Skip to content

कथाकार मातृका कृत ‘कमरेड पाताल’ कथाको वस्तुवादी विश्लेषण

  • by


१. कथाकार परिचय

वेदना, ज्योति, प्रलेस, विजय शब्दविम्बजस्ता साहित्यिक पत्रपत्रिका निरन्तररूपमा सम्पादन कार्य गर्दै प्रगतिशील लेखक संघ, लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च, नेपाल साहित्यिक पत्रकार संघजस्ता विविध संस्थाहरूमा समेत संलग्न रहेर सांस्कृतिक आन्दोलनमा अग्रणी भई जीवनरथ हाँकिरहेका ठानागाउँ–४, थामखर्क, उदयपुरका साहित्यकार मातृका पोखरेल नेपाली साहित्य धरोहर निर्माणका नयाँ योद्धा होइनन् । उनको कथन छ– ‘समाजमा नङ्याउनु पर्ने मानिसहरू अझैसम्म पनि नाङ्गिन सकेका छैनन् । शोषण, अत्याचार र भ्रष्टाचारको भर्याङ्गमाथि चढेर बनेको ‘इज्जत र प्रतिष्ठा’ लाई समाजले अझैसम्म पनि आवश्यक घृणा गर्न सकेको छैन । अर्थात्, हामीले समाजलाई त्यो स्तरसम्म चेतना सम्पन्न बनाउन सकेका छैनौं । समाज रूपान्तरणका निम्ति भिन्न भिन्न क्षेत्रबाट क्रियाशील हामी सबैका लागि यो ठूलो चुनौतिको विषय हो ।’

सत्य, न्याय र परिवर्तनको पक्षमा बहस गर्न कथा अत्यन्त प्रभावकारी विधा हो भन्ने कुरामा विश्वस्त भई कथा लेखनमा सक्रिय कथाकार पोखरेलको २०६१ सालमा प्रकाशित “सन्त्रस्त आँखाहरू” पछिको दोस्रो कथा सङ्ग्रहका रूपमा “घाम झुल्किनुअघि (०६७)” साझा प्रकाशनबाट प्रकाशन भएको छ । हुन त उनी कविता लेखनमा लागेको एक दशकपछि मात्रै कथा लेखनमा हात हाल्न पुगेका हुन् । सचेत ढङ्गले सुरू गरिएका जुनसुकै क्रान्ति, आन्दोलन र लेखनहरूको मूल अभिष्ट भनेको समाजलाई रूपान्तरण गर्नु हो भन्दै केही कमीकमजोरीहरू रहे पनि विगतको बाह्र वर्षको जनयुद्ध नेपाली समाजको रूपान्तरणका लागि एउटा कोसेढुङ्गो थियो भनेर स्वीकारोक्ति दिने पोखरेल जनयुद्धको यस प्राप्तिलाई कमजोर बनाउन अनावश्यक बहस गर्न खोज्नेहरू आफैंप्रति पनि इमान्दार छैनन् भन्ने ठहरमा पुगेका देखिन्छन् ।

कथा लेखनको पाटो बारे केलाउँदा उनी भन्छन्– ‘कथामा काल्पनिक जीवनको रोमाञ्चपूर्ण विवरणमा मलाई कतै पनि रूचि छैन । मैले लेखेका कथाहरूले मानिसहरूलाई एउटा उद्देश्यतर्फ प्रेरित गर्न सकून् भन्ने मेरो चाहना हो । म कथा लेख्न बस्दा यो पाटोतर्फ विशेष ध्यान पुर्याउने प्रयत्न गर्छु । प्रत्येक लेखन पाठक र समाजप्रति समर्पित हुन सक्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसतर्फ म विशेष सचेत छु ।’ वास्तवमा उनका कथामा रोमाञ्चकताको बखान पाइन्न सामाजिक यथार्थताको खरो बखान पाइन्छ । कमरेड पाताल, धुवा, घाम झुल्किनुअघि, मौन संकेत, अँध्यारो गाउँ, निधो, मुक्ति, खाली ठाउँ, घोडाको गन्ध, बाध्यता, सपनाहरूको खोजी, देवीदत्तको चिन्ता, कालो चश्मा, भत्किएको घरनेर र खाडल गरी १५ बटा कथाहरूको सङ्गालो “घाम झुल्किनुअघि” कथा सङ्ग्रहमा छन् । यस सानो लेखमा उनै आख्यानकार पोखरेलद्वारा लिखित ‘घाम झुल्किनुअघि’ (कथासङ्ग्रह)मा समाविष्ट ‘कमरेड पाताल’ कथाको वस्तुवादी विश्लेषण गर्ने उद्देश्य राखिएको छ ।

‘कमरेड पाताल’ कथा– शहरमा जाडो धेरै बढेको छ । केही दिनदेखि मन पनि अलि नै बढी चिसो भएको छ । बिहान यति अबेरसम्म सिरकमा गुजुल्टिएर बसिरहन मन पराउने मेरो स्वभाव नै होइन । आज त अलिक बढी जाडो पनि भयो । आफू हिंड्ने बाटो हिजोभन्दा बढी उवड–खावड र कष्टकर देख्न ङथालेको छु । आफ्नै अनुभूतिसँग आफैंलाई कहिलेकाहीं डर लाग्छ । मभन्दा अघिल्लो पुस्तामा देखिएको निराशाले कतै मलाई छोप्दै गएको त हैन ? हिजोआज आफैंलाई यो प्रश्न सोध्छु । फेरि आफूले आफैंलाई उत्तर दिन्छु– ‘अरूको कारणले आफ्नो उद्देश्यलाई बराल्नु आफ्नै कमजोरी हो ।’ मनलाई बलियो बनाएर घरिघरि यसैगरी सोच्छु । नकारात्मक कुरालाई धूरीमा राखेर नसोचौंभन्दा पनि मलाई बेलाबेलामा यसले झम्टिरहन्छ । आज कमरेड पातालको हेराइ मप्रति पहिलेको भन्दा धेरै फरक थियो । हुन त, केही समयदेखि नै उनको हेराइ मप्रति अत्यन्तै अस्वाभाविक भएको मैले महसुस गर्न थालेको छु । मैले राखेका कार्ययोजना र तर्कहरू उनको नकारात्मक धारणाले ठाउँ पाउन थालेको थियो । हिजोआजका केही बैठक र भेटघाटहरूबाट म यो निष्कर्षमा पुगेको थिएँ ।

