गणतन्त्र तिमी आयौ छाना फेरिएन
उही कलम उही मसी पाना फेरिएन
उस्तैछन् ब्वाँसाहरू उस्तैछन् सिकारी पनि
देश लुछि भोज गर्छन् दाना फेरिएन
बाहिर बाहिर हल्ला खल्ला भित्र भित्र मिलेमतो
ताण्डव नृत्य उहि पुरानो गाना फेरिएन
कतै चुल्हो बल्या छैन कतै पाटी चल्छ यहाँ
घटि बढि गरी बाँड्ने माना फेरिएन
चुपचाप छ सबैतिर कस्लाई के को फुर्सद यहाँ
आँखा भए नि अन्धो बन्ने काना फेरिएन
सबै लुटे लुट्नु जति लुट्न बाँकी के नै छ र
अत्याचारले च्यातिएको नाना फेरिएन
राजु स्याङतान
महोत्तरी खयरमारा ६
