एकान्तमा
कसैलाई सम्झँदा सम्झँदै म,
आफूलाई नै बिर्सिरहेको हुन्छु,
कहिले भीरबाट खसिरहेको हुन्छु,
कहिले नदीमा बगिरहेको हुन्छु ।
कहिले म, केही चाहनाको हुटहुटीमा हुन्छु
कहिले म, कसैको भुटभुटीमा हुन्छु ।
कस्तो लोधरे हुँदो रहेछ,
बेला न कुबेला देखिने
यी दिवास्वप्नहरू ।
कति भयावह हुँदो रहेछ,
हिँडदा हिँडदै देखिने
यी दिवास्वप्नहरू ।
किन म, देख्दिन
घरविहीन गरीबहरूले
घर पाएको दिवास्वप्नहरू,
भोका नाङ्गाहरूले भोक मेटाएको र
रोजीरोटी पाएको दिवास्वप्नहरू,
कुनै विधवाले नाडीमा रातो चुरा र
सिन्दुर लगाएको दिवास्वप्नहरू,
लकडाउन सकेर
विद्यार्थीहरू रमाउँदै स्कुल गएको,
पसल र मलहरू खोलिएको दिवास्वप्न ।
किन म, देख्दिन
ईश्वर हाँसेको दिवास्वप्न ?
विज्ञानसँग हारेर
भाइरस रोएको दिवास्वप्न ?
किन म, देख्दिन
कोरोनामुक्त भएर
मान्छेले चाडबाड मनाएको दिवास्वप्न ?
किन देख्न सकिन
म, स्वदेश फर्केर
देउरालीमा पाती चढाएको दिवास्वप्न ?
मैले देख्न सकुँ,
मातृभूमिको माटोमा
साथीहरूसँग होली खेलेको दिवास्वप्न
महाकाल थानमा भेटी चढाएर
बलविन्ति मागेको दिवास्वप्न
रङ्गीतको पानी पिएर
तिर्खा मेटाएको दिवास्वप्न ।
नत्र किन म, हेरिरहुँ
लक्ष्यहीन दिवास्वप्नहरू ?
नत्र किन म, खोजिरहुँ
गन्तव्यहीन दिवास्वप्नहरू ?
बी बी ठकुरी
मिल्टन, कनाडा