म विगतका केही घटनाहरूको जति साक्षी हुँदैआएको छु, मलाई भविष्यको बाटो झन्–झन् कमजोर र जीर्ण बन्दै गएको बोध भइरहेको छ । हुन त पोहोरको एउटा घटनाबाट पनि मैले उनी मसँग अलिक टाढिएको महशूस गरेको छु । त्यस दिन उनको निम्ताबिना नै म उनको घर थानकोट पुगेको थिएँ । घरमा पुगेर म सिधै उनको बैठक कोठामा गएँ । कमरेड पाताल म पुग्दा त्यहाँ थिएनन् । उनको बैठक कोठामा खाइलाग्दा मान्छेहरूको एउटा जमात बसिरहेको थियो । अरूतिर बस्ने ठाउँ नभएकोले अप्ठ्यारो मान्दै म पनि बैठकको एउटा कुनामा गएर थचक्क बसें । एकछिनपछि कमरेड शान्ता चिया लिएर टुप्लुक्क भित्र पसिन् । म अचम्मित भएको थिएँ, त्यसबेला । तडक– भडकपूर्ण जिन्दगीको विरोध गर्ने मान्छेलाई त्यो अवस्थामा देख्दा म एक प्रकारले छाँगाबाटै खसेको थिएँ । त्यस दिनको उनको ओठको लिपिष्टिक र अनुहारको लाली, पाउडर मैले कल्पनासम्म गर्न सकेको विषय थिएन । धेरै बैठक र भेलाहरूमा कमरेड शान्ताका ‘सादा जीवन र उच्च विचार’का धारणाहरूबाट म पटक–पटक प्रभावित भएको छु । त्यस दिन कमरेड शान्ता पनि मेरो उपस्थितिबाट अत्यन्त क्रोधित भएको मैले अनुमान गरेको थिएँ ।

मसँग त्यति राम्रो व्यवहार प्रस्तुत गर्ने मान्छे, त्यस दिन उनी मसँग बोल्दै बोलिनन् । उनले त्यस दिन लगाएका अनेकौं सुनका गहनाहरू देखेर म दङ्गदास भएको थिएँ । केही छिनपछि कमरेड पाताल त्यही बैठक कक्षमा पसेका थिए । मेरो उपस्थितिले उनी पनि चकित भए । मेरो उपस्थिति त्यहाँ ‘कवाफभित्रको हड्डी’ बनिरहेको कुरामा म प्रष्ट थिएँ ।

‘तपाईं सूचना नगरी किन आउनुभयो ?’ आँखा रातो पार्दै कमरेड पातालले मसँग भनेका थिए । हो, म अर्कै कामले त्यो क्षेत्रतिर पुगेको थिएँ । बाटोमा परेकाले मात्र म त्यहाँ पुगेको थिएँ । उनलाई मैले त्यही कुरा भनें । ‘सूचना नगरी आएको मलाई राम्रो लाग्दैन ।’ कमरेड पातालले फेरि आफ्नो आक्रोशपूर्ण निर्णय सुनाए र श्रीमतीसँग खुसुक्क कुरा गर्ने निहुँमा बाहिर निस्किए । उनीहरू बाहिर निस्किएको मौका छोपेर म पनि त्यहाँबाट कुलेलम ठोकेको थिएँ ।

त्यस दिन कमरेड पातालको घरबाट बाहिर निस्किएपछि मैले पार्टीको भविष्यमा एउटा अँध्यारो छायाँ देखेको थिएँ । पार्टीमा उनी चानचुने नेता थिएनन् । एक जना प्रभावकारी नेता । त्यसका धेरै दिनहरूसम्म मेरो मष्तिष्कमा जाँतोजस्तो एउटा चिज घुमिरह्यो । राति निद्रालाई समेत प्रभावित पारेको थियो त्यो घटनाले । त्यसपछि मलाई आफैं सामेल भएका जुलुसहरूसँग पनि आफैंलाई अविश्वास पैदा हुन थालेको थियो । आफ्नो यात्रा नै गहुङ्गोजस्तो लाग्न थालेको थियो । त्यसपछिका दिनहरूमा कमरेड पातालले मलाई हेर्ने आँखामा आतङ्कको बादल घुमिरहेको देख्न थालेको थिएँ ।

‘व्यक्तिगत सम्पत्तिका बारेमा चिन्ता लिने मान्छेले क्रान्तिकारी आन्दोलनलाई कसरी सहयोग पुर्याउन सक्छ ?’ भरखर आन्दोलनमा आएका सामान्य कार्यकर्ताहरूलाई यसो भन्दै उनी क्रान्तिकारी शब्दहरूका साथ झम्टिने गर्थे । तर पोहोरको त्यस घटनापछि भने म उपस्थित भएका छलफलहरूमा पहिले–पहिले गर्ने ठूल्ठूला क्रान्तिकारी कुराहरूमा उनी सचेत देखिन थाले । अलि हच्किन थाले ।

