Skip to content

उज्यालो छोपिएछ

  • by

छारो मैलो समेट्दै मनुज नयनको छोप्छ बाक्लो तुँवालो ।
फाँट्ने आशा लिएका तन मन जनका खोज्छ थोरै उज्यालो ।।
चर्को त्यो घाम लाग्ने समय पर हुँदा बढ्छ ऐले निराशा ।
राम्रो चल्नेछ सत्ता प्रगति गति लिँदै जान्छ भागे भरोसा ।।

दुख्ने गर्छन् असाध्यै सबतिर जनता कार्यकर्ता छ दङ्ग ।
माग्दैथे भोट जो जो दल बदल हुँदै फेर्दछन् अन्य रंग ।।
सत्ता भत्ता र पैसा पद बसिरहने लोभले छक्क पार्‍यो ।
देख्दैछौं भाँडभैलो दलबल पछुवा साथलाग्दै बिगार्‍यो ।।

भागेछन् लाज आफैं पर पर रहँदै विश्व सारा लजायो ।
देख्दैमा घीनलाग्ने पलपल झगडा कान थुन्ने गरायो ।।
भत्केका भित्रदेखी कतिपय जनता दिक्क मान्छन् दुखेर ।
कस्तो ल्यायौं व्यवस्था जनहित नहुँदा भन्दछन् यत्निखेर ।।

जन्मेनन् व्यक्ति राम्रो प्रतिदिन धमिलो देशको चित्र हुन्छ ।
लेख्ने नै बाध्य बन्छन् सबतिर रमिता देखिँदा भित्र दुख्छ ।।
गाईजात्रै छ फिक्का निशिदिन लफडा सुन्दछौं कान पाक्छन् ।
को बस्ने को पछार्ने तय जति गरियोस् छैन चासो फलाक्छन् ।।

यो माटाको जनामा अतुल छ ममता शक्ति हाँक्ने लिँदैनन् ।
कोरोना रोग बढ्दा जनमत कुन हो ध्यान ज्यादा दिँदैनन् ।।
बाँचेमा प्राण आफ्नै प्रतिनिधि रहने तर्क सोच्दै विचार्नुस् ।
लड्ने भिड्ने खसाल्ने मति प्रतिनिधि हो धार धोई पखाल्नुस् ।।

(छन्दः स्रग्धरा)

चूडा निर्भीक
पालुङ्गटार २ गोरखा
हाल चन्द्रागिरी १० काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *