्ने गरेको देखिने उदन्ड, उन्मत्तदासले हिजो बेलुकी पल्लो घरकी भद्र प्रसादकी नौ वर्षे बलिकालाई उठाएर, जवर्जस्ती गरेर क्षतविक्षत बनाई मारेर नालीमा मिल्काई हिंडेपछि छिमेकीले उजुरी गरेर आज उसलाई समातेर हत्कडी लगाई पुलिसले लग्दै छ ।
हेरौं उसलाई मृत्युदण्ड होला कि उन्मुक्ति तर नारी अधिकारवालाले पक्कै उसलाई जोगाउन दिने छैनन् ।
चूडा निर्भीक
रचना मिति २०६९ चैत्र २९