कमरेड पातालको तर्कशैलीले उत्साहित र ऊर्जाशील मान्छेहरूलाई धेरै प्रेरणा पनि दिन्थ्यो तर केही सामान्य मानिसहरू भने कडा कुरा सुनेर आन्दोलनको मैदान छाडेर भाग्थे । उनको आक्रामक र ओजिलो शैलीको प्रभावमा परेर धेरै कमरेडहरूले आफ्नो छोराको नामसमेत ‘पाताल’ राख्न थालेका थिए । आन्दोलनमा उनको नियमित लगावले परारैको त्यो घटनालाई मैले विस्तारै–विस्तारै बिर्सिदै जानथालेको थिएँ ।

अकस्मात अस्तिको घटनाले म फेरि एक पटक नराम्ररी झस्किएँ । त्यस दिन हामी केही साथीहरू सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरूद्धमा आयोजित ‘नेपालबन्द’को कार्यक्रम सफल पार्न मशाल जुलूसको तयारीका लागि मशाल बनाउन इन्द्रचोकको एउटा पुरानो घरमा जम्मा भएका थियौं । जुलूस कार्यक्रमको लागि मानिसहरू जुटाउने, रूट तय गर्नेदेखि लिएर सम्पूर्ण कार्य त्यही बैठकबाट गर्नेसमेत तय भएको थियो । त्यो निर्णयको जानकारीसमेत हामीलाई कमरेड पातालले नै गराएका थिए । त्यो कार्यक्रमको नेतृत्व पनि कमरेड पातालले नै गरेका थिए । बिहानै बोलाइएको भए पनि धेरै साथीहरू ढिलो आइपुगेका थिए कार्यस्थलमा । त्यसै गरेर कमरेड पाताल पनि त्यहाँ ढिलै गरेर आइपुगे ।

‘पार्टीको काममा धेरै व्यस्त रहियो, राति सुत्न पनि पाइएको छैन ।’ आउनेबित्तिकै कमरेड पातालले आफू अत्यन्तै थकित भएको कुरा बताए । उनी जहिले र जहाँ भेट्दा पनि आफूलाई पार्टी कामको ज्यादै बोझ भएको र अत्यन्तै व्यस्त रहने कुरा बताउने गर्थे । तर अब उनको कुराप्रति म शंकालु बन्न थालेको थिएँ, त्यस कुराको सङ्केत उनले पनि पाइसकेको हुनुपर्छ भन्ने मेरो ठम्याइ थियो । त्यसै कारणले पनि मेरा अघिल्तिर उनी अत्यन्तै सचेत भएर कुरा गर्ने कोसिस गर्थे । म नभएको मौका छोपेर भने उनी उग्र–क्रान्तिकारी गफ लगाउन पछि पर्दैनथे भन्ने कुरा मैले बाहिरका ढोका र चोटाहरूबाट धेरै पटक सुनेको थिएँ । पहिले–पहिलेझैं त्यस दिन पनि उनले उपस्थित भएका सबै साथीहरूसमक्ष आफूलाई त्यसैगरी प्रस्तुत गरे ।

कमरेड पातालको क्रान्तिकारी लगावसँग सदाझैं फेरि पनि साथीहरू द्रवीभूत भए । मसँगका पुराना घटनाहरू बिर्सिएझैं गरेर त्यस दिन उनले मेरै अघिल्तिर फेरि आफ्नै शैलीमा कुरा सुरू गरे । “नेपालको कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक रूपान्तरण नै भएन !” कमरेड पाताल बोल्दाबोल्दै गम्भीर भए । “अघिल्लो पुस्ताका नेताहरूको व्यवहार र कुरामा कतै सामान्यजस्यता र तालमेल मिलेन ।” कमरेड पातालले चिन्तित मुद्रामा फेरि थपे । म यतिबेला उनीसँगको त्यो अतीततिर फर्किरहेको थिएँ । उनको कुराले मभित्र अर्को चिन्ता थपिरहेको थियो ।

हामी सबै काममा जुटिसकेका थियौं र कमरेड पाताल पनि कार्यक्रममा सहभागिता गराउन कार्यकर्ताहरूलाई टेलिफोनबाट निर्देशन दिइरहेका थिए । दिउसोको बाह्र बजिसकेको थियो । बिहानै आउनुपरेका कारण हामीले केही खाएका थिएनौं । हामी सबैलाई भोक लाग्न थालेको थियो । हामीले कमरेड पाताललाई पनि यो कुरा भन्यौं ।

“क्रान्तिका लागि भोक सामान्य कुरा हो !” कमरेड पातालले फेरि सहज जवाफ फाले । “क्रान्तिका लागि दिनु परे त ठीकै हो । तर अहिले नै बलिदान दिनुपर्ने आवश्यकता छैन ।” कमरेड विशाखाले प्रत्युत्तर थपिन् । “तपाईंले सर्वहारा संस्कृतिलाई आत्मसात गर्ने प्रयत्न गरिरहनु भएको छैन ।” कमरेड पातालले उही बनिबनाऊ तर्कको फेरि झटारो हाने । “म ग्याष्ट्रिकको विरामी हुँ ! मैले केही नखाई हुँदैन ।” ट्रेड युनियनमा काम गर्ने मजदूर साथी कमरेड जसबहादुरले आफ्नो बाध्यता राखे । “भोको बस्न सकिँदैन भने क्रान्तिका लागि केही पनि गर्न सकिँदैन ।” कमरेड पातालले आफ्नो कुरालाई जाँतोझैं फेरि घुमाए । “खै ! नेपालको कम्युनिष्ट आन्दोलन !” कमरेड पातालले फेरि निराश बनेझैं गरेर आफ्नो मुखाकृति बिगारे । “मैले कमरेड हिमालबाट पातालमार्फत् खानाको प्रबन्ध गरिएको सूचना पाएको थिएँ ।” कमरेड विशाखाले मेरो कानमा आएर खुसुक्क भनिन् । तर उता कमरेड पाताल आफूसँग पैसा नभएको र आफैं पनि भोकै रहेको कुरा बताइरहेका थिए ।

