इतिहासको त्यो सुन्दर परिदृष्य
अनि,
बन्दुक र तोपका गोलासँग लड्दै
किल्ला जमाई बस्ने कथाहरू
नाल अनि बन्दुकमाथि
विजयी गर्ने यस धर्तीका शहिदहरू
सम्झी सम्झी आज
देश रोइरहेछ ।
पारिवारिक भावनाभन्दा पर
देशका लागि बाँच्नेहरू
अनि,
देशका लागि मर्नेहरू
स्वर्ग उतार्न पछि हटेनन्
जनभावका कदरदारहरू
कुर्दा कुर्दै आज
देश रोइरहेछ ।
अकाल र अनिष्ठमा आज
भीड्दै भीडाउँदै छन् मान्छे
अनि,
गास, बास, कपासको खोजीमा
विदेशिएका सन्तानहरूको यादमा
आफ्नो अस्मिताको रक्षार्थ देश
सुन्यमा छाम्दै नियाल्दै छ आज
आफ्ना निर्दोष सन्ततिका
रगत सोर्दा सोर्दै
देश रोइरहेछ ।
पूर्व, पश्चिम, उत्तर, दक्षिणका
ती सीमाहरू लुटिइरहँदा
अनि,
आमा, छोरी, चेलीका अस्मिता
आफ्नै दाजुभाइले बेचिरहँदा
न्याय खोज्दै खोज्दै लरबराउँदै
खोतल्दै, सोतल्दै खोल्साखोल्सीमा
सुस्ताएको मुटु अनि हातका
नङ्ग्राले कोर्दा कोर्दै
देश रोइरहेछ ।
समाप्त