म कमरेड पातालसँगका सम्बन्धलाई लिएर केही समयदेखि सतर्क रहँदै आएको छु । तसर्थ पनि उनको बारेमा कुनै टिप्पणी भइहालेमा सचेत भएर प्रत्युत्तर दिन्छु । अझ, कसैले मेरो अघिल्तिर उनको प्रंशसा गर्यो भने म धेरैबेरसम्म पीडाले छट्पटिन्छु । “म एकछिन बाहिर पुगेर आइहाल्छु ।” कमरेड पाताल यसोभन्दै बाहिरिए । “भोकले पेटै दुख्नथाल्यो ।” कत्लेटी परेका ओठहरूबाट कमरेड सौरभ अलिकति हाँसे ।

क. सौरभतिर फर्किएर हामी सबै एकपटक हाँस्यौं ।

“मसँग तीन रूपियाँ छ । अरूसँग जति छ, सबै निकालौं र पाउरोटी किनेर ल्याऊँ । क. सौरभले सबैतिर हेरेर मलिनो स्वरमा एउटा प्रस्ताव फ्याँके । कसैले गोजी छाम्न थाले । कसैले फोन डायरीका पाना पल्टाएर पैसा खोजे । केही कमरेडहरूसँग पैसा थिएन । सबैबाट जोडजोड गर्दा तीस रूपियाँ जम्मा भयो । ‘पाउरोटी किनेर ल्याऊँ, मैले फेरि प्रस्तावलाई अघि बढाएँ । “सबैभन्दा सस्तो र राम्रो त्यही हुन्छ ।” कमरेड सौरभको भोक व्यग्र भएर बोल्यो । “तपाईं र म किनेर आऊँ । अरू साथीहरू काम गर्दै गर्नुहुन्छ ।” कमरेड जसबहादुरले मलाई सङ्केत गरेर जुरूक्क उठे ।

हामी दुईजना इन्द्रचोकको बहाल हुँदै पश्चिमतिरको गल्ली छिर्यांै । हामी पाउरोटी पाइने पसलको खोजीमा थियौं । गल्लीतिर सोझिनेबित्तिकै छेउमा एउटा रेष्टुरेन्ट थियो । रेष्टुरेन्टको अघिल्लो भागमा आकर्षक र पारदर्शी सिसा लगाइएको थियो; जसबाट रेष्टुरेन्टभित्रको दृश्यलाई राम्ररी देख्न सकिन्थ्यो । रेष्टुरेन्टलाई नाघेर केही पाइलामात्र अघि बढेपछि क. जसबहादुरले मेरो कुमनेरको सर्टको भागलाई ताने । म एकाएक अचम्मित भएँ । “यता पछाडि फर्किनुस् त !” कमरेड जसबहादुरले दबेको स्वरमा मेरो कानमा आएर फुसफुसाए । “किन ? के भयो ?” म पनि उनको कुरा बुझ्न हतारिएँ ।

कमरेड जसबहादुरले मलाई विस्तारै दुई कदम पछि ताने र चोर आंैलाले पारदर्शी सिसाबाट रेष्टुरेन्टभित्र देखाए । उनले औंला देखाएको ठाउँमा कमरेड पाताल काँटा र चम्चाले पिजा टुक्राउँदै खाइरहेका थिए । उनको अघि कोकाकोलाको बोतल पनि थियो । कमरेड जसबहादुरलाई अघिल्तिर तान्न खोजें । उनी कमरेड पाताललाई अझै हेर्ने कोशिस गर्दैथिए । मैले रेष्टुरेन्टको पारदर्शी सिसाबाट भित्रतिर फेरि हेरें । अनायास कमरेड पातालका आँखाहरूसँग हाम्रा आँखाहरू जुधे । त्यसपछि कमरेड पातालले पिजा राखिएको प्लेटलाई आफ्नो शरीरले एक पटक छेक्न खोजे । तर त्यो छेकिएन । उनी त्यसपछि अर्कैतिर फर्किए ।

“यस्ता फटाहाहरूलाई पनि नेता मानेर हिंड्नुपर्ने ?!” कमरेड जसबहादुरले तुरून्तै प्रतिक्रिया दिए । “हेर न, उही कस्ता–कस्ता सांस्कृतिक कुराहरू गर्छ !” मैले पनि अलिकति प्रतिक्रिया नदिई बस्न सकिँन । कमरेड जसबहादुर पनि केहीबेर निरासजस्तै देखिए । पाउरोटी किनेर साथीहरू भएको ठाउँमा नपुगुन्जेल उनी पनि चुप रहे । म पनि चुप रहें । “त्यो फटाहाको हामी सबैले भण्डाफोर गर्न सक्नुपर्छ ।” कमरेड जसबहादुरले आक्रोशित भएर सबै साथीहरूसँग आफ्नो धारणा राखे । “यस्तो नेतृत्व भएपछि कसरी समाज र देशको परिवर्तन होला ?” बहसमा कमैमात्र उत्रने स्वभाव भएका कमरेड जसबहादुरले कम्युनिष्ट आन्दोलनभित्रको अवसरवादका बारेमा सैद्धान्तिक छलफल गर्न खोजे । “नेपालको कम्युनिष्ट आन्दोलनले मानिसहरूको सांस्कृतिक पक्षलाई मूल्यांकनको विषय बनाएन । केवल सक्रियता र वाक्टुताको भरमा मानिसहरू नेतृत्व तहमा पुग्नथाले ।” कमरेड सौरभले पनि आफ्नो तर्क अघि सारे ।

कमरेड पातालका बारेमा सबै साथीहरू केही समय चिन्तित भएर बहसमा उत्रिए । त्यस दिन कमरेड पाताल हामी भएको ठाउँमा फर्किएनन् ।

चिसो हुस्सूले काठमाडौंलाई पुरै छोपेको छ । मलाई लाग्छ– म काठमाडौंमा आएपछि यति धेरै जाडोको महशूस कहिले पनि गरेको थिइनँ । आज बिहान एउटा मिटिङ्ग थियो । मिटिङको समय भने हुन लागिसक्यो । म सिरकभित्रै छु । आजको मिटिङमा पनि केन्द्रबाट कमरेड पाताल नै इन्चार्ज बनेर आउँदैछन् । म विस्तारै ओछ्यानबाट उठें । यति साह्रो अल्छी योभन्दा पहिले कहिल्यै पनि लागेको थिएन ।

२. शीर्षक, संरचना र विभाजन ः

विवेच्य कथा ‘कमरेड पाताल’ नवयुवा, वर्ष ११, पूर्णाङ्क ११३, २०६३ फागुनमा सर्वप्रथम सार्वजनिक भई ‘घाम झुल्किनुअघि’ (कथासंग्रह)मा समाविष्ट १५ कथामध्ये पहिलो कथा हो । ‘कमरेड पाताल’ को अर्थ कम्युनिष्ट क्रान्तिकारी नेता भन्ने बुझिन्छ । यहाँ, मानवीय संवेदनाशून्य नेता जसमा बोली क्रान्तिकारी भए पनि वास्तविक व्यवहार प्रतिगामी रहेको नेताको नाम पाताल राखिएको छ । आफ्नो स्वार्थ र सौखमा लिप्त हुने नेताहरूको अराजक नेतृत्व शैलीले नेपालको कम्युनिष्ट आन्दोलन धरासायी हुँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ । नेतृत्व वर्गले कार्यकर्ता र जनताका दुःख र मार्का बुझ्न नसकेका घटनाको इतिवृत्ति यस कथामा पाइन्छ । कथामा आएको प्रसङ्गअनुसार कमरेड पाताललाई पूर्व सूचना नदिइकनै म पात्र थानकोटस्थित उनको घरमा पुग्नु, कमरेड शान्ता आधुनिक श्रृङ्गारमा सजिएर पाहुनाको स्वागतमा व्यस्त भएको पाइनु, पाताल र शान्ता दुबैले म पात्रको अकस्मात् आगमनलाई ननिको ठान्नु, नेपाल बन्दको कार्यक्रममा कमरेड विशाखा, जसबहादुर, हिमाल, सौरभहरू भोकभोकै पर्नु तर लिडर कमरेड पातालचाहिँ रेष्टुरेण्टमा पिजा र कोकाकोला खाँदै गरेको पाइनु, कार्यकर्ताहरूचाहिँ आफ्नै पकेटको पैसाले पाउरोटी किनी क्षुधा मेट्न विवस हुनु, तिनै पातालजस्ता नेताका मुखबाट कम्युनिष्ट पार्टीभित्र सांस्कृतिक परिवर्तन हुन नसकेको खोक्रो भाषण गुञ्जनु, दरिद्र मानसिकताका नेतानेतृविरुद्ध कार्यकर्तामा आक्रोश रहे पनि त्यो मनभित्र मात्र सीमित रहनु सार्वजनिक गर्न कसैमा हिम्मत नआउनु, इमान्दार कार्यकर्ता ओझलमा पनु र बेइमान तथा नेतृत्वका पुच्छरहरूकै हालिमुहाली बढ्दै जानु जस्ता विविध पाटाहरूलाई ‘कमरेड पाताल’ कथाले समेटेको छ । विशेष गरी मुखले सबै सिद्धान्त ओकल्ने र क्रान्तिकारिता देखाउने तर कामले वैयक्तिक स्वार्थमा लिप्त हुने कमरेड पातालको चारित्रिक पक्षलाई उदाङ्गो पारिएकोले र उनकै इतिवुतिमा कथाको कथानक घुमेको हुनाले लाक्षणिक अर्थमा कथाको शीर्षक ‘कमरेड पाताल’ राखिनु औचित्यपूर्ण, अर्थयुक्त र सामञ्जस्यमूलक ठहर्दछ । अर्कातिर पाताल अवनतिको प्रतीकका रूपमा आएको छ । कमरेड पातालजस्ता जनघाती व्यक्तिले कम्युनिष्ट पार्टीको नेतृत्व समालिरहने हो र इमान्दार कार्यकर्ता र निमुखा जनता पाखा परिरहने हो भने कम्युनिष्ट पार्टी नै पाताल पुग्न सक्ने कुरामा खबरदारी गरेर समेत कथाको शीर्षकलाई सार्थक तुल्याउने प्रयास गरिएको छ ।

लामाछोटा गरेर ‘कमरेड पाताल’ कथामा ५९ अनुच्छेद छन् भने हरफको सङ्ख्या पनि धेरै छ तर कथानक झिनो छ । कथाले ठूलो वाह्य संरचना ग्रहण गरेको छैन । चार प्रकारले विभाजनको स्पष्ट रूपरेखा तय गरिएको भए पनि घटना र प्रसङ्ग परिवर्तनले यसको एकिन गर्न हम्मेहम्मे पर्छ । कथाकारको विभाजनअनुसार निम्नअनुसारको कथाको अवस्था देखिन्छ ।

पहिलो परिच्छेद नेतृत्व वर्गको अदुरदर्शी नीतिका कारणले कम्युनिष्ट आन्दोलनको भविष्यको बाटो झन्–झन् कमजोर र जीर्ण बन्दै गएको बोध गर्दै ‘म’ पात्र आफ्ना नेता कमरेड पाताल र शान्ता निवास थानकोट पुगेको र त्यहाँको अराजक चर्तिकलाबाट वाक्क भएर फर्केको कुरा वर्णित छ । दोस्रो परिच्छेद सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा आयोजित ‘नेपालबन्द’को कार्यक्रम सफल पार्न मशाल जुलूसको तयारीका लागि मशाल बनाउन इन्द्रचोकको एउटा पुरानो घरमा जम्मा भएका कार्यकर्ता सामु पार्टीको कामको व्यस्तताले ढिलो भएको जनाउ दिँदै उपस्थित कमरेड पातालको कार्यशैलीको झलक दिने कुरामा केन्द्रित छ । त्यस वेला उनले ‘नेपालको कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक रुपान्तरण नै भएन ! अघिल्लो पुस्ताका नेताहरुको व्यवहार र कुरामा कतै सामान्यजस्यता र तालमेल मिलेन ।’ भन्ने रटान दोहोर्याएका थिए । तेस्रो परिच्छेदमा नेपाल बन्दको कार्यक्रम सफल पार्न बिहानैदेखि जुटेका कार्यकर्तालाई खानपिनको व्यवस्था नमिलाई आफूसँग पैसा नभएको र आफैं पनि भोकै रहेको कुरा बताइरहेका कमरेड पातालको चरित्रलाई उदाङ्गो पार्ने प्रयास गरिएको छ । भोका कार्यकर्तालाई ‘क्रान्तिका लागि भोक सामान्य कुरा हो ! तपाईंले सर्वहारा संस्कृतिलाई आत्मसात गर्ने प्रयत्न गरिरहनु भएको छैन । भोको बस्न सकिँदैन भने क्रान्तिका लागि केही पनि गर्न सकिँदैन ।’ जस्ता आदर्श वाक्य फलाकेका पाताल एकै छिन है भनेर बाहिरिएर कोकाकोला र पिजा हसुर्दै गरेको रहस्य ‘म’ पात्र र जसबहादुरले फेला पारेका छन् । त्यस वेला ‘नेपालको कम्युनिष्ट आन्दोलनले मानिसहरुको सांस्कृतिक पक्षलाई मूल्याङ्कनको विषय बनाएन । केवल सक्रियता र वाक्टुताको भरमा मानिसहरु नेतृत्व तहमा पुग्नथाले ।’ भनेर कमरेड सौरभले गरेको विश्लेषण निकै मार्मिक देखिन्छ । यिनै कुरामा तेस्रो परिच्छेद केन्द्रित छ । चौथो परिच्छेदमा भने तिनै पातालजस्ता नेताहरूकै हालिमुहाली रहँदै आएको र तिनकै अराजक शैलीको छहारीमा बस्नु परेकोमा जीवनकै पीडादायी क्षण भएको ‘म’पात्रको स्पष्टोक्तिसँगै कथा नै टुङ्ग्याइएको छ ।

३. कथानक

कथामा आएका घटनाहरूको नालिबेली वा रूपरेखा नै कथानक हो । कच्चा पदार्थ मानिने कथावस्तुलाई कथाकारले कथानकको कलात्मक साँचोमा ढालेर पूर्णता दिने काम गर्दछ । ‘कमरेड पाताल’ कथामा नेतृत्व तहका नेताहरूको स्वार्थी मनोवृत्तिलाई सूक्ष्मरूपमा देखाइएको छ । बाह्यरूपमा सभ्य देखिने नेतामा पाइने आन्तरिक असभ्यताको चिनारी दिइएको छ । ‘सादा जीवन उच्च विचार’ लिने मात्र कम्युनिष्ट नेता–कार्यकर्ता हुनुसक्ने गफ चुट्ने तर व्यवहारमा भने आधुनिक नारी बनी घरमै पार्टी दिने कमरेड पाताल पत्नी कमरेड शान्ताको चरित्रलाई देखाउने काम गरिएको छ । आफ्ना लागि पिजा र पेयपदार्थमा भुल्न पैसा हुने तर विहानदेखि खटेका कार्यकर्ताको क्षुधा मेट्न एक पैसा नहुने लिडर कमरेड पातालको पतनोन्मुख चरित्रको झलक दिने काममा समेत कथावस्तु केन्द्रित छ । त्यस्तै नेतृत्व वर्गको कर्तुत बुझेर पनि मुख खोल्न नसक्ने कायर कम्युनिष्ट कार्यकर्ताको मानसिकतालाई समेत देखाउने काम कथाले गरेको छ । अर्कातिर बेइमान नेताहरूको हालिमुहाली र सोझासीधा र इमान्दार कार्यकर्ताहरूको निसाशाको क्षण कम्युनिष्ट पार्टीमा देखिँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।

कमरेड पातालजस्ता सुविधाभोगी नेताहरूको नेतृत्वका कारणले नेपालको कम्युनिष्ट आन्दोलनको भविष्यको बाटो झन्–झन् कमजोर र जीर्ण बन्दै गएको पीडाबोध गर्दै ‘म’ पात्र तिनै नेता निवास थानकोट पुगेका छन् । त्यहाँ कमरेड शान्ताको अराजक चर्तिकला र कमरेड पातालको वेवास्थाभावबाट आजित भएर फर्कन्छन् । नेपाल सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा आयोजित ‘नेपालबन्द’को कार्यक्रमको बैठमा ‘म’पात्रसमेत समयमा नै उपस्थित हुन्छन् । पार्टी कामको व्यस्तताको दुहाई दिँदै ढिलो उपस्थित भएका लिडर कमरेड पातालको कार्यशैलीले उनमा अझ वितृष्णा भाव जागेर आउँछ । नेपालको कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक रुपान्तरण गर्न नेता र नेतृत्व नै वाधक भएको निष्कर्षमा ‘म’पात्र पुग्दछन् । भोकभोकै नेपाल बन्दको कार्यक्रम सफल पार्न बिहानैदेखि जुटेका कार्यकर्तालाई खानपिनको व्यवस्था नमिलाई क. पातालचाहिँ रेष्टुरेन्टमा मस्ती लुटेको रहस्य थाहा पाएपछि ‘म’पात्र अझ आक्रोसित हुन्छन् । वास्तवमा जनक्रान्तिका लागि भोक सामान्य कुरा हो ! सर्वहारा संस्कृतिलाई आत्मसात गर्न त्याग र समर्पणको बाटो हिँड्नुपर्छ । तर, एकै छिन है भनेर बाहिरिएर कोकाकोला र पिजा आफू मात्रै हसुर्नु चाहिँ क. पातालको नैतिकहीन कार्य हो । नेपालको कम्युनिष्ट आन्दोलनले मानिसहरूको सांस्कृतिक पक्षलाई मूल्याङ्कनको विषय नबनाई केवल सक्रियता र वाक्टुताको भरमा मानिसहरु नेतृत्व तहमा पुग्नथाल्नु घनतक भएको पसङ्ग कथामा वर्णित छ । क. पातालजस्ता नेताहरूकै हालिमुहाली रहँदै आएको र तिनकै अराजक शैलीको छहारीमा बस्नु परेकोमा जीवनकै पीडादायी क्षण भएको ‘म’पात्रको स्पष्टोक्ति कथाको अन्त्यमा छ ।

समग्रमा भन्दा सामाजिक यथार्थका पाटाहरूलाई शसक्त ढङ्गले समेटेर कथाकार मातृका पोखरेलले भोगेको वर्तमानलाई टपक्क टिपी कथाको आकार दिएका छन् । कम्युनिष्ट आन्दोलनभित्रको अवसरवादका बारेमा सैद्धान्तिक छलफल गर्न आवश्यक रहेको कुरा औल्याएका छन् । समग्रमा कथाकार पोखरेल कथामनिषि गुरूप्रसाद मैनालीको सामाजिक यथार्थवाद र वरिष्ठ कथाकार ऋषिराज बराल एवं घनश्याम ढकालको क्रान्तिकारितालाई एकसाथ अनुसरण गर्दै कथायात्रामा निस्किएका छन् । समाजमा देखिएका दुर्बल पक्षलाई हटाउने चाहना र उद्देश्यका साथ उनको मसी खर्च भएको कुरामा कसैको दुई मत नहोला ।

४. सहभागी र सहभागिता

नेपाली कम्युनिष्ट नेता र तिनको नेतृत्वको सजीव चित्रणमा ‘कमरेड पाताल’ कथा केन्द्रित छ । कथामा प्रत्यक्षरूपमा आएका पात्रहरू थोरै छन् । त्यसमा पनि कमरेड पाताल पात्रमा कथाको कथानक फनफनी घुमेको छ । यो चरित्रप्रधान कथा हो । सामान्य घटना घटेका छन् तर कर्तुतको पर्दाफास गरी यथार्थलाई चित्रण गर्नमा आधारित रहेको कारणले पात्र कमरेड पाताल केन्द्रित कथा हुन गएको छ । यस कथामा भएका पात्रहरू निम्न प्रकृतिका छन् ।

– कमरेड पाताल, कमरेड शान्ता, ‘म’पात्र, कमरेड विशाखा, कमरेड जसबहादुर, कमरेड हिमाल, कमरेड सौरभ आदि ।

(क) उभयलिङ्गमा पर्ने पात्रहरू हुन् ः ‘म’ पात्र तर भूमिकाको आधारमा यो पुरुष पात्र भएको प्रष्ट छ ।

(ख) पुलिङ्गमा पर्ने पात्रहरू हुन् ः कमरेड पाताल, कमरेड जसबहादुर, कमरेड हिमाल, कमरेड सौरभ आदि ।

(ग) स्त्रीलिङ्गमा पर्ने पात्रहरू हुन् ः कमरेड शान्ता, कमरेड विशाखा आदि ।

यसमा पनि ‘म’पात्र, कमरेड विशाखा, कमरेड जसबहादुर, कमरेड सौरभ अनुकूल पात्र र कमरेड पाताल, कमरेड शान्ताहरू प्रतिकूल पात्रका रूपमा देखिएका छन् । अरू सबै जसो पात्रहरूको कार्यव्यापार आ–आफूमै केन्द्रित छ । कमरेड हिमाल गौण पात्रकै रूपमा आएका छन् । यद्यपि सक्रिय भूमिकामा कमै मात्र देखिएका र कथामा सक्रियता दर्शाएका दुबै खाले सहभागीहरूको सहभागितालाई विश्वसनीय, सहज एवं यथार्थपरक ढङ्गले देखाउन खोजिएको छ ।

५. परिवेश

स्थान, समय र वातावरणलाई समेट्ने काम गर्ने कथाको एक तत्व परिवेशले कथानक र पात्रहरूलाई विश्वसनीय तवरले प्रस्तुत हुने आधार प्रदान गर्दछ । यस कथाको शीर्षकले नै कथा सहरमुखि परिवेशको हो भन्ने ठम्याउन सकिन्छ । काठमाडौंको इन्द्रचोक, बहाल, थानकोट चर्चा र छेउछाउको अवस्थाको चित्रणले कथा काठमाडौं केन्द्रित छ । यो कथाको समयावधि छोटो छ तर ‘म’पात्र पुराना कार्यकर्ता भएकाले पहिलेको राजनैतिक अवस्था अहिलेको कुरूप अवस्थाभन्दा सुन्दर थियो भन्ने आशय प्रकटले कथाको आशयगत अवधि लम्बिन जान्छ । क. पाताल र क. शान्ताको बैठक कोठामा खाइलाग्दा मान्छेहरूको एउटा जमात रहनु, कम्युनिष्ट कार्यकर्ता भएर पनि शान्ताको ओठमा लिपिष्टिक र अनुहारमा लाली, पाउडर देखिनु तर धेरै बैठक एवम् भेलाहरूमा भने ‘सादा जीवन र उच्च विचार’का धारणाहरू व्यक्त गरिनु, मशाल जुलुसको चर्चा, नेपालबन्दको कार्यक्रमको बखान, क. पातालले कोकाकोला र पिजा खाएको प्रसङ्ग आदिले कथा सहरिया वातावरणलाई दर्शाउँछ । त्यसमा पनि आधुनिक खोक्रो संस्कृतिको ज्वलन्त नमुनाका प्रसङ्गहरू यत्रतत्र सशक्त ढङ्गले आएका छन् ।

६. उद्देश्य

प्रत्यक्ष वा परोक्ष उद्देश्यमा केन्द्रित रचनाले नै पाठकलाई गन्तव्य देखाउँछ । विनाउद्देश्यको जीवन त बाँदरको पो हुन्छ, विना उद्देश्यको काम त पशुको पो हुन्छ भनिन्छ । त्यसैले ‘कमरेड पाताल’ कथाले परोक्षरूपमा राखेका उद्देश्यहरूलाई केलाउनु यहाँ मनासिव ठहर्दछ । निमुखा वर्गको पीडादायी परिस्थिति, कम्युनिष्ट नेता र नेतृत्वमा गिर्दै गएको नैतिकता, ह्रासोन्मुख मानवीय सम्वेदना, सोझासीधालाई सताउने प्रवृत्ति, दण्डहीनताको ज्वलन्त नमुना, विरोधको नाममा जनतालाई प्रत्यक्ष असर पुग्ने मात्र नभई राष्ट्रलाई आर्थिक घाटा पुग्नेजस्ता पक्ष प्रस्तुत गरेर कथाले समाजको नाजुक पक्ष देखाएको छ । तिनै समाजका कमजोरीहरू हटाएर मानवताको जगेर्ना गर्न र असल नेता र नेतृत्वको विकास हुनुपर्ने चाह प्रकट गर्ने काम समेत कथाले गरेको छ ।

७. दृष्टिविन्दु

कमरेड पातालको कुटिल चरित्र उद्घाटित ‘कमरेड पाताल’ कथाका समाख्याता कथाकार नै रहेका छन् । उनको भूमिका तटस्थ नभई क. पाताल प्रवृति धरासायी हुनुपर्नेमा छ । कथाकारले कथा पाठकलाई सुनाउँदै गरेको आधारलाई हेर्दा तृतीयपुरूष दृष्टिविन्दु हुन्छ । ‘म’पात्र प्रत्यक्षरूपमा कथामा आएका हुनाले प्रथमदृष्टिविन्दुको प्रयोग भएको कुरालाई नकार्न मिल्दैन । यस कथामा ‘म’ पात्र नै सर्वज्ञ भएर आएका छन् । कथामा घटनाको प्रस्तुति मार्मिक छ । पात्रहरूको संवादबाट नै चरित्र र घटनाको विश्लेषण गर्ने काम कथाकारबाट भएको छ । कथाकारको स्पष्ट मत पाठकले सहजताका साथ पाउन सक्ने र निष्कर्षमा पुग्न सक्ने देखिन्छ । यस कोणबाट हेर्दा पाठकलाई भ्रमबाट जोगाई आधुनिक सुविधाभोगी सहरी सभ्यताका नेताहरूका विकृत पाटाहरूलाई आधार बनाई ‘कमरेड पाताल’ कथाले मानवीय मूल्य र मान्यता विरूद्धका कार्यका लागि खेद समेत प्रकट गरेको प्रतीत हुन्छ ।

७. भाषाशैलीय विन्यास

‘कमरेड पाताल’ कथामा छोटा तर अर्थयुक्त वाक्यको छनौट गरेर सरल, सहज र स्वभाविक कथ्य भाषाको प्रयोग गरिएको छ । अझ, सहरी सभ्यताको सजीव तस्विर प्रस्तुत गर्ने भाषा र शैलीको प्रयोगले कथालाई सुरूचिपूर्ण बनाएको छ । अतः सहज, स्पष्ट एवं स्वतःस्फूर्त प्रवाहमय भाषाशैलीय विन्यासको प्रयोगभएको कारणले ‘कमरेड पाताल’ कथा रोचक, घोचक, श्रवणीय र पठनीय बनेको छ ।

८. उपसंहार

नेपाली कविता र आख्यान विधामा निरन्तर कलम चलाइरहेका एवम् विद्यालयस्तरका स्मारिका एवं साहित्यिक पत्रिकाहरूको सम्पादन, लेखन र प्रकाशन गर्दै आएका हुनाले स्रष्टा मातृका पोखरेल एक श्रेष्ठ साहित्यसेवी भएको प्रमाणित हुन्छ । ‘सेतो दरबारको छेउबाट’ (कविता सङ्ग्रह, २०५७), ‘यात्राको एउटा दृष्य’ (कविता सङ्ग्रह, २०६०), र ‘अनुहार’ (कविता सङ्ग्रह, २०६४) जस्ता तीन ओटा कविता र २ वटा कथा विधाका सङ्ग्रह निकालेका स्रष्टा पोखरेल बलियो कलम भएका जनपक्षीय साहित्यकार हुन् । ‘सन्त्रस्त आँखाहरू’ कथाकृतिमार्फत् एक कुशल कथाशिल्पीका रूपमा देखिएका पोखरेलको कथाकारिताको छवी ‘घाम झुल्किनुअघि’मा अझ खारिएको पाइन्छ । ‘कमरेड पाताल’ कथामा भने विशुद्ध सहरीया परिवेशलाई कथात्मक संरचना प्रदान गरेका छन् । यसमा मानिसको निर्दयीपन, अभाव, छटपटी एवं बेचैनीलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेर कथाकार पोखरेलले कथा साहित्यमा एउटा इँट थप्ने काम गरेका छन् । त्यही कार्यको एउटा सानो नमुना ‘कमरेड पाताल’ कथा हो भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर, सम्पर्क ः ९८४२८२९२०६
हाल ः लिट्ल फ्लावर उच्च मा.वि., राजविराज–९, सप्तरी, फोन नं. ०३१५२००३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *